काठमाडौंसँग जोडिएको प्रमुख व्यापारिक हब हो- बनेपा । यहाँको साक्षरता दर ८१ दशमलव ०७ प्रतिशत छ । सिन्धुपाल्चोक आदि मध्यपहाडी जिल्लाको व्यापारिक केन्द्र पनि हो । यातायातको क्षेत्रमा अर्बौंको लगानी भएको बनेपालाई यातायातको राजधानी समेत मानिन्छ ।
स्थानीय तहको निर्वाचनमा बनेपामा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । २०५४ सालको स्थानीय निर्वाचनमा यहाँ मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसले विजय हासिल गरेकाले उसले आफूलाई बलियो दाबी गर्दै आएको छ । नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार राम जोशीले समृद्ध नगर, सडक सञ्जाल विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, पर्यटन, आर्थिक विकास, युवा, महिला तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रमुख प्राथमिकताका साथ उठाएका छन् ।
नेकपा एमालेले भने अध्यक्ष केपी ओलीको राष्ट्रवादी छवि एवं पछिल्लो समय बढेका आफ्ना समर्थक संख्याका आधारमा जित्ने दाबी गरेको छ । नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार लक्ष्मीनरसिंह वादेले नगर चक्रपथ, फोहोर व्यवस्थापन, खानेपानी, बुद्ध सर्किट निर्माण, कोरिडोर, पिकनिक स्पट तथा होटल एवं रिसोर्ट निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार भोला अर्यालले पार्टीको एजेन्डाअनुसार नै स्थानीय निकायको निर्वाचन हुन लागेको भन्दै त्यसैलाई जनताको माझ लाने बताएका छन् । अर्यालले नगरको पूर्वाधार विकास आफ्नो प्राथमिकता भएको जानकारी दिए ।
जनसंख्या : ५५ हजार ६ सय २८
क्षेत्रफल : ५५ वर्गकिलोमिटर
मतदाता संख्या : ३० हजार ५ सय
वडा संख्या : १०