२०२६ सालमा लमजुङको सदरमुकाम कुन्छाबाट बेसीसहर सारिएपछि बिस्तारै यो सहरमा भौतिक पूर्वाधारले आकार लियो । करिब ५० वर्षको अवधिमा यो नगरमा धेरै परिवर्तन आयो । सबैतिर घर बने, विद्युत्, खानेपानी, सडक, टेलिफोन, शिक्षा, स्वास्थ्य आदि सुविधाका कारण गाउँगाउँबाट मानिसहरू बेसीसहर बसाई सरे । त्यसैले पनि बेसीसहर नगरपालिका जिल्लाको प्रमुख व्यापारिक तथा पर्यटकीय
केन्द्रका रूपमा तीव्रतर रूपमा विकसित हुँदैछ ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार भेषबहादुर पौडेलले गरिबीबाट मुक्ति, आर्थिक समृद्धि, भौतिक पूर्वाधारहरूको विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन् । एमालेका उम्मेदवार गुमानसिंह अर्यालले स्मार्ट सिटी, पर्यटकीय हब, सडक पूर्वाधार एवं हवाई यातायातको पहुँच, वातावरणमैत्री उज्यालो नगरपालिकालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । यहाँ नेपाली कांग्रेस र एमालेबीच नै मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।
बेसीसहर जिल्लाकै सवैभन्दा व्यस्त सहर भएकाले पनि मुख्य दलहरूको आँखा यहाँको मेयरमा छ ।
जनसंख्या : ३९ हजार ३ सय ५६
क्षेत्रफल : १ सय २७ दशमलव ६४ वर्गकिलोमिटर
मतदाता संख्या : २१ हजार ३ सय ४७
वडा संख्या : ११