धादिङको सदरमुकाम नीलकण्ठ नगरपालिकाको निर्वाचन यतिबेला सबैभन्दा चासोको विषय बनेको छ । साविकको ४ वटा गाविस जोडेर बनाइएको यो नगरपालिकाको पुन: संरचना गर्दा अरू थप ३ गाविस गाभिएको थियो ।
यो नगरपालिकाको प्रमुखका लागि ७ वटा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपनि अन्तत: सत्ता साझेदार दलहरूले सहकार्य गरि प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार भीम ढुंगाना तथा उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार मनराज भण्डारीलाई समर्थन गर्ने सैद्धान्तिक सहमति
गरेका छन् ।
यो नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टी प्रमुख दावेदारका मानिएका छन् । उनीहरूले आधुनिक कृषि, कलकारखाना एवं एयरपोर्ट सञ्चालनदेखि हरेक वडामा खेलमैदानको समेत योजना अघि सारेका छन् । प्रमुख पदमा उम्मेदवारी दिने सबैको मुख्य एजेन्डा व्यवस्थित एवं समृद्ध नगर बनाउने नै छ ।
जनसंख्या : ५८ हजार ५ सय १५
क्षेत्रफल : १ सय ९७ दशमलव ७० वर्ग किलोमिटर
मतदाता संख्या : ३३ हजार ९९
वडा संख्या : १४