दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनैतिक दलहरूबीच मतदाता आकर्षित गर्ने विभिन्न शैली पनि देखापपिररहेका छन् । केन्द्रीय नेता ल्याएर जुलुस–नाराको प्रतिस्पर्धा गर्नेदेखि सामाजिक सञ्जालमार्फत मत माग्ने क्रम अहिले ह्वात्तै बढेको छ । अझ पछिल्लो समय त सांगीतिकका माध्यमले मतदाताको ध्यान तान्ने शैलीसमेत निकै प्रभावकारी बन्दै गएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिकामा एमालेले आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा कलाकारहरूको सांगीतिक प्रस्तुतिले केन्द्रीयदेखि स्थानीय नेता–कार्यकर्ताहरूलाई समेत नचायो ।
कार्यक्रममा भाषणभन्दा गीति शैलीमार्फत पार्टीका घोषणापत्रदेखि नीतिसम्म प्रस्तुत गरिए । उक्त अवसरमा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीदेखि उक्त पार्टीका नेताहरू गोपाल गुरागाईं, धर्मराज पौडेल, मेयरका उम्मेदवार पर्शुराम नेपाललगायत दर्जनौं नेता–कार्यकर्ताले पसिना चुहाउन्जेल नृत्य गरे । एमालेको चुनावी गीत गाउनेमा बद्री पंगेनी, तुलसी पराजुली, पुरुषोत्तम न्यौपाने, अमृत खाती, रामचन्द्र पौडेल, साजन राई आदि थिए ।
कांग्रेसको चुनावी सभा पनि कम थिएन । सदरमुकामलगायत जिल्लाका विभिन्न स्थानमा आयोजित सभाको मुख्य आकर्षण सांगीतिक प्रस्तुति नै थियो । उक्त कार्यक्रममा भोलानाथ घिमिरेको रचनामा सुमित खड्कालगायत विभिन्न कलाकारले गाएको गीत प्रस्तुत गरिएको थियो । कांग्रेसको ऐतिहासिक पृष्ठभुमि तथा सैद्धान्तिक पक्षलाई उजागर गर्ने उक्त गीतले पनि कैयौं केन्द्रीय तथा स्थानीय नेता–कार्यकर्ताको मन जितेको थियो । केन्द्रीय नेता शेखर कोइरालादेखि भीष्मराज आङ्दम्बेसम्मको उपस्थितिमा जिल्लाका विभिन्न स्थानमा चुनावी सभा सम्पन्न गरिसकेको पार्टी सचिव विजयसन्तोषी राईले बताए । कांग्रेसका पक्षमा चुनावी गीत गाउनेमा राधिका हमाल, विमलराज क्षेत्री, सुमित खड्का आदि प्रमुख छन् ।
यसैगरी माओवादी केन्द्र पनि गीतसंगीतका साथ चुनावी सभा गर्न सक्रिय देखिन्छ । धनकुटामा आयोजित माओवादी केन्द्रको उम्मेदवार घोषणा सभामा विभिन्न कलाकारको स्वरमा चुनावी गीत प्रस्तुत गरिएको थियो । जेवी टुहुरे, शम्भु राई, चेतन सापकोटा, धुन याङ्मी आदि कलाकारले माओवादी केन्द्रका चुनावी गीत गाएका छन् । लक्ष्मण शेषले नयॉ शक्ति पार्टीको तथा राजेश पायल राईले संघीय लिम्बुवान पार्टीको गीत गाइसकेका छन् । अन्य पार्टीले पनि विभिन्न कलाकारको स्वरमा चुनावी गीत रेकर्ड गराएका छन् । ती पार्टीले आयोजना गर्ने अधिकांश चुनावी सभामा सांगितिक प्रस्तुति मुख्य आकर्षण रहँदै आएको छ ।
यसैगरी स्थानीय एफएमहरूले सबेरैदेखि राति अबेरसम्म पार्टीपिच्छेका चुनावी गीत घन्काइरहन्छन् । चुनावी गीतसंगीतले श्रोताहरूको ध्यान सहजै तान्ने भएकाले पनि यो शैली प्रभावकारी सावित भएको रेडीयो मकालु धनकुटाका स्टेसन म्यानेजर नैन रुचाल बताउँछन् ।