२०७४ साउन ६ गते बनेपा पुरानो बसपार्कस्थित गौतम भोजनालयमा एकै परिवारका चार जना मृत फेला परे । होटल सञ्चालन गर्दै आएका ३२ वर्षीय राजाराम दाहाल, उनका ६५ वर्षीय बाबु हरिभक्त, ६० वर्षीय आमा हरिमाया तथा २५ वर्षीया बहिनी रञ्जना होटलमै मृत अवस्थामा ढलिरहेका भेटिए । दुवैतर्फको ढोका भित्रैबाट बन्द गरिएको अवस्थामा करिब आधा घण्टा लगाएर भित्र पस्दा चारै जना मृत फेला परेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाका अनुसार घटनास्थलबाट प्रहरीले सेलफस नामक विषको भाँडो फेला पारेको थियो । एकै परिवारका चार जना सामूहिक रूपमा मृत फेला परेपछि यो घटनाले अनेक मोड लिएको छ भने थुप्रै आशंकासमेत उब्जाएको छ । मृतक राजाराम दाहालकी कान्छी श्रीमती पूजाले जेठी श्रीमती कमला र छोराको नाममा सम्पत्ति फिर्ता गरेपछि उनीहरूको सामूहिक अन्त्येष्टि भएको छ र नयाँ–नयाँ तथ्य बाहिर आउने क्रम जारी छ । प्रहरीले उक्त घटनाको अनुसन्धानलाई जारी राखेको बताएको छ ।
घटनाको पृष्ठभूमि
२०६० सालमा टुकुचा नालाका राजाराम दाहालको कमला गेलालसँग विवाह भएको थियो । राजाराम र कमलाका तर्फबाट १४ वर्षकी छोरी मनिका र १३ वर्षका छोरा सुरज छन् । छोरा जन्मिएको २२ दिनमै राजारामले कान्छी श्रीमतीका रूपमा पूजा गौतमलाई भित्र्याए । त्यसयता जेठी श्रीमतीको परिवार अलग्गै घर व्यवहार गर्दै नालामै बस्दै आएको थियो । बाबु–आमाले सानै उमेरमा विवाह गरिदिएको भन्दै राजारामले रामेछाप जिल्ला घर भई बनेपा बस्दै आएका झम्कप्रसाद गौतमकी साइँली छोरी पूजासँग विवाह गरेका थिए । कान्छी श्रीमती भित्र्याएपछि राजाराम गाउँ गएनन्, बरु परिवार पाल्न विदेशतर्फ लागे । विदेशबाट फर्किएपछि उनले ससुरा झम्कप्रसादले सञ्चालन गर्दै आएको होटल चलाउन थाले भने २०६२ सालदेखि सञ्चालनमा आएको उक्त होटल २०६५ सालदेखि राजारामले चलाउन थालेका थिए । पूजाकी बहिनी नानु पनि दिदी–भिनाजुसँगै बसेर पढ्थिन् ।
पसलबाट राम्रो आम्दानी भएपछि राजारामले बनेपामा घडेरी किने र पछि उक्त घडेरी बिक्री गरी अर्काे घडेरी किने त्यहाँ र घरसमेत बनाए । ऋणलगायतका कारणले राजारामले उक्त घर इलाका प्रहरी कार्यालय, बनेपामा कार्यरत प्रहरी जवान निर्मला थापा (कान्छी श्रीमती पूजाकी मितिनी) का नाममा पास गरिदिए । जग्गा किन्ने बेला ससुरा भम्कप्रसादले राजारामलाई ४ लाख रुपैयाँ ऋण दिएका थिए । उक्त ऋण तिरेपछि उनले उक्त जग्गा कान्छी श्रीमती पूजाकै नाममा दर्ता गराए ।
घटना भएको दिन
पूजा गौतमकी बहिनी नानुका अनुसार पूजा आमाको मुख हेर्ने औंसी र दसैंमा बाहेक माइती जान्नथिन् । एक्कासि पूजा माइली दिदी सुशीला भट्टराईकहाँ गएपछि पूजासँग उनकी दिदीले– ‘किन, सरप्राइज दिन आइस् ?’ भनेर सोधेकी थिइन् । त्यस दिन सधैं शान्त रहने राजाराम अलि झर्किएको मुडमा थिए । आफैंले फर्सी ल्याइदिनुस् भनेर बोलाएकी एक महिलालाई उनले झर्किंदै भनेका थिए, ‘तपाईंको फर्सी तपाईं नै लानुस् ।’ बाटोमा हिँड्नेलाई आज हाम्रो सल्लाह छ भन्दै सटर लगाउन लगाएका थिए । पसलभित्र घरका चार जना सदस्य थिए । भित्रबाट सटर तान्न नसकेपछि छिमेकी पसलेलाई अनुरोध गरे अनि सटर भित्रबाट ताल्चा लगाए । उनले भाँडा माझ्न बाहिर निस्कने ढोकामा समेत ताल्चा लगाए । पछि एक बटुवाले पसलभित्रको सिसा फुटेर सटर बाहिर आएको देखेपछि प्रहरीलाई फोन गरे । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल घिमिरेको नेतृत्वको टोलीले तत्काल घटनास्थल घेर्यो । आधा घण्टा लगाएर सटर फुटाई भित्र पस्ने क्रममा चारै जना मृत अवस्थामा फेला परेका थिए ।
सम्पत्ति विवाद बन्यो मृत्युको कारण
दुई श्रीमती रहेका राजारामको परिवारमा अशंबन्डासम्बन्धी विवाद थियो । हरिभक्तले पनि श्रीमती हरिमायाको नाममा सम्पत्ति राखेका थिए, तर ससुरालाई प्रभावमा पारेर पूजाले श्रीमान राजाराम, ससुरा हरिभक्त र सासू हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकसपत्र गराइन् । सम्पत्ति
आफ्नो हात परेको दुई दिनमै उनले श्रीमान् राजारामविरुद्ध सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गरिन् । २०७३ मंसिर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गराएकी पूजाले चार दिनमै छोरा पूजन श्रीमान्सँगै रहने गरी मिलापत्रसहितको सम्बन्ध–विच्छेद गरिन्, तर उनी श्रीमतीकै हैसियतमा राजारामसँगै बसिरहिन् । जेठीको परिवारलाई सम्पत्ति नदिने उद्देश्यले सँगै बसे पनि उनीहरूबीच सम्बन्ध–विच्छेद
गरिएको थियो ।
२०६२ साउन २७ गते राजारामले टुकुचा नाला गाविसमा जेठी श्रीमतीसँग विवाह दर्ता गराएका थिए । पूजासँग विवाह भएको १० दिनमै राजारामले बुबा हरिभक्तका नाममा भएको टुकुचा नाला गाविस ८ को ६६६ नम्बर कित्ताबाट २०६२ साल भदौ ६ गते १ रोपनी जग्गा बकसपत्र गरेर कान्छी श्रीमतीको नाममा पास गरिदिए । त्यसअघि पूजालाई राजारामले जिल्ला प्रशासन कार्यालय, काभ्रेबाट २०६३ साल माघ १९ गते नागरिकता बनाइदिए । २०७३ साल मंसिर २ गते कित्ता नम्बर ७३० बाट हरिभक्त दाहालले टुकुचा ८ मा रहेको ०–८–३–२ क्षेत्रफलको बारी आफ्नो नाममा अंश बुझिलिए, जसको कित्ता नम्वर ९६३ हो । २०८५ ‘ग’ ४ नम्बर ठेलीको १४ नम्बर पानाबाट २०७३ मंसिर २ गते कित्ता नम्बर ७३० बाटै राजाराम दाहालले ९६२ कित्ता नम्बर कायम हुने गरी ०–८–३–१ क्षेत्रफलको जग्गा अंश बकसपत्र गरी बुझिलिएका थिए । राजारामले श्रीमती पूजालाई नै २०७३ मंसिर ७ गते आमा हरिमाया दाहालको नाममा रहेको उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ नम्बरको ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा पनि बकसपत्र गराएका थिए । मंसिर ७ गते अंश लिएकी पूजाले मंसिर ९ गते नै श्रीमान् राजारामसँग सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गरेर छोडपत्र गरिसकेकी थिइन् । सम्बन्ध–विच्छेद भएको २३ दिन अर्थात् २०७३ पुस ५ गते पशुपति श्रेष्ठको साविक दक्षुटोल १ स्थित कित्ता नम्बर ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा तथा सोही जग्गामा बनेको तीनतले घर पूजाले बकसपत्र गरी लिएकी थिइन् । पशुपति पूजाकी मितिनी नाता पर्ने निर्मलाका श्रीमान् हुन् । राजाराम र पूजाले आठ वर्ष होटलमा भाँडा माझेर कमाएको रकमबाट घर–घडेरी जोडेकाले उक्त सम्पत्ति जेठीको परिवारले अंश दाबी नगरून् भन्ने उद्देश्यले उक्त नाटक रचिएको हुन सक्ने आफन्तहरू बताउँछन् । जेठी श्रीमती कमलाले अंश लगाउनुअघि जति कमाए पनि छोरा २० वर्षको भएपछि मुद्दा हालेर भए पनि अंश लिने धम्की दिँदै आएकी र कान्छी पूजाले जसरी भए पनि आफूले कमाएको सम्पत्ति नदिने बताएकीले राजाराम मानसिक तनावमा थिए ।
फिर्ता भयो जग्गा
प्रारम्भिक अनुसन्धानमा सम्पत्तिकै कारण उक्त घटना भएको खुलेपछि कान्छी श्रीमतीको नाममा रहेको जग्गा फिर्ता गरिएको छ । सम्बन्ध–विच्छेद भएको आठ महिनापछि सोमबार जिल्ला मालपोत कार्यालयबाट जेठी श्रीमती कमला र उनका छोरा सुरजका नाममा पूजाले ५ रोपनी जग्गा पास गरिदिएकी हुन् ।
सम्बन्ध–विच्छेदपछि २०७३ पुस ५ गते पशुपति श्रेष्ठको नाममा साविक दक्षुटोल–१ मा रहेको कित्ता नम्बर ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीनतले घर पूजाले बकसपत्र गरी लिएकी थिइन् । उक्त घरको २५ लाख रुपैयाँ ऋण भएकाले पूजाले नै सकार्ने सहमति भएको छ । टुकुचा नाला गाविस ८ को ६६६ कित्ताबाट २०६२ साल भदौ ६ गते १ रोपनी जग्गा कमलाकै नाममा रहने सहमति भएको छ । उक्त जग्गा राजारामले पूजालाई विवाह गरेर ल्याएको ९ दिनमै बकसपत्र गरेर दिएका थिए । २०७३ साल मंसिर २ गते कित्ता नम्बर ७३० बाट हरिभक्त दाहालले टुकुचा ८ मा रहेको ०–८–३–२ क्षेत्रफलको अंश र सोही दिन लिएको कित्ता नम्बर ७३० बाटै छोरा राजाराम दाहालले ९६२ कित्ता नम्बर कायम हुने गरी ०–८–३–१ क्षेत्रफलको जग्गा कमला र पूजाकै छोराहरूको समेत नाममा जाने गरी सहमति भएको छ, तर सम्बन्ध–विच्छेद भैसकेकाले कानुनी प्रक्रियामा कसरी पूजाको नाममा उक्त जग्गा नामसारी हुन्छ ? व्यवहार कसरी मिलाउने हो ? छलफल भएको छैन । जग्गा पास भएपछि शिक्षण अस्पताल महाराजगन्जमा राखिएका शवहरू परीक्षण गरी तीन दिनपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । यो घटनापछि गौतम परिवारको किरिया राजारामकी जेठी श्रीमती र काकाहरू बसेका छन् । सम्बन्ध–विच्छेद भैसकेकाले कान्छी श्रीमती पूजालाई समाजले किरिया समेत बस्न दिएन ।
अनुत्तरित छ प्रश्न
दुई श्रीमतीबीचको सम्पत्ति कलह मात्र उक्त घटनाको कारण हो त ? जेठी श्रीमतीलाई सम्पत्ति नदिने उद्देश्य राजारामको थिएन भने किन अंश बकसपत्र गरेर कान्छी श्रीमतीलाई दिए ? उनी किन सम्बन्धविच्छेद गरिसकेकी श्रीमतीसँगै बस्दै आएका थिए ? प्रश्न अनुतरित छ । घटना भएकै दिन पनि कान्छी श्रीमती र छोरालाई घरमा नराखी बाहिर पठाइयो वा उनीहरू आफैं गए भन्ने कुरा पनि रहस्यमय छ । परिवारका चारै जना सदस्य नै कसरी विष सेवन गर्न तयार भए ? विष सेवन गर्नुपर्ने परिस्थिति के कान्छी श्रीमतीको सम्पत्ति मोह नै हो ? यिनै प्रश्नको उत्तर खोज्दै जिल्ला प्रहरी, इलाका प्रहरी तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनाको अनुसन्धान गरिरहेको बताइन्छ ।