राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचनमा आउने निर्णय गरेसँगै धनुषाको चुनावी गतिविधि तीव्र भएको छ । राजपाले निर्वाचनको विरोध गर्दा ठूला दलहरूले समेत सम्भावित मुठभेडबाट जोगिन चुनावी गतिविधिलाई यथाशक्य गोप्य रूपमै सञ्चालन गर्दै आएका थिए तर राजपा साइकलमा सवार भएपछि सबै दल चुनावी गतिविधिलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र तथा संघीय समाजवादी फोरम नेपालसहितका दलहरूले २ असोजमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी टोलदेखि प्रदेश स्तरसम्मको भेला गरिसकेका छन् ।
दुई चरणको स्थानीय तह निर्वाचनमा एमालेभन्दा ५० तह पछि परेको नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा १ सय तह जितेर पहिलो शक्ति बन्ने उद्घोष गरेको छ भन्ने एमाले यसअघिको अग्रता कायम राख्दै यो प्रदेशमा पनि पहिलो बन्ने रणनीतिमा छ । आफ्नो दललाई संघीयता र गणतन्त्रको संवाहक भन्दै आएको माओवादी केन्द्र मधेसी बहुल २ नम्बर प्रदेशमा आफ्नो एजेन्डा चल्ने तथा पहिलो हुने दाबी गरेको छ भने संविधान संशोधन विधेयक असफल भएपछि, एमाले र राप्रपासहितका चार ठूला दललाई ‘मधेसी विरोधी शक्ति’ का रूपमा जनजनसम्म पुर्याउने रणनीतिका साथ राजपा नेपालले पनि निर्वाचन गतिविधि अघि बढाएको छ ।
धनुषामा निर्वाचन गतिविधि तीव्र भएसँगै टिकटका दावेदारहरूको दौडधूपसमेत बढेको छ । टिकटका आकांक्षीहरूको लर्को दलका नेताहरूको घर तथा पार्टी कार्यालयहरूमा सहजै देख्न सकिन्छ । अधिकांश दल एक साताभित्रै उम्मेदवार घोषणा गर्ने योजनामा छन् ।
धनुषामा सक्रिय कुनै पनि राजनीतिक दलले अझै पनि औपचारिक रूपमा उम्मेदवार घोषणा गर्न सकेका छैनन् । अधिकांश दल नेपाली कांग्रेसको निर्णय कुरेर बसेका छन् । अत्यधिक टिकट आकांक्षी तथा गुटगत दबाबका कारण कांग्रेसको उम्मेदवार चयन प्रक्रिया लम्बिँदैछ । कांग्रेस, एमाले तथा माओवादी केन्द्रले यसअघि नै उम्मेदवार चयन प्रक्रिया सुरु गरिसकेका छन् । ती पार्टीभित्र नयाँ प्रक्रियाबाट उम्मेदवार चयन गर्ने कि पुरानै प्रक्रियालाई निरन्तरता दिने भन्ने विषयमा समेत चर्को विवाद छ ।
कांग्रेसका वरिष्ठ नेता एवं निवर्तमान गृहमन्त्री विमलेन्द्र निधिको गृहजिल्ला धनुषा कांग्रेसको गढ मानिन्छ । दोस्रो संविधानसभा निर्वाचनमा धनुषाका सात संसदीय निर्वाचन क्षेत्रमध्ये पाँचमा कांग्रेस विजयी भएको थियो भने एमाले तथा सद्भावना पार्टीले एक–एक स्थानमा जित हासिल गरेका थिए ।
साविकका १ सय १ गाविस तथा १ नगरपालिकालाई हाल १८ स्थानीय तहमा सीमित गरिएको छ, जसमा जनकपुर उपमहानगरपालिका, ११ नगरपालिका तथा ७ गाउँपालिका छन् । दोस्रो संविधानसभामा जनकपुर नगर क्षेत्र (धनुषा क्षेत्रनम्बर ४) बाट भने सद्भावनाका संजय साह (हाल निलम्बित) कांग्रेस प्रत्याशी रामसरोज यादवलाई पराजित गरी विजयी भएका थिए ।
झन्डै २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा सबै राजनीतिक दल जनकपुर उपमहानगरपालिकाको परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिअनुरूप अघि बढ्दै छन् । प्रदेश नम्बर २ को सम्भावित राजधानीको स्थानीय तह कब्जा गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी वलियो उम्मेदवार दिने गृहकार्यमा जुटेका छन् ।
जनकपुर उपमहानगरपालिका धनुषाको मात्र होइन, मुलुककै राजनीतिक केन्द्रहरूमध्ये एक मानिन्छ । ७२ हजार २ सय ९३ मतदाता रहेको जनकपुर उपमहानगरपालिका सिंगै जिल्लाको राजनीतिलाई प्रभावित गर्ने हुनाले मोर्चासहित सम्पूर्ण राजनीतिक दल यहाँ आफ्नो प्रभुत्व जमाउन सलबलाएका हुन् ।
निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाका अनुसार निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ ।
साप्ताहिकसँगको भेटमा झाले भनिन्– राजपा निर्वाचनमा आएपछि निर्वाचन सम्पन्न गराउन अझ सहज हुनेछ ।धनुषाका ३ लाख ९५ हजार ६ सय ७२ मतदाताका लागि ३ सय २८ मतदान केन्द्र तोकिएको छ ।