पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सहर चन्द्रनिगाहपुरको राजनीतिलाई आफ्नो कब्जामा लिन माओवादी केन्द्रले आँखा गाडेको छ । रौतहटको उत्तरी क्षेत्रमा रहेको चन्द्रपुर नगरपालिकालाई आफ्नो पोल्टामा पार्न माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पूरै दम लगाएका छन् । उनले चन्द्रपुरस्थित सीता होटललाई सेल्टर बनाएर प्रदेश नम्बर २ को अभियान चलाइरहेका छन् । माओवादी केन्द्रबाट चन्द्रपुर नगरपालिकामा मेयरका प्रत्याशी युवराज भट्टराई (समीर) तथा उपमेयर देवकी नेपालसहितको प्यानललाई जिताउन अध्यक्ष दाहाल आफैं सक्रिय देखिन्छन् ।
अध्यक्ष दाहाल मुलुकका विभिन्न स्थानमा हुने कार्यक्रम यथाशीघ्र सकेर छोरा तथा आफ्ना निजी सुरक्षाकर्मीसहित चन्द्रनिगाहपुर पुग्ने गरेका छन् । ‘उनी यहीं बसेर उम्मेदवारहरूको पक्षमा मत माग्न थालेका छन्,’ प्रत्यक्षदर्शीहरू भन्छन्, ‘मतका लागि गाउँ–टोलसमेत चहार्न थालेका छन् ।’ समीरको जित सिंगो माओवादी केन्द्रकै जित हुने भन्दै प्रचण्डले मतदाताहरूलाई रिझाउने प्रयास गरेका छन् ।
चन्द्रपुर नगरपालिकामा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको प्रचार प्रचण्डको आगमनपछि पहिलो स्थानमा पुगेको आम–मतदाताको बुझाइ छ ।
यहाँका पुराना राजनीतिककर्मीहरू दिनभरि चियापसलमा राजनीतिक हिसाब–किताब जोड्न व्यस्त रहन्छन् । उनीहरू अहिले पनि नगरमा कांग्रेस र एमालेबीच नै लडाइँ रहेको दाबी गर्छन् । अधिकांश राजनीतिकर्मी तथा बुद्धिजीवीहरूको बुझाइमा चन्द्रपुर नगरपालिकामा त्रिपक्षीय भिडन्त हुनेछ । यहाँ माओवादी केन्द्र, कांग्रेस तथा एमाले नै प्रमुख प्रतिस्पर्धी देखिन्छन् ।
कांग्रेसको राम्रो पकड रहेको चन्द्रपुर नगरपालिकामा टिकटको हेराफेरीले कांग्रसकै कार्यकर्ताहरू बिच्किएको कतिपयको बुझाइ छ ।
कांग्रेसले मेयर तथा उपमेयरका लागि धनलाल थोकर तथा जयमाला चौधरीलाई अघि सारेको थियो, तर उम्मेदवारी घोषणा हुनुअघिको साँझ पार्टीको आधिकारिक टिकट मेयरमा रामचन्द्र चौधरी र उपमेयरमा लक्ष्मी बराललाई दिएपछि गुरुङ र चौधरी समर्थक कार्यकर्ता बिच्किएका हुन् । अब उनीहरूका समर्थकको मत माओवादी केन्द्रमा जाने देखिएको दाबी गरिँदैछ ।
त्यस्तै एमालेले पनि मेयरमा बाबुराम दाहाललाई टिकट दिएर उम्मेदवारी दिने दिन उद्धव रेग्मीलाई फाइनल गरेर पार्टीका कार्यकर्ताबीच विवाद निम्त्यायो ।
दाहाल समर्थक कतिपय कार्यकर्ताले सार्वजनिक रूपमै आफ्नो भोट रेग्मीलाई नभएर माओवादी केन्द्रका उम्मेदवारलाई जाने कुरा बताइरहेका छन् । टिकट विवादले बिच्किएको भोटजति माओवादी केन्द्रले पाउने भएपछि माओवादी केन्द्रका कलिला उम्मेदवार समीर तथा उपमेयरकी नवप्रवेशी उम्मेदवार देवकी नेपाल बलियो देखिन थालेका हुन् ।
एमालेमा रहेर राम्रो नाम कमाएकी देवकी पार्टीबाट टिकट नपाउने छाँटकाँट देखेपछि समर्थकसहित माओवादी केन्द्रमा प्रवेश गरेकी हुन । चन्द्रपुर नगर क्षेत्रमा कमजोर मानिएको माओवादी केन्द्र एमाले तथा कांग्रेस पार्टीभित्रको आन्तरिक किचलोका कारण अगाडी उक्लिएको जानकारहरूको बुझाइ छ ।
चन्द्रपुर नगरपालिकामा प्रमुखका लागि दल र स्वतन्त्रसहित १२ जना, उप–प्रमुखका लागि दल र स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै वडा अध्यक्षमा ४७ जना, महिला सदस्यमा ३८ जना, दलित महिला सदस्यमा ३६ जना तथा खुल्ला सदस्यमा ७७ जना गरी ५२ पदका लागि कुल २ सय १८ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चन्द्रपुर नगरपालिकामा ३७ हजार ८ सय ४३ मतदाता छन् ।
चन्द्रपुर नगरपालिका
मतदाता | ३७ हजार ८ सय ४३ |
वडा संख्या | १० |