मधेस आन्दोलनको रणभूमि मानिएको जिल्ला सदरमुकाम गौर नगरपालिकामा राजपा, संघीय समाजवादी फोरम तथा एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ राजपाबाट गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ताले उम्मेदवारी दिएका छन् । गुप्ता विभिन्न समयमा भएका मधेस आन्दोलनको अगुवाइ गर्ने नेताका रूपमा चिनिन्छन् ।
यसअघिको दोस्रो संविधानसभाको निर्वाचनमा गुप्ताले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जोडदार टक्कर दिएका थिए । संविधानसभाको निर्वाचनमा पछाडि परेका गुप्ता गौर नगरपालिका क्षेत्रमा राम्रो पकड बनाएको दाबी गर्छन् ।
‘हाम्रो जित सुनिश्चित छ,’ उनले भने, ‘नगरवासीको मागअनुसार नै मैले उम्मेदवारी दिएको हुँ ।’ गुप्ताले गाउँले ढाँचामा रहेको गौरलाई सहर बनाउन आवश्यक पर्ने सबै बेस तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०५४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्रबाट जितेर मेयरको जिम्मेवारी सम्हालिसकेका पूर्व मेयर गौरीशंकर यादव पनि यो चुनावी प्रतिस्पर्धामा छन् । २५ वर्षअघि स्थापना भएको नगरपालिकाको भौतिक पुर्वाधार निर्माण आफ्नै पालामा भएको यादव बताउँछन् । गौरको विकासको गतिलाई अघि बढाउन भन्दै नेता यादवले संघीय समाजवादी फोरमको टिकटबाट उम्मेदवारी दिएका हुन् । ‘जनताले पहिले गरेको उल्लेखनीय काम देखेका छन,’ उनले भने, ‘अहिले पनि विश्वास गर्छन् ।’ आफ्नो जित सुनिश्चित भएको यादवले दाबी गरे ।
गुप्ता र यादव पारिवारिक हिसाबले पुराना धनी मानिन्छन् । दुवै उम्मेदवारलाई गौरका मतदाताले राम्रो मान्ने गरेको स्थानिय मतदाता मुन्ना साहले बताए । अर्कातिर मधेसको विभिन्न मुद्दामा कटु शब्द प्रयोग गर्दै आएको एमालेका उम्मेदवार शम्भु साह पनि मेयरको प्रतिस्पर्धामा छन् । व्यापारीका रूपमा परिचय बनाएका साह पहिलो पटक राजनीतिमा हाम फालेका हुन् । व्यापारिक वृत्तमा ख्याति कमाएका साह पैसाको बलकै कारण पनि प्रभावकारी छन् । साहलाई यहाँका प्रतिष्ठित मतदाताको मनमा ठाउँ बनाउन अझै समय लाग्ने गौरका बुद्धिजीवीहरूको ठम्याइ छ ।
गौर नगरपालिकाका लागि प्रमुख, उपप्रमुखसहित कुल ४७ पदाधिकारीका लागि अहिले प्रमुखमा १७ जना, उप–प्रमुखमा १८ जना, वडाअध्यक्षमा ७१ जना, महिला सदस्यमा ६० जना, दलित महिला सदस्यमा ४४ जना तथा खुल्ला सदस्यमा १ सय ३० जना गरी कुल ३ सय ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । गौर नगरपालिकामा १६ हजार ५ सय ७३ मतदाता छन् ।
त्यस्तै गरुडा नगरपालिकामा कांग्रेस, राजपा, संघीय समाजवादी फोरम तथा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ । जातीय पकड राम्रो भएको एमालेका उम्मेदवार शेख कलिमुल्ला पनि कमजोर नरहेको जानकारहरूको बुझाइ छ ।
जातीय तथा पार्टीको राम्रो पकड रहेको गरुडा नगरपालिकामा कांग्रेसका उम्मेदवार सुनिलकुमार यादव र मधेस आन्दोलनपछि उदय भएको राजपाका उम्मेदवार रामचन्द्रप्रसाद यादव कडा प्रतिस्पर्धामा छन् । अर्कातिर माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र कुमार जयसवाल तथा संघीय समाजवादी फोरमकी इन्दु राय यादव प्रतिस्पर्धामा छन् ।
गरुडा नगर यादव बाहुल्य क्षेत्र भएको स्थानीय बासिन्दा विनोदकुमार साहले बताए । ‘यहाँ यादव/यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसको फाइदा जातीय एकता रहेका एमालेका उम्मेदवार कलिमुल्लाले उठाउने सम्भावना भएको उनले बताए । भावनात्मक हिसाबले मधेसमा कमजोर देखिएको एमाले पार्टी सांगठनिक हिसाबले बलियो नै रहेको जानकारहरूको भनाइ छ । गरुडा नगरपालिकामा २३ हजार ३ सय ९० मतदाता छन् । गरुडा नगरपालिकमा मेयर, उपमेयरसहित ४७ पदाधीकारीका लागि २ सय ८२ जनाको उम्मेदवारी परेको छ ।
गौर नगरपालिका
जनसंख्या | ३४ हजार ९ सय ३७ |
मतदाता | १६ हजार ५ सय ७३ |
वडा संख्या | ९ |