प्रदेश राजधानी सुर्खेत हुने पक्कापक्कीझैं भएपछि प्रदेश ६ को नाम कर्णाली हुनेमा खासै ठूलो विवाद छैन, तर यो प्रदेशको भावी मुख्यमन्त्रीको अनुमान लगाउन भने निकै गार्हो छ ।
कर्णाली अञ्चलका कालिकोट, जुम्ला, मुगु, डोल्पा तथा हुम्ला अनि मध्यपहाडी जिल्लाहरू पश्चिम रुकुम, सल्यान, दैलेख, जाजरकोट एवं सुर्खेत मिलेर प्रदेश नम्बर ६ बनेको छ । झन्डै २ सय ५० वर्षदेखि राजधानी काठमाडौंद्वारा उपेक्षा गरिएको गुनासो बोकेको यो प्रदेशले भौगोलिक रूपमा झन्डै २० प्रतिशत क्षेत्र ओगटेको छ ।
संघीय संरचनामा जाँदा आफ्नै शासन, आफ्नै प्रशासन भन्दै वर्षौंदेखि नारा लगाइए पनि मुख्यमन्त्रीको दौडमा कुनै पनि पार्टीका वरिष्ठ नेता अघि सरेका छैनन् । त्यसमाथि वाम एवं लोकतान्त्रिक गठबन्धनमा बाँडिएका दलहरूले पहाडी जिल्लाहरूमा प्रदेशसभाको सिट बाँडफाँड नटुंग्याएकाले मुख्यमन्त्रीका सम्भावित दाबेदारहरू पनि अन्यौलमै देखिएका छन् ।
वाम गठबन्धनले सफलता हासिल गरे मुख्यमन्त्री आफ्नो भागमा पर्ने माओवादी केन्द्रले आशा गरेको छ । उता स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी भएकाले आफूले मुख्यमन्त्री पाउनुपर्ने एमालेको दाबी छ । एमाले तथा माओवादी केन्द्र दुवै मुख्यमन्त्री आफ्नो भागमा पर्ने अपेक्षासहित निर्वाचन तयारीमा जुटेका छन् ।
प्रदेशसभामा पार्टीहरूको सम्भावित उपस्थितिका सम्बन्धमा ढुक्क हुन नसकेर चर्चित नेताहरू प्रदेशभन्दा प्रतिनिधिसभामा जान इच्छुक देखिएका छन् । माओवादी केन्द्रबाट सम्भावित भनिएका शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यका लागि जाजरकोटबाट उम्मेदवार भएका छन् भने जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका लागि सिफारिस भएर पनि कालिकोटका महेन्द्रबहादुर शाहीलाई पार्टीले प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा उम्मेदवारीका लागि उनको नाम जिल्ला संयोजक दुर्गाबहादुर रावतपछि सिफारिस गरिएको थियो । रावतको दरिलो दाबेदारीका कारण शाही प्रदेशसभामा झर्न बाध्य भएको अनुमान गरिएको छ, तर उनी पार्टीले आफूलाई मुख्यमन्त्रीका लागि अघि सार्ने दाबी गर्छन् । माओवादीभित्र कर्णालीका बौद्धिक नेताका रूपमा चिनिएका जुम्लाका नरेश भण्डारी पनि मुख्यमन्त्रीको दौडमा छन् । उनले जुम्लाबाट प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
एमालेमा पोलिटब्युरो सदस्यहरू यामलाल कँडेल, प्रकाश ज्वाला तथा गोरखबहादुर बोगटीले प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका लागि इच्छा जनाएका थिए । सल्यानका ज्वाला कतैबाट पनि सिफारिस नभएपछि सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभाको प्रत्येक्ष निर्वाचनका लागि सिफारिस भएका कँडेलको सम्भावना बढेको छ । बोगटी हुम्लाबाट प्रदेश समानुपातिकमा परेका छन् । त्यसैले पोलिटब्युरो सदस्य कँडेललाई तुलनात्मक रूपमा एमालेका तर्फबाट मुख्यमन्त्रीको प्रबल दाबेदार मानिएको छ ।
प्रदेश विभाजनताका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले मुख्यमन्त्री हुन चाहेको व्यापक चर्चा थियो, तर अहिले उनले उक्त पदप्रति खासै चासो देखाएका छैनन् । खड्गा सुर्खेत १ बाट प्रतिनिधिसभा उम्मेदवारको तयारीमा जुटिसकेका छन् । उता केन्द्रीय सदस्य जीवनबहादुर शाहीले मुख्यमन्त्री हुने इच्छा देखाएका छन् । उनले हुम्लाबाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
वाम तालमेलअनुसार, एमाले र माओवादी केन्द्रबीच ६०/४० सिट विभाजन गरिए पनि प्रदेश नम्बर ६ मा प्रतिनिधिसभातर्फ आधा–आधा क्षेत्र बाँडेका छन् । प्रदेशसभाको प्रत्यक्षतर्फको २४ क्षेत्रमध्ये एमालेलाई १४ तथा माओवादीलाई १० क्षेत्र परेको छ ।