दुई पुरुष र दुई महिला । चारै जना बह्रमासे । अंग्रेजी नयाँ वर्षको अघिल्लो रात । सधैंझैं यौन प्यास मेट्ने योजना बन्यो । एक रातको ५ हजार रुपैयाँ लिने–दिने सहमति भयो । ‘२ जना १० हजार रुपैयाँमा बुक भए,’ बाँके जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो ।
दुईमध्ये एक बर्दियाकी लक्ष्मी (नाम परिवर्तन) थिइन् । रञ्जन गुरुङ (नाम परिवर्तन) ले लक्ष्मीलाई एक जना अर्को साथी लिएर आउन भन्यो, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्याल भन्छन्— त्यसपछि लक्ष्मीले सुमित्रा (नाम परिवर्तन) लाई बोलाई अनि दुवै होटल पुगे ।
एक एयरलाइन्सका नेपालगन्जस्थित स्टेशन म्यानेजर र उनका साथी रञ्जन गुरुङ दुवै सुर्खेतका बासिन्दा हुन् । ६ नम्बर प्रदेशका उनीहरूले ५ नम्बर प्रदेश बाँके र बर्दियाका दुई युवतीलाइ योजनाअनुसार होटल पुर्याए ।
होटल कृष्णा एन्ड सिग्नेटमा ३०१, ३०५ र ३२१ नम्बरका ३ वटा कोठा पहिलेदेखि नै बुक थिए । पहिलो चरणमा चारै जना मदिरापानमा लिप्त भए । साथीहरूबीचको समहमतिअनुसार म्यानेजर एउटा कोठामा, गुरुङ र सुमित्रा अर्को कोठमा सँगै सुते भने लक्ष्मी अर्को कोठामा एक्लै थिइन् ।
आधा रात बित्यो । त्यसपछि रञ्जन गुरुङ सँगै भएकी सुमित्रालाई छाडेर लक्ष्मीको कोठामा पसे । ‘ए... दिन्नस् । कति पैसा चाहियो ?’ विवाद बढदै गयो । उनीहरूबीच कपडा तानातान भयो । टेबुलको रक्सीको बोतल फुट्यो । नाकमा सिसाले काटेर चोट लाग्यो । रगत बग्यो । लक्ष्मी निर्वस्त्र थिइन् । जीउमा पेन्टी मात्र थियो ।
‘रञ्जनले लक्ष्मीलाई जबरजस्ती गर्यो,’ केटीको बयान उद्धृत गर्दै डिएसपी राजेन्द्र अर्याल भन्छन्— नमानेपछि राम्री छु भनेर घमन्ड गर्ने भन्दै फुटेको बोतलले हानेका कारण अनुहारमा चोट लागेको छ । त्यसपछि आफूमाथि जबरजस्ती गरिएको पीडितको बयानमा उल्लेख छ । सँगैका स्टेसन म्यानेजरले जबजस्ती गरे–गरेनन्, दुवै युवतीको बयानमा उल्लेख नभएको प्रहरी सूत्र बताउँछ ।
निकै चर्काचर्कीपछि बाथरुम पसेकी लक्ष्मीले चुक्कुल लगाएर जिल्ला प्रहरीको १ सय नम्बरमा फोन गरिन् । उनले आफूलाई जबरजस्ती गर्ने गुरुङलाई पनि फोन गर्दै किन यस्तो गर्नु भयो ? भन्दै त्यसो नगर्न अनुरोध गरिन् ।
‘भाग्न सक्ने भए पनि लक्ष्मीको जीउमा कपडा थिएन । कसरी भाग्ने ? नाङ्गै थिएँ,’ पीडितको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो । अन्तत: जिल्ला प्रहरीको टोली उक्त होटलमा पुग्यो र चारै जनालाई नियन्त्रणमा लियो । त्यति बेलासम्म रातको २ बजिसकेको थियो ।
दुवै जना युवतीले आफ्नो पेसा नै यौन व्यवसाय भएको भन्दै सुरुमा मुद्दा दर्ता गर्न मानेका थिएनन् । प्रहरीले पक्राउ गरेपछि लक्ष्मी र सुमित्राले आफूहरू पेसेवर भएको भन्दै मिलाएर छोडिदिन आग्रह गरे । प्रहरी पनि सहमतिमा भएको क्रियाकलाप भन्दै उनीहरूलाई छाड्ने मनस्थितिमा पुग्न लागेको थियो ।
यता घटनाको सूचना माथिसम्म पुगिसकेको थियो । माथिल्लो स्तरका प्रहरी अधिकारीले फोन गरे । ‘के हेरेर बसेको मुद्दा नचालाएर ?’ उच्च अधिकारीको यस्तो दबाबपछि अहिले कुटपिट र जबरजस्ती करणीअन्तर्गत ती दुई पुरुषविरुद्ध मुद्दा दायर गरिएको छ । सँगै रात बिताए पनि सुमित्राले भने आफ्नो बयानमा कसैमाथि कुनै आरोप नलगाएको प्रहरीले जनाएको छ ।
यो घटना सार्वजनिक भएपछि विभिन्न प्रश्न प्रश्न उठेका छन् । यो परस्पर सहमतिमा भएको यौन काण्ड हो कि साँच्चीकै बलात्कार हो ? गहन अनुसन्धान हुन बाँकी नै छ । उता बलात्कारको उजुरी गर्ने युवतीमाथि बयान फेर्न दबाब परेको प्रहरी स्रोत बताउँछ । नेपालगन्जमा यसरी मिलेमतोमा पहिले शारीरिक सम्पर्क राख्ने र पछि बलात्कारको उजुरी दिएर ब्लाकमेल गरी मोटो रकम असुलिने गुनासोसमेत सुनिन थालेको छ ।