पश्चिम तराईको प्रमुख व्यापारिक सहर नेपालगन्ज होस् वा बर्दिया अथवा सुर्खेत, दैलेख र दाङका सहर उन्मुख बजार नै किन नहुन् ? यी बजारसँगै वरपरका गाउँबस्तीबाट एक दिन भए पनि पिकनिक जाने क्रम बढ्दो छ ।
कर्णाली रिभर
नेपालगन्जबाट पश्चिम २ घण्टाको दूरीमा रहेको कर्णाली नदीको पुल भएको चिसापानी क्षेत्र रमणीय स्थल हो । व्यवस्था मिलाउन सके यहाँ बोटिङसमेत गर्न सकिन्छ । रोमाञ्चक जल यात्राका लागि कर्णाली चिसापानी उपयुक्त स्थल हो । कर्णाली नदी पिकनिकका लागि सबै सुविधा युक्त स्थल मानिन्छ ।
बर्दिया बबई ब्यारेज
सानै र साँघुरो भए पनि यो ब्यारेज प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । महेन्द्र राजमार्गसँगै जोडिएको बर्दिया बबई ब्यारेजबाट बबइ सिँचाई आयोजना सञ्चालन भएको छ । यहाँ बस्दा जलचरसँगै वन्यजन्तु विचरणको रोमाञ्चक दृश्य नियाल्न सकिन्छ ।
ठाकुरद्वारा
बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने ठाकुरद्वारा धार्मिक महत्वको स्थल हो । नेपालगन्जबाट झन्डै ९० किलोमिटर दूरीमा पर्ने ठाकुरद्वारामा धेरै यस्ता स्थल छन जहाँ पिकनिक खान सकिन्छ । पिकनिकका लागि हात्तीसार जानेहरू सबैभन्दा बढी हुन्छन् । खुला चौर छेउमै कर्णाली नदीको एउटा भँगालोको पानीसमेत उपलब्ध हुन्छ ।
भादा पुल
नेपालगन्जवाट बर्दिया सदरमुकाम गुलरिया हुदै अन्नको भण्डार राजापुर जाँदा बीच बाटोमा पर्ने भादा पुल वरपरको क्षेत्र पनि उत्तिकै रमणीय छ । पछिल्ला केही वर्षयता भादा पुल क्षेत्र पनि वनभोजको गन्तव्य बनेको छ ।
सिक्टा/अगैया
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मुख्य ब्यारेज अनि राप्ती नदी र नजिकैको वनक्षेत्र । घुम्ने बस्ने र वनभोज खाने अर्को राम्रो स्थलमा परिणत हुँदै गएको छ— उत्तर–दक्षिण हरियो जंगल । बीचमा राप्ती नदी बग्छ । यहाँ पौडी खेल्ने चाहना पनि पूरा गर्न सकिन्छ ।
सुर्खेत बबई
बाँके र बर्दियाको अर्को सिमा नदी बबई चुरे क्षेत्रमा पर्छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना स्थल भएकाले पनि बबई पिकिनिकका लागि सबैको रोजाइमा पर्छ ।
बाँकेको ढकेरी
महादेवपुरीस्थित ढकेरी क्षेत्र वनभोज तथा रिफ्रेसमेन्टका लागि परिचित हुँदै गएको छ । ढकेरीमा सञ्चालन भएका कटेज, रेस्टुराँ एवं नजिकैको रिम्ना सामुदायिक वनक्षेत्रमा आकर्षण बढ्दै गएको छ । शान्त र एकान्त हुनाले यो वन क्षेत्र पिकनिकका लागि उपयुक्त गन्तव्य बन्दै गएको हो ।