यही जनवरीको १९ मा अस्ट्रेलियाका विभिन्न सञ्चारमाध्यमले एक नेपाली युवा ब्राजिल गुरुङले आफ्नी बेलायती प्रेमिकाको हत्या गरेर आफूले आत्महत्या गरेको खबर सार्वजनिक गरे । नेपालीहरू बाक्लै बस्ने सिड्नीको न्युटाउनमा घटेको उक्त घटनालाई नेपाली समुदायले पूर्णत: विश्वास त गर्न सकेन नै, उनको परिवारले समेत ब्राजिल त्यस्तो चरित्रको नभएको भन्दै उक्त समाचारमा सत्यता नभएको गुनासो गर्यो ।
अस्ट्रेलियन प्रहरीले उनीहरूको मृत शरीर शुक्रबार साँझ करिब ५:३० बजे प्रहरीले फेला पारेको थियो । ब्राजिल बसोबास गर्दै आएको युनिटमा फेला परेको उनीहरूको शवलाई प्रहरीले थप अनुसन्धानका लागि लिएर गएको थियो । उनीहरूको मृत्यु वा हत्याका सम्बन्धमा प्रहरीले अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरिसकेको छैन, तर यहाँका सञ्चारमाध्यमहरूले भने यसलाई ‘सुसाइड मर्डर’ भनेपछि परिवारले त्यसमा आपत्ति जनाएको छ । परिवारका तर्फबाट ब्राजिलकी दिदी सोनु गुरुङद्वारा जारी विज्ञप्तिमा जुन किसिमले समाचारहरू सार्वजनिक भए त्यसमा सत्यतथ्य नभएको उल्लेख गरिएको छ भने प्रहरीले अनुसन्धान गरिरहेकाले घटनाको यथार्थता चाँडै सार्वजनिक हुने विश्वाससमेत लिइएको छ ।
ब्राजिल गुरुङ सन् २०१४ मा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया आएका थिए । उनी विवाहित भए पनि श्रीमतीसँग अलग बसोबास गर्दै आएका थिए । गुरुङ स्थानीय एक रेस्टुराँमा मुख्य सेफका रूपमा काम गर्थे । केटी साथीहरूसमेत भएका ब्राजिलको सोही रेस्टुराँमा काम गर्ने बेलायती युवती एमेलिया ब्लेकसँग नजिकको सम्बन्ध थियो । प्रहरीले उनलाई तिनै युवतीसँग मृत अवस्थामा फेला पारेको थियो । सञ्चारमाध्यमहरूको दाबीअनुसार उनीहरूको जोडी उक्त युनिटमा केही महिनादेखि सँगै बस्दै आएको थियो भने उनकी ‘गर्लफ्रेन्ड’ भनिएकी ब्लेक अस्ट्रेलिया छाडेर बेलायत नै फर्कने कुरा थाहा पाएपछि ब्राजिलले उनको हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए ।
सञ्चारमाध्यमहरूले मृतकहरूले काम गर्ने रेस्टुराँकी म्यानेजरलाई उद्धृत गर्दै ब्राजिल लागूपदार्थ सेवन गर्ने र आर्थिक समस्यामा परेको बताएका छन्, तर परिवारद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा सञ्चारमाध्यमहरूद्वारा भनिएजस्तो उनी लागूपदार्थको सेवनकर्ता तथा आर्थिक समस्यामा रहेको आफूलाई थाहा नभएको बताइएको छ । बाज्रिलले काठमाडौंमा लागूपदार्थबाट पीडितहरूलाई सहयोग गर्न पुन:स्थापना केन्द्र सञ्चालन गरिरहेको उनको पारिवारिक सूत्रहरू बताउँछन् ।
गुरुङको शवमा दुवै हातखुट्टा र घाँटीमा चोटका निसानहरू देखिएको बताउँदै उनी आफैं पनि पीडित भएको दाबी परिवारको छ । प्रहरीले यो अनुसन्धान पूरा हुनुअघि नै यसलाई ‘मर्डर सुसाइड’ भनेर गरेको आशंकाले परिवारको घाउमा थप नुन छर्किएको उनीहरूको गुनासो छ ।
मृतककी दिदी सोनु गुरुङले घटना रहस्यमय भएको बताउँदै यहाँका सञ्चारमाध्यमहरूले एकोहोरो समाचार प्रस्तुत गरेकोमा दु:ख व्यक्त गरेकी छिन् । उनका अनुसार ब्राजिलकी इने नाम गरेकी पूर्वप्रेमिकाले उनलाई फोन गरेर मृतक गुरुङ तनावमा रहेको जानकारी दिएकी थिइन् । दिदी सोनुले आफ्नो भाइसँग सम्पर्क गर्दा सम्पर्क नभएपछि तिनै पूर्वप्रेमिकालाई घरमा गएर हेरिदिन आग्रहसमेत गरेकी थिइन्, तर साँझ प्रहरीले गुरुङसहित उनकी कथित बेलायती प्रेमिकाको शव उनको कोठामा फेला पारेको थियो ।
घटनामा नेपाली युवालाई मात्र दोषी देखाइएकोमा यहाँको नेपाली समुदायसमेत दुखित छ । घटनाको सत्यतथ्य खोजेर मात्र समाचार सार्वजनिक गर्नुपर्नेमा त्यसो नगरिएको उनीहरूको भनाइ छ । एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक नन्द गुरुङले सत्यतथ्य पत्ता लागिसकेपछि मात्र कसैलाई दोषी भन्नुको साटो अनुमानका भरमा काम गरिएको बताए ।
घटनामा नेपाली युवालाई मात्र दोषी बताइएपछि सिड्नीस्थित अवैतनिक महावाणिज्यदूत दीपक खड्काले पहिलो पटक समाचार प्रकाशन गर्ने संवावदातालाई आधारहिन समाचार लेखिएकोमा सचेत गराउँदै कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका थिए । उनले पक्का प्रमाण र कोरोनरको रिपोर्ट आउनुअघि नै अनुमानका भरमा समाचार नलेख्न आग्रह पनि गरेका थिए ।
यता, प्रेस विज्ञप्तिमा परिवारका तर्फबाट उनकी दिदीले आफ्नो भाइ खराब व्यक्ति नभएको र उनले अहिलेसम्म कसैलाई पनि हानि नपुर्याएको दाबी गरेकी छिन् । गुरुङले आफ्नो भाई आर्थिक समस्यामा रहेको कुरा आफूहरूलाई जानकारी नभएको बताएकी छिन् । विज्ञप्तिमा केही महिला आफ्नो भाइको अवस्थाका बारेमा चिन्तित रहनु, उनी साथीभाइबीच प्रसिद्ध रहेको र यसले प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्याउन सक्ने कुरासमेत बताइएको छ । अर्कातिर आफूहरू अस्ट्रेलियन नागरिक नभएकाले प्रहरीले अनुसन्धानमा आफ्ना स्रोतहरू बचत गर्न खोजेको हुन सक्ने आरोपसमेत लगाइएको छ ।
पछिल्लो समयमा विभिन्न कारणले नेपालीहरूको मृत्यु हुने क्रम बढेसँगै यहाँका नेपालीहरूमा चिन्ता बढ्दै गएको छ । घटनाको सत्यता प्रहरीले आफ्नो अनुसन्धान सकेपछि र कोरोनरको रिपोर्ट आएपछि मात्र पत्ता लाग्ने भए पनि ब्राजिललाई नै एकतर्फी रूपमा हत्यारा र दोषी देखाउनु न्यायसंगत नभएको यहाँका नेपालीहरूको भनाइ छ । ब्राजिल ह्यान्डसम र सबैसँग खुलेर बोल्ने भएकाले उनका साथीहरू धेरै भएको समाचारहरूले समेत प्रस्ट पारेका छन् भने उनकी श्रीमतीसँग पारपाचुके भएको थियो कि थिएन, प्रस्ट बताइएको छैन, तर उनी आफ्नी श्रीमतीसँग केही महिनादेखि अलग बस्दै आएका थिए ।
घटनाका बारेमा थप जानकारी लिन मृतककी दिदी सोनु गुरुङलाई पटक–पटक फोन गरिए पनि सोनु आफैं सम्पर्कमा आउन चाहिनन् । यो घटनाको यथार्थ बाहिर आउन अझै केही समय लाग्ने बताइएको छ ।