अघिल्लो वर्ष प्रदर्शित चलचित्र जात्राको व्यवसायिक सफलतासँगै युवा निर्देशक प्रदीप भट्टराई दर्शकहरूको मनमा बस्न सफल भए । मध्यम वर्गीय नेपाली परिवारको जीवनशैली चित्रण गरिएको उक्त एवार्ड विजेता चलचित्रले नेपाली चलचित्रको धार नै परिवर्तन गरेको कुरा बताउनेहरू पनि प्रशस्तै छन् । मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग झन्डै एक दशकभन्दा लामो समयदेखि सहायक निर्देशकका रूपमा कार्यरत भट्टराई चलचित्र जात्रापछि मात्र सार्वजनिक जीवनमा चिनिएका हुन् । मह सञ्चारले लामो समयपछि निर्माण गर्न लागेको चलचित्र शत्रुगतेको समेत निर्देशन गरिरहेका निर्देशक भट्टराई यतिबेला देशकै महंगा निर्देशकहरूमध्ये एक मानिन्छन् ।
जन्म दिने आमा–बुवा
म आफूलाई जन्म दिने आमा–बुवालाई सबैभन्दा बढी प्रेम गर्छु । म मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ । यद्यपि मेरा बुवा–आमाले कहिल्यै मलाई हुर्काउने तथा पढाउने कामलाई वर्गको घेरा भित्र राख्नुभएन, जसका कारण आज म यो स्थानमा छु ।
कर्म गर्न सिकाउने मह जोडी
मदन दाइ–हरि दाइ बुवापछिका मेरा अभिभावक हुनुहुन्छ । म काठमाडौं आएर संघर्ष गरिरहेको थिएँ । कच्चा उमेरको थिएँ । त्यो उमेरमा सही ठाउँमा सही मान्छे भनौं अथवा भगवानको हातमा परेकाले म जे छु, आफ्नो कर्ममा जे हासिल गरिरहेको छु, त्यो सब मह जोडीकै कारणले सम्भव भएको हो । दाइहरूले मलाई काम मात्र होइन, जीवन जिउने तरिकासमेत सिकाउनुभएको छ ।
जन्मथलो सर्लाही
मलाई मेरो जन्मथलो सर्लाहीको असाध्यै माया लाग्छ । म जहाँ पुगे पनि, जहाँ रहे पनि सर्लाही मेरो मनमा रहिरहनेछ । मलाई काठमाडौं आएपछि तिम्रो घर कहाँ भनेर प्रश्न गरिन्थ्यो । जवाफमा मेरो घर सर्लाही हो भन्दा के छ र सर्लाहीमा विशेष ? भन्ने प्रतिप्रश्न गरिन्थ्यो । वास्तवमा मलाई सर्लाहीको सबै कुरा विशेष लाग्छ । हाम्रो गाउँमा इन्दुशंकर चिनी उद्योग छ । त्यहाँबाट निस्कने फोहोर नालीबाट बाहिर पठाइन्छ । बाहिरबाट त्यहाँ पुग्ने मानिसहरूलाई त्यो गन्हाउन सक्छ, तर हामी स्थानीयवासीका लागि त्यही कुरा सुगन्धजस्तो लाग्दो रहेछ । उक्त कुरा मैले काठमाडौं आएपछि मात्र महसुस गरें ।
चलचित्र जात्रा
जात्रा चलचित्रलाई म असाध्यै प्रेम गर्छु । मेरो उक्त चलचित्रलाई दर्शक–समीक्षक सबैले मन पराइदिनुभयो । चलचित्र चल्यो । त्योभन्दा पनि यो चलचित्रले १६–१७ वर्षदेखि संघर्ष गरिरहेको एक युवकलाई पहिचान दिलायो । यो मेरो पहिलो अनि सफल काम भएकाले पनि होला जात्रालाई म मनैदेखि प्रेम गर्छु ।
चलचित्र क्षेत्र
सबैले जस्तो म पनि आफ्नो कर्म क्षेत्रलाई अगाध प्रेम गर्छु । म आफू सहभागी भएको, आफूले गरेको काम मात्र होइन, अरूले गरेको कामको समेत माया एवं सम्मान गर्छु । चलचित्र क्षेत्र र यो क्षेत्रमा लागिरहेका जो–कोहीलाई पनि कसैले नराम्रो भन्यो अथवा गाली गर्यो भने मलाई तुरुन्तै रिस उठ्छ । म तत्काल त्यसको प्रतिवादमा उत्रिहाल्छु ।
मेरो बानी
हुन त बानी लगाउने–नलगाउने, राम्रो बनाउने–नबनाउने आफ्नै हातमा हुन्छ । यद्यपि कतिपय अवस्थामा यो कुरा आफ्नो हातमा हुँदैन पनि, तर अहिलेसम्म मेरो बानीले मलाई साथ दिइरहेको छ । नराम्रोतिर ढल्किने, पल्किने गरेको छैन । त्यसैले म आफ्नो बानीलाई असाध्यै प्रेम गर्छु ।
आफ्नै परिवार
मेरी श्रीमती, छोरा र मेरा दिदी–दाइ । मेरो जीवनमा यी चार जनाको उत्तिकै ठूलो महत्व छ । म असल मानिस बन्न सक्नुमा, जीवनका अनेक मोडहरूमा उहाँहरूले दिएको साथ, सहयोग तथा खुसीको ठूलो भूमिका छ । उहाँहरूले मेरो दु:ख घटाउने तथा खुसी बढाउने काम गर्नुभएको छ ।