साप्ताहिक संवाददाता
दीपकराज गिरी
चलचित्र : छक्का पञ्जा–२ शत्रु गते
हास्यश्रृंखला तीतो सत्य निर्देशन गरेर यो विधामा अब्बल सावित भैसकेका दीपकराज गिरीले कथा, पटकथा, संवाद जस्ता विधामा कमल चलाए पनि गिरीले चलचित्रमा भने आफूलाई अभिनेताका रुपमै सीमित राखेका छन् । दीपकराजले मुख्य भूमिका निर्वाह गरेका दुई चलचित्र यो वर्ष व्यवसायिक रुपमा समेत अत्यन्त सफल रहे ।
अनमोल केसी
चलचित्र : कृ
चकलेटी अभिनेता अनमोलले यो वर्ष जम्मा एउटा मात्र चलचित्रमा अभिनय गरे । आफ्नै बुवा भुवन केसी तथा निर्माता सुवास गिरीद्वारा निर्देशित उक्त चलचित्र छायांकनको दिनदेखि नै चर्चामा रह्यो । चलचित्रले औसतभन्दा राम्रो व्यवसाय गरे पनि अनमोल केसीको अभिनय तथा भूमिकाको चौतर्फी प्रसंसा भयो । वर्षमा एक भन्दा बढी चलचित्रमा अभिनय नगर्ने कारणले पनि अनमोलका चलचित्रहरू दर्शकको प्रतीक्षाको सूचीमा रहन्छन् ।
प्रदीप खड्का
चलचित्र : प्रेमगीत–२ तथा लिलिबिली
अनमोल केसी जत्तिकै लोकप्रिय छन् युवा अभिनेता प्रदीप खड्का । यो वर्ष उनले अभिनय गरेका दुई चलचित्र प्रदर्शनमा आए–प्रेमगीत–२ तथा लिलिबिली । प्रेमगीत–२ को व्यवसाय उत्कृष्ट रह्यो । प्रदीपको अभिनयलाई दर्शकले मन पराए । खासगरी युवतीहरू प्रदीपका डाइहार्ट फ्यान नै भए । प्रदीप वर्षको अन्तिम दिन अर्थात आज शुक्रवार प्रदर्शनमा आउने चलचित्र ‘लिलिबिली’ मा समेतसशक्त भूमिकामा प्रस्तुत भएका छन् ।
पल शाह
चलचित्र : म यस्तो गीत गाउँछु, जोनी जेन्टलम्यान तथा शत्रु गते
म्युजिक भिडियोमा अत्यन्त रुचाइएका मोडल हुन्— पल शाह । भिडियोमा उनको क्रेज देखेरै निर्माता–निर्देशकले उनलाई चलचित्रको अभिनेता बनाएका हुन् । यो वर्ष पलले अभिनय गरेका तीन वटा चलचित्र प्रदर्शनमा आए । तीमध्ये जोनी जेन्टलम्यान व्यवसायिक रुपमा असफल भयो भने म यस्तो गीत गाउँछु औसत रह्यो । धेरै कलाकारहरूको भूमिका रहेको शत्रुगते व्यवसायिक रूपमा सफल भयो, जसमा पलले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
आसिफ शाह
चलचित्र : दुई रुपैयाँ
अघिल्लो वर्ष नै प्रदर्शित चलचित्र ‘लभ सासा’ मा आकर्षक भूमिका निर्वाह गरेर गायक तथा विज्ञापन निर्देशक आसिफ शाहले आफूमा अभिनय क्षमता छ भन्ने कुरा प्रमाणित गरिसकेका थिए । यो वर्ष प्रदर्शित ‘दुई रुपैयाँ’ मार्फत उनले आफूमा ह्यूमरस अभिनय गर्न सक्ने क्षमता भएको कुरालाई प्रमाणित गरे । खासगरी कुटुमा कुटु गीतको नृत्यका कारण दर्शकले आसिफलाई सधैं सम्झने छन् ।
निश्चल बस्नेत
चलचित्र : दुई रुपैयाँ तथा पर्व
निश्चल बस्नेत चलचित्र ‘दुई रुपैयाँ’ प्रदर्शन हुनुअघि नै दर्शकको मनमा बसिसकेका थिए । यो वर्ष प्रदर्शनमा आएको चलचित्र पर्वको ‘काले दाइ..’ गीतमा निश्चलले काले दाइकै भूमिका निर्वाह गर्दै आकर्षक नृत्य गरेका छन् । उक्त गीतको लोकप्रियतासँगै काले दाइ अर्थात निश्चललाई मन पराउनेहरूको संख्या ह्वात्तै बढेको छ ।
रमेश उप्रेती
चलचित्र : ऐश्वर्य
चलचित्र ‘ऐश्वर्य’ मार्फत कमब्याक गरेका रमेश उप्रेतीले उक्त चलचित्रको सफलतासंगै आफूलाई अभिनेताका रूपमा समेत पुनस्र्थापित गरेका छन् । आफूभन्दा निकै कम उमेरकी अभिनेत्री दिपिका प्रसाईंसँग अनस्क्रिन रोमान्स गर्दा पनि रमेश असुहाउँदो देखिएका छैनन् । चलचित्रको रोमान्टिकदेखि द्वन्द्वका दृश्यसम्ममा अब्बल उप्रेतीलाई ‘तिमी रोएको पल...’ गीतको सफलताले थप फाइदा पुर्यायो ।
पुष्प खड्का
चलचित्र : मंगलम
अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र ‘दर्पणछायाँ–२’को असफलताले अभिनेता पुष्प खड्कालाई खासै हानी पुर्याएन । तुलसी घिमिरेको उक्त चलचित्र असफल भए पनि पुष्पको अभिनय रुचाइयो । यो वर्ष प्रदर्शित चलचित्र ‘मंगलम’ मा उनले निर्वाह गरेको कारुणीक भूमिकाले दर्शकहरूलाई
रुवायो ।
सौगात मल्ल
चलचित्र : लालपुर्जा, झ्यानाकुटी, पञ्चेबाजा, संरक्षण, फाटेको जुत्ता
यो वर्ष अभिनेता सौगात मल्लले अभिनय गरेका पाँच वटा चलचित्रहरू प्रदर्शन भए । नरमाइलो कुरा के भयो भने सौगातले अभिनय गरेका चलचित्रहरूमध्ये थोरैले मात्र व्यवसायिक सफलता हासिल गरे भने धेरै चलचित्र औषत रहे । चलचित्र छनोट गर्दा स्क्रिप्टमा ध्यान नदिएको आरोप पनि उनलाई लागिरह्यो ।
दयाहाङ राई
चलचित्र : घामपानी, कान्छि, नेप्टे, लाल्टिन, मिस्टर झोले
यो वर्ष अभिनेता दयाहाङ राईले अभिनय गरेका ५ चलचित्र प्रदर्शनमा आए । तीमध्ये चलचित्र कान्छीले उत्कृष्ट व्यवसाय गर्यो । घामपानी र मिस्टर झोले औसत रहे । लाल्टिन औसतभन्दा तल रह्यो । नेप्टे यो वर्षको अन्तिम दिन अर्थात आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । दयाहाङले ‘नेप्टे’ मा पहिलो पटक खलनायकको भूमिका निर्वाह गरेका छन् ।