कैलाली जिल्ला फुटबल संघका पुर्वअध्यक्ष एवम् फुटबल प्रेमी सुरेन्द्र शाही अहिले नियमित रूपमा विश्वकप फुटबल हेरिरहेका छन् । उनी अर्जेन्टिनाका फ्यान हुन् । हालसम्म ५ वटा विश्वकप हेरिसकेका शाहीले घरमा अर्जेन्टिनाको टिमका साथै चर्चित खेलाडी रोनाल्डो तथा मेसीको नम्बर तथा नाम अंकित एक दर्जनभन्दा बढी टि–सर्ट संकलन गरेका छन् ।
सुख्खडस्थित सनराइज बैंकका म्यानेजर शाही बाल्यकालदेखि नै फुटबलप्रेमी थिए । विश्वकप फुटबलका बारेमा थाहा भएपछिका वर्षहरूमा उनले कहिल्यै विश्वकप हेर्न छुटाएका छैनन् । ‘उहिले सानो छँदा एक्लै टिभीमा हेरिन्थ्यो,’ उनले भने, ‘ठूलो भएपछि समूहमा हेर्न थालियो ।’ यसपटक उनी कैलालीको राजमार्गमा पर्ने सख्खड बजारमा फुटबलप्रेमीहरूबीच रमाउँदै छन् । टुबर्ग बियर कम्पनीले सुख्खडमा प्रोजेक्टरद्वारा विश्वकप फुटबलको लाइभ प्रसारण गर्ने व्यवस्था मिलाएको छ ।
पन्त मात्र होइन, विश्वकप फुटबलका क्रेजी कैलालीका गाउँदेखि सहरसम्मका बालबालिकादेखि वृद्धहरूसम्म छन् । बजारमा अर्जेन्टिना तथा ब्राजिलका टि–सर्टको बिक्री बढे पनि अन्य टिम र खेलाडीको नाम अनि नम्बर लेखिएको टि–सर्टको व्यापार पनि कम छैन ।
प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीको देव तालिम केन्द्र, टेम्पल रिसोर्ट तथा फनपार्कले विश्वकपलाई ठूलो पर्दामा लाइभ प्रशारण गरिरहेका छन् । धनगढीका अरू क्लबहरूले पनि यस्तो प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएका छन् ।
देव तालिम केन्द्रका प्रवन्धक रविन पन्तले पारिवारिक वातावरणमा विश्वकप प्रशारण गर्न लागिएको बताए । ‘फुटबलमा महिला तथा बालबालिकाहरूको आकर्षण बढोस् भन्ने चाहानाले पारिवारिक वातावरण दिन लागेका हौं,’ उनले भने, ‘मदिरा सेवन पूर्ण बन्द गरेका छौँ ।’
सुदूर पश्चिममा विश्वकपलाई ठुलो पर्दामा हेर्न थालिएको धेरै वर्ष भएको छैन । फुटबलप्रेमी प्रकाश विष्टका अनुसार पछिल्ला ३/४ वटा विश्व कपदेखि धनगढीमा विश्व फुटबलको लाइभ प्रोजेक्टरमा हेर्न थालिएको हो । ‘अहिलेको पुस्ता घरको टिभीमा विश्वकप हेर्न चाहँदैन, उनीहरूलाई ४२–४३ इन्चको घरको टेलिभिजन सेट पनि सानो लाग्छ,’ उनले भने, ‘म आफैं पनि ठूलो पर्दामा लाइभ हेर्न रुचाउँछु ।’
धनगढी जिल्ला फुटबल संघ कैलालीका अध्यक्ष मोहित शाहले ओम प्यालेसमा प्रोजेक्टरमार्फत विश्वकप हेर्ने व्यवस्था मिलाउँदै आएका छन् । शाह भन्छन्, ‘यसपटक पनि विश्वकप लाइभको व्यवस्था छ,
तर क्वाटरफाइनलका खेलपछि मात्र ।’