भारतको बनारसमा बन्धक बनाइएका नेपाली महिलाहरू बसेको एउटा घरमा प्रहरीले छापा मार्दा दलालले सबैलाई लिएर सम्पर्क विहीन भएको बनारस प्रहरीले जनाएको केही दिनमै दिल्लीबाट गत सोमबार र मंगलबार गरी बन्धक बनाएका ३२ नेपाली महिलाको उद्धार गरिएको छ । यसअघि भारतीय तथा नेपाली गरी १ सय ५० महिला बन्धक बनाइएको जानकारी आएपछि बनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा दस्ताले उक्त छापा मारेको थियो । बन्धक बनाइएका मध्ये कतिपय नेपाली महिलाहरूको अवस्था अहिलेसम्म अज्ञात छ ।
बनारस प्रहरीले उनीहरूलाई दिल्ली पुर्याएको सूचना प्राप्त भएको बताएको छ । दिल्लीमा भएको जानकारी आएपछि बनारसबाट बन्धक बनाइएका नेपाली महिलाको खोजीमा दुई सादा पोसाकका प्रहरी अधिकृतसहितको टोली दिल्ली पुगेको बनारस, शिवपुर थानाका प्रहरी निरीक्षक शिवकुमार सिंहले बताए । बन्धक बनाइएका महिला झापा, इटहरी, सिन्धुली, रुपन्देही, दाङ, बाँके, बर्दिया आदि जिल्लाका भएको त्यहाँबाट मुक्त भएकी एक महिलाले बताइन् । छापा मार्न लागिएको सूचना लिक भएकाले उनीहरू त्यहाँबाट भागेको आशंका स्थानीय बासिन्दाले गरेका थिए ।
दलाल विरुद्ध भारतको बनारसमा बर्दिया मधुवनकी एक ३२ वर्षीया महिलाले मुद्दा दायर गरेकी छिन् । उनले नेपाली तथा भारतीय दलालले ललाई–फकाई ल्याएर बन्धक बनाएको भन्दै बनारसको शिवपुर थानामा सन्दीप भन्ने संजीव महत एवं सुन्दरीविरुद्ध लिखित उजुरी दिइकी थिइन् । भारतीय प्रहरीले मानव बेचविखनविरुद्ध उच्च न्यायालयमा मुद्दा दायर गरेको शिवपुर थानाका इन्चार्ज प्रहरी निरीक्षक विजयकुमारले बताए । नेपाली महिलाले बनारसमा मानव बेचबिखनविरुद्ध मुद्दा दिएको यो पहिलो घटना भएको बनारस प्रहरीले बतायो । केही महिला बन्धक बनाइएको आशंकामा बनारस, नटकनियादाइस्थित भारतीय जनता पार्टीका पूर्व महासचिव एंव युवा मोर्चाका अध्यक्ष पप्पु भनिने जयसिंहको घरमा छापा मारिएको थियो । बन्धक बनाइएको घरबाट प्रहरीले दुई महिला तथा तीन पुरुष सहित पाँच भारतीयलाई पक्राउ गरी मानव बेचबिखनसम्बन्धी मुद्दा दायर गरेको छ ।
एक साताअघि दलालबाट फुत्किएर बर्दियाका दुई महिला घर फर्किएका थिए । तीमध्ये एक महिलाले बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको सहयोगमा बनारस पुगेर मुद्दा दायर गरेकी हुन् । उनले आफूलाई बन्धक बनाइएको घर स्थानीय गैरसरकारी संस्थाको सहयोगमा पत्ता लगाएपछि बनारस प्रहरीले छापा मारी पाँच भारतीयलाई नियन्त्रणमा लिएको थियो । दलालले बन्धक बनाएका नेपाली महिलाको उद्धारका लागि नेपाली अधिकारीहरूले अग्रसरता देखाएकाले दलालविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन सहज भएको बनारसका एसएसपी आनन्द कुलकर्णीले बताए ।
‘बन्धक बनाइएको घरमा ८० भन्दा बढी नेपाली महिला थिए,’ त्यहाँबाट फुत्किएर आएकी ३२ वर्षीया नेपाली महिला भन्छिन् । बर्दिया फर्किएका ती महिलालाई दाङ घर बताउने सुन्दरी नामकी एक महिलाले ज्यान मार्ने धम्की दिएको उनले बताइन् । बन्धक बनाइएका १ सय ५० मध्ये ७० जना महिलालाई बनारसस्थित नटकनियादाइकै अन्य घरमा राखिए पनि उनीहरूको अवस्था अज्ञात छ ।
जानकारी दलाललाई
स्थानीय गैरसरकारी संस्था सेभ बनारसका संयोजक राकेशकुमारले महिलाहरूलाई बन्धक बनाइएको घर पहिचान गराएका थिए । मुक्त भएकी महिलालाई लिएर पुगेको प्रहरीलाई घर पत्ता लगाउन सहयोग गरेका राकेशकुमार त्यहाँ पुग्नासाथ प्रहरीको सहयोगबिना हामी घरमा पस्न सक्दैनौं भन्दै पन्छिएका थिए । त्यसपछि माईती नेपालसँग सहकार्य गर्दै आएका बनारसका संयोजक राजीव सिंहसहितको टोलीले सहयोग गर्यो । नेपाली दूतावास दिल्लीबाट आएका काउन्सिलर एसएसपी पुरुषोत्तम कँडेल, बर्दिया प्रहरीका डिएसपी युवराज खड्का, प्रशासकिय अधिकृत अर्जुन सुवेदी, मधुवनका मेयर गणेश केसी तथा पीडित महिला र उनका श्रीमान्सहितको टोलीले बनारसका एसएसपी आनन्द कुलकर्णीलाई घटनाका सम्बन्धमा जानकारी गराएका थिए । मधुवनकी ती महिला, गैरसरकारी संस्था सेभ बनारसका सिंह तथा उनकी पत्नी इन्दिरासहित सादा पोशाकका प्रहरीले महिलाहरूलाई बन्धक बनाइएको घरको पहिचान गरेका थिए । एसएसपी कुलकर्णीले बिहानै सर्च गर्ने भनेर नेपाली अधिकारीहरूलाई त्यहाँ पठाएका थिए भने मध्यरातमा एक्कासि छापा मार्ने भन्दै सयभन्दा बढी प्रहरी घटनास्थल पुगेका थिए ।
बर्दियाका प्रजिअ कुरुम्बाङले भारतीय दूतावास काठमाडौंमा सम्पर्क बनाएका कारण सोही राती ११ बजे एसएसपीसहितको टोलीले उक्त घरमा छापा मारेको थियो । स्रोतका अनुसार दलालले छापा मार्ने जानकारी पाएकाले सबै नेपाली महिला सहित त्यहाँबाट अन्यत्र स्थान्तरण भैसकेका थिए । सत्तारुढ भारतीय जनता पार्टीका स्थानीय नेताको घर तथा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र भएका कारण प्रहरीले जोखिम उठाउन नचाहेको स्थानीय बासिन्दा रवीन्द्र यादवले बताए । नेपाली अधिकारी आएका कारण छापा मारे पनि दलालले स्थानीय प्रहरीबाटै सूचना प्राप्त गरेको बताइन्छ ।
दलालले यसरी पुर्याउँछन्
वैदेशिक रोजगारीको प्रलोभन दिँदै नेपाली तथा भारतीय दलालहरू नेपाल तथा भारतका गाउँ घरमा सक्रिय छन् । दलालले १ लाख रुपैयाँ तलव, नि:शुल्क आवास, औषधी उपचार खर्चसमेत केही नलाग्ने भन्दै फकाएर भारत पुर्याएको भागेर आएकी एक महिलाले बताइन् । ती महिलाका अनुसार उनले श्रीमान्लाई जानकारी नदिई राहदानी बनाएकी थिइन् । यसरी बन्धक हुनेहरूमा घर–परिवारलाई समेत जानकारी नदिई आएका ९० प्रतिशत छन् । ‘बन्धक भै मुक्त ती महिलाले भनिन्, ‘बन्धक बनाइएका कतिपय युवती शारीरिक शोषणमा परेका छन् ।’
बनारसस्थित अन्तर्राष्ट्रिय नेटवर्क विनविनको मुख्यालय बन्धक बनाइएको घर नजिक छ जहाँ ९९ प्रतिशत कामदार नेपाली युवती छन् । नेपालमा प्रतिबन्धित विनविनको कार्यालय बनारसमा छ । बनारसस्थित भोजुवीर तिराहास्थित कमल गंगेज होटलमा बस्ने दुई नेपाली युवतीले आफूहरू बनारस घुम्न आएको बताए । उनीहरूसँग काठमाडौं घर बताउने कर्ण नाम गरेका नेपाली युवा थिए । प्रहरीले छापा मारेको जानकारी पाउनासाथ उनीहरू त्यहाँबाट भागेर अन्यत्र गएका थिए ।
भारतीय अधिकारकर्मी इन्दिरा सिंहका अनुसार अहिले विनविनसमेत शंकाको घेरामा छ । नेपाली चेलीहरू रोजगारीका नाममा बेचबिखन हुने गरेको सिंह बताउँछिन् । नेपाल सरकारले भारतीय सरकारसँग मिलेर विनविनका वारेमा चासो लिनुपर्ने सिंहले बताइन् ।
पाँच कोठामा कोचेर बसियो
दलालबाट मुक्त भएकी ती महिलाका अनुसार १ सय ५० जनाभन्दा बढी महिलालाई पाँचवटा कोठामा कोचेर राखिएको थियो । हामी खुट्टामाथि खुट्टा चढाएर सुत्न बाध्य थियौं । पाँच जना गुण्डाले घेरेर राखेको कोठामा सास फेर्न निकै मुस्किल भएको बताउँदै ती महिला भन्छिन्, ‘उक्त कोठामा राति गुण्डाले केही महिलाहरूमाथि शारीरिक दुव्र्यवहारसमेत गरेका थिए ।’ नेपाली महिला दलाल सुन्दरीले गुन्डासँग कुनै महिला जान नमाने कुटपिट पनि गर्थिन् ।
दलालविरुद्ध बर्दियामा मुद्दा
उद्धार भै घर फर्किएका दुई महिलाले दलालविरुद्ध मानव बेचबिखनको मुद्दा दिने भएका छन् । उनीहरूले कहिले बाँके र कहिले सर्लाही घर बताउने सन्दीप तथा दाङकी सुन्दरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताएका छन् । अहिले ती अभियुक्तको हुलिया पत्ता लगाउने काम भैरहेको प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए । यसबीच बनारस प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी मुलुकतर्फ जान नेपाली चेलीलाई प्रतिबन्ध लगाएको छ ।
३२ नेपाली मुक्त
नेपालबाट भारत हुँदै खाडीतर्फ पठाउन लागिएका १६ जना महिलालाई गत सोमबार राति दिल्लीको पहाडगन्जबाट मुक्त गराइएको छ । यसअघि गत आइतबार पनि दिल्ली प्रहरीले दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालको अग्रसरतामा वसन्त बिहार प्रहरी थानाक्षेत्रको मुनिरकाबाट १६ महिलालाई मुक्त गरेको थियो । एउटै समूहमा रहेका यी ३२ नेपाली महिलालाई खाडीका विभिन्न मुलुकमा अवैध तरिकाले पठाउने तयारी भैरहेको अवस्थामा मुक्त गराइएको हो । यसरी मुक्त भएका नेपाली महिलालाई नेपाल फर्काउन दिल्ली महिला आयोगले भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छ । १८ देखि ३० वर्ष उमेर समूहका ती महिलालाई गत साता बनारसबाट दिल्ली पुर्याइएको बताइन्छ । तीमध्ये १६ जना नेपाली महिलालाई मंगलबारै काठमाडौं पठाइएको थियो ।