साप्ताहिक संवाददाता
चाडपर्वको समयमा नयाँ सवारी साधनका रूपमा बाइक तथा स्कुटर किन्नेहरू प्रशस्तै हुन्छन् । हिजोआज दसैंलाई नयाँ कपडा लगाउने र रमाइलो गर्ने मात्र होइन, नयाँ सवारी साधन किन्ने पर्वका रूपमा समेत मनाउन थालिएको छ । यो गाडी बिक्री हुने मुख्य सिजन हो । यति बेला व्यावसायीहरूको ठूलो मेहनतबिना नै गाडी बिक्री हुने गरेको छ । दसैं–तिहारलाई नयाँ लगाउने र मिठो खाने पर्वका रूपमा लिने संस्कार छ । यस क्रममा नयाँ गाडी चढ्नुपर्यो भने पनि धेरैले दसैं–तिहार नै कुर्ने गरेका छन् । यो वर्ष पनि विभिन्न कम्पनीले नयाँ बाइक तथा स्कुटरहरू भित्र्याएका छन् । तीमध्ये मध्यमस्तरीय एवं लोकप्रिय मुख्य बाइक तथा स्कुटर :
टीभीएस अपाचे
आरटीआर १६० ४भी
टीभीएस अपाचे आरटीआर १६० ४भी मा ४ भल्भ, आयल कुल्ड इन्जिन छ । १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन उक्त मोटरसाइकलले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा जेनरेट गर्छ ।
टीभीएस अपाचेको स्पिड आरटीआर १६० फोर भी पावर टु वेट रेसियोमा टप १ सय १३ किलोमिटर प्रतिघण्टा छ, जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टा मात्र ४.७३ सेकेन्डमा पूरा गर्छ । मोनोसक सस्पेन्सन तथा रेजर सार्प ह्याण्डलिङ यो मोटरसाइकलको आकर्षण हो । यो बाइकको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ पर्छ ।
यामाहा आर १५ भी ३.०
यामाहा आर १५ भी ३.० पहिलो पटक नेपाल भित्रिएको छ । केही दिन पहिले सम्पन्न नाडा अटो शोमा यसलाई सार्वजनिक गरिएको थियो । यामाहा आर १५ भी ३.० मा १ सय ५५ सीसी सिंगल सिलिन्डर, ४ भल्भ तथा लिक्विड कुल्ड इन्जिन छ । यसमा प्रयोग भएको इन्जिनले १९ बीएचपी पावर तथा १५ एनएम टर्क प्रदान गर्छ । ६ स्पिड गियरबक्सयुक्त यो मोटरसाइकल प्रतिघन्टा १ सय ३५ किलोमिटरको गतिमा कुद्न सक्ने बताइएको छ । यसमा फुल एलईडी हेडल्याम्प तथा स्लिपर क्लच छ भने अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरका साथै एलईडी टेल ल्याम्प पनि दिइएको छ । नेपालमा यामाहा आर १५ भी ३.० को मूल्य ४ लाख १७ हजार ९ सय रुपैयाँ पर्छ ।
होन्डा एक्स–ब्लेड
होन्डाले नयाँ मोटरसाइकल एक्स–ब्लेड नेपाली बजारमा उपलब्ध गराएको छ । सुरुवाती चरणमा यसको मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ राखिएको छ । एक्स–ब्लेड आफ्नो नामजस्तै सार्प लुक्सको छ । यो मोटरसाइकलमा फुल एलईडी हेडलाइट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता अत्याधुनिक फिचर समेत उपलब्ध छन् । होन्डा एक्स–ब्लेडमा १६२.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ, जसले १३.९३ बीएचपी पावर तथा १३.९ एनएम टर्क प्रदान गर्छ ।
यसमा रेजरजस्तै किनारा भएको एलईडी टेल ल्याम्प छ । यसका कारण आफू भन्दा पछि आइरहेको अन्य सवारी साधनले यसलाई राम्रोसँग देख्न सक्छन् । यसमा सार्प डिजाइनको इन्धन
ट्यांकी छ, जुन अन्य बाइकको ट्यांकीभन्दा फरक देखिन्छ । एलईडी हेडल्याम्प तथा फ्ल्यासिङ इन्डिकेटर लाइटले यसलाई थप आकर्षक बनाएका छन् । त्यसैगरी यसमा कम मात्र मर्मत गरे पुग्ने खालको सिल चेन उपलब्ध छ ।
हिरो एक्स्टि्रम २०० आर
एक्स्टि्रम २०० आरको मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ पर्छ । यसमा एन्टी–लक ब्रेकिङ सिष्टमलगायतका विभिन्न सुविधा उपलब्ध छन् । हिरो एक्स्टि्रम २०० आरमा नयाँ प्रणालीको बीएस फोर २०० सीसी एयरकुल्ड इन्जिन छ । यसले १८.४ पीएस पावर तथा १७.१ एनएम टर्क उत्पादन गर्छ । यो बाइकलाई शून्यदेखि ६० किलोमिटरको दूरी पूरा गर्न मात्र ४.६ सेकेन्ड लाग्छ । एक्स्टि्रम २०० आर बाइकको अधिकतम गति प्रतिघण्टा १ सय १४ किलोमिटर छ ।
पल्सर एनएस
१६० डबल डिस्क
बजाजको नयाँ बाइक पल्सर एनएस १६० डबल डिस्कमा उपलब्ध १६० सीसीको फोर स्ट्रोक आयलकुल्ड इन्जिनले १५.५ बीएचपी पावर तथा १४.६ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा फाइभ स्पिड म्यानुअल गियरबक्स छ । नयाँ बाइकको टायर साइज पनि पुरानोको तुलनामा मोटो छ । बाइकको अगाडिको पांग्रामा २४० एमएम तथा पछाडिको पांग्रामा २३० एमएमको डिस्क ब्रेक छ । पहिलेको पल्सर एनएस १६० मा कुनै पनि मेकानिकल परिमार्जन नगरिएको यो बाइक तयार पारिएको कम्पनीले जनाएको छ । यसको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।
यामाहा रे जेडआर
स्ट्रिट र्याली एडिसन
यो यामाहाको रे जेडआर स्कुटरको नयाँ भर्सन हो । यसको डिजाइन स्ट्यान्डर्ड मोडल भन्दा बढी स्पोर्टी तथा एग्रेसिभ छ । यसमा भएको नकल गार्डले हावाको झोक्काको असर ह्यान्डल ग्रिपमा सिधा पर्न दिदैन । यसमा भएको बोल्ड न्यू भाइजरले स्कुटरलाई थप स्पोर्टी तथा आकर्षक बनाएको छ । यसमा ११३ सीसी एयरकुल्ड ब्लुकोर इन्जिन छ, जसले ७.१ बीएचपी पावर तथा ८.१ एनएम टर्क प्रदान गर्छ । यसमा सीभीटी गियरबक्स छ । यामाहा रे जेडआर स्ट्रिट र्यालीको बजार मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
टीभीएस एनटर्क
युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको एनटर्क स्कुटर टीभीएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिनयुक्त छ । यसको सुरुवाती मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ छ । यो स्कुटर सेग्मेन्टमै पहिलो डिजिटल कन्सोल प्रयोग गरिएको स्मार्ट स्कुटर हो । टीभीएस एनटर्क १२५ मा न्यू जेनरेसन सिभिटीआइ आरइभिभी १२६.७९ सीसीको सिगंल सिलिन्डर, ४ स्टोर्क, ३ भल्ब एयरकुल्ड इन्जिन छ । यसले ७५०० आरपीएममा ९.४ पिएस तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनरेट गर्छ । यो स्कुटरको लो फ्युल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । यसलाई स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ जसले गर्दा हेल्मेट नलगाई बाहिर निस्कने सम्भावना अत्यन्त न्युन रहन्छ ।
अप्रिलिया एसआर
अप्रिलिया एसआर १२५ सीसीको स्कुटर हो । यो स्कुटरको मूल्य २ लाख ३५ हजार ९ सय रुपैयाँ छ । यसमा फाइभ स्पकेट, १४ इन्च ब्ल्याक एलोई ह्विल तथा ट्युबलेस टायरको प्रयोग गरिएको छ । यसमा उच्चतम ९.९ एनएम टर्क सहित लाम्चो सिट एवं केही उठेको ह्यान्डलले चालकको सुरक्षा र सहजताका लागि ठुलो भुमिका खेल्ने कम्पनीको दाबी छ । एसआर १२५ को टप स्पिड ११० किमि प्रतिघण्टा रेकर्ड गरिएको अप्रिलियाले जनाएको छ ।
भेस्पा भीएक्सएल
भेस्पाका स्कुटर आफ्नो फरक स्टाइलका कारण चर्चित छन् । नेपालमा ती मध्ये पनि भीएक्सएल मोडल बढी लोकप्रिय छ । यसमा १ सय २५ सीसीको थ्री भल्व इन्जिन छ, जसले १०.०६ पीएस पावर र १०.६ एनएम टर्क प्रदान गर्छ । यसमा मोनोकक फुल स्टिल बडी छ, साथमा थ्री फेज इलेक्ट्रिकल सिस्टम तथा अटो इग्निसन छ । यसको अघिल्लो पांग्रामा डिस्क ब्रेक तथा पछिल्लो पांग्रामा ड्रम ब्रेक जडान गरिएको छ । ट्युबलेस टायरयुक्त भेस्पा भीएक्सएल १२५ को मूल्य ३ लाख ९ हजार ९ सय ४६ रुपैयाँ पर्छ ।
होन्डा ग्राजिया
समकालीन सहरी डिजाइनमा आधारित होन्डा ग्राजिया आकर्षक तथा स्टाइलिस छ । यो आधुनिक स्कुटरलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल छ । एलइडी हेडल्याम्प युक्त यो स्कुटरमा १२५ सीसीको इन्जिन जडान गरिएको छ । होन्डा इको टेक्नोलोजीको प्रयोगका कारण यो स्कुटरमा बढी माइलेज र पावर हुनुका साथै १९० एमएम फ्रन्ट डिस्क ब्रेक भएकाले यसलाई आवश्यक समयमा रोक्न सहज छ । यसमा फ्रन्ट ग्लोब बक्स तथा मोबाइल चार्जिङ सकेट समेत हुन्छ । होन्ड ग्राजियाको मूल्य २ लाख १८ हजार ९ सय रुपैयाँसम्म पर्छ ।