नेपालगन्जमा एउटै परिवारका पाँच जनाको हत्याकाण्डको अनुसन्धान हुन्छ त ?’ नेपालगन्ज आउने प्रहरी प्रमुखलाई तेस्र्याइने प्रश्न यही हुन्थ्यो । यद्यपि अब उक्त प्रश्नमा बिराम लागेको छ । १४ वर्षपछि उक्त हत्याकाण्डमाथिको रहस्यको पर्दा खुलेको छ । उक्त घटनामा हेमकार परिवारको तीन पुस्ताको एकै चिहान भएको थियो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेललाई भने यसमा निकै ठूलो सफलता मिलेको छ । उक्त घटनामा संलग्न भनिएका प्रमुख आरोपी पक्राउ परेका छन् । भारत, सीतापुरस्थित प्रियदर्शनी कलोनीरोडका ६४ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरेपछि उक्त घटनाको अनुसन्धानको बाटो खुलेको छ । सोनी पक्राउ परेपछि धेरै आश्चर्यचकित भए । कारण प्रहरीद्वारा पक्राउ गरिएका सोनी हत्या गरिएका दीपक हेमकारका ससुरा हुन् । ‘आफ्नै ज्वाईंसहित तीनपुस्ता सकिने गरी भएको उक्त हत्याकाण्ड आर्थिक प्रलोभनमा परेर घटाइएको रहेछ,’ बाँके प्रहरी प्रमुख एसपी पौडेलले बताए ।
दीपकसँगै उनका हजुरआमा ८२ वर्षीया गुलाबदेबी हेमकार, बुबा ६२ वर्षीय जगदेव हेमकार, आमा ४५ वर्षीया सीतादेवी हेमकार तथा उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिच्चर चौधरीको ०६२ फागुन २३ गते राति घाँटी रेटेर हत्या भएको थियो भने घरमा पालिएको सुगा पनि मारिएको अवस्थामा फेला परेको थियो । घटनापछि सारीको डोरी बनाएर हत्यारा फरार भएको घटनास्थलको प्रकृति मुचल्कामा उल्लेख छ ।
पक्राउ परेका सोनी सुनचाँदी व्यवसायमा संलग्न छन् । दीपक सोनीकी छोरी दीपासँग घटना भएको केही समयअघि वैवाहिक जीवनमा बाँधिएका थिए । घटना हुनुभन्दा केही दिनअघि दीपककी श्रीमती भारत (माइती) गएकी थिइन् । सोनीले आर्थिक प्रलोभनमा परेर ज्वाइँ तथा उनको परिवारका सदस्यहरूको हत्या गरेको प्रहरीको दाबी छ । घटनापछि उनी फरार भएका थिए । यसअघि पनि प्रहरीले सोनी तथा उनकी छोरीलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गरेको थियो । यद्यपि ससुराले आफ्नी छोरीका श्रीमान्को हत्या गर्न सम्भव नभएको अनुमान गरिँदै आएको थियो । छोरीको सुहाग खोसिएको भनेर रोईकराई गर्दै सोनीले राम्रो अनुसन्धानका लागि प्रहरीसमक्ष आग्रहसमेत गरेका थिए ।
घटनाको भोलिपल्ट सोनी बाबु–छोरी नेपालगन्ज आएका थिए । उनीहरू छाती पिटीपिटी रोएको देख्दा जोकोही भावविह्वल भएको छिमेकीहरू बताउँछन् । ‘तर त्यो सबै नाटक रहेछ,’ एसपी पौडेल भन्छन् । ज्वाईंको परिवारको वंश सक्ने गरी हत्या भएको चार महिनापछि सोनी बाबुछोरीले हत्या गरिएका दीपकको चलअचल सम्पत्ति आफ्नो नाममा सारेका थिए । त्यसपछि उनीहरूले नेपालगन्जको सदरलाईनस्थित घर तथा सुनचाँदी पसल बजार मूल्यभन्दा निकै सस्तोमा बिक्री गरे । उक्त घटनापछि भने प्रहरीले हत्यामा सोनी परिवारको हात हुन सक्ने आशंका गर्दै आएको थियो ।
‘१४ वर्षअघि एउटै परिवारका पाँच जनाको हत्याको यो घटना हुँदा म काठमाडौंमा सीबीआईमा थिएँ । मैले पनि उक्त घटनामा चासो लिँदै आएको थिएँ । बाँकेको प्रहरी प्रमुख भएर आएपछि पुरानो फाइल खोलें,’ एसपी पौडेलले भने,‘मुख्य आरोपीको पहिचान भएपछि उसलाई पक्राउसमेत गर्न सफल भएका छौँ । उक्त घटनामा संलग्न ब्यक्तिहरूको पहिचानका लागि अनुसन्धानको दायरा फराकिलो पारिएको प्रहरीले जनाएको छ ।
हेमकार हत्याको आरोपमा प्रहरीले सोनीलाई नेपागन्जको जमुनाहाबाट पक्राउ गरेको हो । उनी नेपालगन्ज आईरहेको सूचना पाएपछि प्रहरी परिचालन गरिएको थियो । प्रहरीका अनुसार हेमकार परिवारका सबै सदस्यको धारिलो हतियारले घाँटीको रुद्रघण्टी काटेर हत्या गरिएको थियो । उनीहरू जुन स्थानमा सुतेका थिए त्यही स्थानमै हत्या भएको थियो । घटना भएको केही समयमै सस्तोमा घरजग्गा बिक्री गरेपछि प्रहरीले ससुरालाई केन्द्र बनाएर अनुसन्धान थालेको थियो ।
उक्त हत्याकाण्डपछि पनि सोनीले नेपालगन्ज आउजाउ गर्न छाडेका थिएनन् । ज्वाईंको हत्यापछि उनी घरजग्गा आफ्नो छोरीको नाममा नामसारी गर्न हतारिए । सस्तोमा घरजग्गा बिक्री गरेपछि प्रहरीले उनलाई लक्षित गरी अनुसन्धान थाल्यो । दीपकका दाईभाईबीच अंशबन्डा भैसकेका कारण चलअचल सम्पत्ति पत्नीको नाममा नामसारी भयो । कसैले हकदाबी गर्न पाउने कुरै भएन । लाखौंको सुन सोनीले नै पाए । सम्पत्ति बिक्रीपछि दीपककी श्रीमति भारत माईतीमै फर्किइन् । त्यसपछि उनी नेपालगन्ज आएकी छैनन् ।
परिवार नै सखाप पार्ने गरी २०६२ फागुन २३ गते मध्यरातमा भएको सदरलाइन नेपालगन्जको सामूहिक हत्यामा ससुराली पक्षको संलग्नता रहेको आरोप लगाउँदै दीपकका काका बलराम हेमकारले सम्पत्ति हडप्न अपराधीले हत्या गरेको दाबी गरेका थिए । उनले किटानी जाहेरी दिंदै भतिजा दीपकको परिवार सखाप पार्नमा किशोरीलाल सोनीको हात रहेको उल्लेख गरेका थिए । यद्यपि किशोरीलाललाई अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी अधिकारीहरूले आर्थिक मिलेमतोमा फुत्काएको आरोप आफन्तहरूको छ । हेमकार परिवारको करिब ५ करोड पर्ने सम्पत्ति त्यतिबेला ६५ लाखमा बेचिएको थियो । करोडौंको सम्पत्ति हडप्न उनको विवाह नै योजनाबद्ध रूपमा गरिएको दाबी आफन्तहरूको छ ।