साप्ताहिक संवाददाता
अमेरिकामा प्रतिवर्ष १ लाख शिशु कोकिनको लतसहित जन्मन्छन् । त्यसको कारण उनीहरूकी आमाले गर्भावस्थामा कोकिन सेवन गर्नु हो । सुटिङका अधिकांश खेलाडी खेलका बेला आफ्नो मनस्थितिलाई स्थिर तथा मुुटुको चाल सुस्त राख्न कोकिन सेवन गर्छन् ।
प्राचीन रोममा सालेमा पोर्गी प्रजातिको माछालाई सामन्तहरूले लागूपदार्थका रूपमा प्रयोग गर्थे । ३१ प्रतिशतभन्दा बढी रकस्टार/गायक तथा कलाकारहरूको मृत्युको कारण लागूपदार्थ हुने गरेको छ ।
कोलम्बियाले बर्सेनि १० अर्ब डलरबराबरको लागूऔषधको कारोबार गर्छ, जुन त्यहाँको कुल वैदेशिक निर्यातको २५ प्रतिशत हो । विश्व जनसंख्याको ५ प्रतिशत जनता बसोबास गर्ने अमेरिकामा मात्र संसारभर खपत हुने गाँजाको ७५ प्रतिशत अंश खपत हुन्छ । त्यस्तो खपतका पछाडि चिकित्सकीय परामर्शलाई जिम्मेवार मानिएको छ ।
कोलम्बिया, इक्वेडर, पेरू, स्पेन, नेदरल्यान्ड्स, उत्तर कोरिया, उरुग्वे तथा अमेरिकाका कोलोराडो, वासिंगटन, ओरेगन एवं अलास्का राज्यमा वैधानिक रूपमै गाँजा
खेती गरिन्छ ।
४४ प्रतिशत अमेरिकीले जीवनमा एकपटक गाँजाको सेवन गरेकै हुन्छन् भने जीवनमा एकपटक गाँजा सेवन गर्ने क्यानेडियनहरूको संख्या १२ प्रतिशतभन्दा बढी छ । २ करोड २२ लाख अमेरिकी नियमित रूपमा गाँजा प्रयोग गर्छन् ।
चिनियाँ औषधी विज्ञानले अहिले पनि मलेरिया, बाथ तथा महिलाहरूको प्रसवसम्बन्धी व्यथामा प्रयोग हुने औषधी गाँजाबाटै बनाउँछ । ६ हजार वर्ष पहिले सिन्धुघाटी सभ्यताकालदेखि नै तेल, कपडाको रेशा तथा कागज बनाउन गाँजाको गेडा तथा बोट प्रयोग हुँदै आएको छ ।
मानिसले खेती सुरु गरेको पुराना वनस्पतिहरूमध्ये गाँजा पहिलो मानिन्छ । आजभोलि प्रयोग हुने लागूऔषधको सबैभन्दा ठूलो स्रोत गाँजाको बोट नै हो ।