भारतबाट नेपाल भित्रिने खैरो हिरोइनका सप्लायर्स भारतीय नागरिक दशगजा नजिक पक्राउ परेका छन् । पक्राउ गरिएका भारत उत्तरप्रदेश, बहराइच जिल्ला मोतीपुर थाना ग्राम मिहीपुरुवाका करिब २५ वर्षिय बिमलेश कुमार हरिजनलाई प्रहरीले सार्वजनिक गरेको छ ।
हरिजनबाट ३० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । उक्त हिरोइनको बजार मूल्य करिब २ लाख रुपैयाँ भएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए । जिल्लाको मधुवन नगरपालिका–७ सँग जोडिएको निशानगाढा हँुदै आइरहेको अवस्थामा हरिजनलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध लागूऔषध अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको छ ।
लागूऔषध ओसारपसार ऐन, ०३२ अन्तर्गत दफा १५ को उपदफा १ को ६(३) बमोजिम २५ ग्राम देखि १ सय ग्रामसम्म १० देखि १५ वर्ष कैद तथा १ लाख रुपैयाँ जरिवाना हुने प्रावधान छ । मधुवनमा लागूऔषधको खरिद–बिक्री एवं सेवनकर्ता बढेपछि प्रहरीले त्यहाँ विशेष अप्रेसन चलाएको छ । यसै गरी ईलाका प्रहरी राजापुरले अघिल्लो सोमबार २ सय ३९ थान प्रतिबन्धित लागूऔषध नाइट्रोभेटसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका राजापुर नपा–१ का आनन्द सोनाहा, ऋषिराम थारु तथा ज्ञानु सोनाहा रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए । लागूऔषधको कारोवारका लागि बर्दिया ट्रान्जिट प्वाइन्ट बन्दै गएपछि प्रहरीले विशेष अप्रेसन चलाएको भारतीले जानकारी दिए ।
एक महिना यता मधुवन नगरपालिका–८ श्रीनगर बस्तीमा पाँच जना लागूऔषध खरिद बिक्री गरिरहेका अभियुक्तलाई पक्राउ गरिएको थियो । २२ वर्षीय मुकेश तिरुवा, सोही नपाका २२ वर्षीय मुकेश चौधरी, २५ वर्षीय चेतन भनिने निकेश विक, २० वर्षीय कृष्णबहादुर रामजाली तथा १८ वर्षीय प्रकाश गौतमलाई लागूऔषध ब्राउन सुगर बेचबिखन गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए । पक्राउ परेका तिरुवाबाट ५ सय ग्राम ब्राउन सुगर, चौधरीबाट ५५ ग्राम तथा विकबाट १५ हजार रुपैयाँ नगद फेला परेको थियो ।
प्रहरीले सोही अवधीमा गुलरिया, मधुवनलगायतका ठाउँबाट १८ जना लागूऔषध सेवनकर्तालाई समेत पक्राउ गरि सुध्रिन मौका दिँदै अभिभावकको जिम्मा लगाएको मैनालीले बताए । जिल्लास्थित केही पान पसलमा लागूऔषधको कारोबार बढ्दै गएको स्थानीय बासिन्दाहरूको आरोप छ । प्रहरीले लागूऔषध बेचबिखन गर्न लागेको अवस्थामा एक पसल धनीलाई पक्राउ गरेपछि उक्त खुलासा भएको हो । प्रहरीले गुलरिया—८ आशापुरस्थित एक विद्यालय नजिकै घुम्ती पसल भएका एक व्यक्तिलाई लागूऔषध नाइट्रागेट ८० थान ट्याबलेट तथा इल्टुरेक्स १६ थान बोतलसहित पक्राउ गरेको थियो । उनले नेपालमा प्रतिबन्धित लागूऔषध भारतीय सीमाबाट खरिद गरी विगत लामो समयदेखि बेचबिखन गर्दै आएका थिए । प्रहरीका अनुसार ती लागूऔषध स्कूले विद्यार्थीहरूलाई बेचिएको अनुसन्धानमा देखिएको छ ।
गत वर्ष पनि प्रहरीले मधुवन नगरपालिका–८ का २७ वर्षीय आकाश गुरुङलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनीजस्तै कैलाली टीकापुर—१ का विशाल गिरीलाई प्रहरीले लागूऔषधका १ सय ४ ट्याबलेटसहित पक्राउ गरेको थियो । पक्राउ परेका गिरीलाई अहिले अदालतको निर्णयअनुसार पुर्पक्षका लागि थुनामा राखिएको छ । गुरुङ र अधिकारी मात्र होइन भारतीय नागरिक मोतीपुर थाना लौकाहीका सञ्जन खान, आजाद खान तथा इस्लाम खानसमेत लागूऔषध चरेससहित पक्राउ परी कारगारमा सजाय भोगिरहेका छन् । प्रहरीले आर्थिक वर्ष ०७३/७४ मा लागूऔषधका सेवनकर्ता तथा बेचबिखनमा संलग्न १४ जनालाई पक्राउ गरेको थियो । यसरी प्रक्राउ पर्नेहरूको संख्या ०७४/७५ मा बढेर २७ पुगेको थियो ।
अधिकांश लागूऔषधका सेवनकर्ता र बेचबिखनमा संलग्नहरू १८ देखि ४० वर्ष मुनिका छन् । सेवनकर्तामा अधिकांश विद्यार्थी रहेको प्रहरी बताउँछ । जिल्लामा कडाइ भएका कारण भारतीय सीमा नाका मिहींपुरुवा, बलैगाउँ र रुपैडिहामा खुलेआम लागूऔषध खरिद बिक्री हुने गरेको छ । नेपालमा प्रतिबन्धित लागूऔषध भारतमा खुलेआम पाइन्छ । लागूऔषध सेवनकर्ता अधिकांश दशगजा क्षेत्र, बसपार्क, होटल तथा एकान्तमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध विरुद्ध कडाइ गरेपछि लतमा लागेका केही युवक त्यसको सेवनका लागि दिनहुँ भारतीय सीमावर्ती क्षेत्रमा पुग्ने गरेका छन् । भारतीय सिमाक्षेत्रका बजारमा सहजै पाइने लागूऔषध बर्दिया भित्रिन थालेपछि सेवनकर्ताको संख्या पनि बढ्दै गएको छ । गुलरिया, बढैयाताल, मधुवन आदि क्षेत्रमा दर्जनौं युवायुवती लागूऔषधको सेवनमा फसेको प्रहरीको दाबी छ । अधिकांश युवायुवती सम्पन्न घरपरिवारका सदस्य भएको प्रहरीले जनाएको छ । भारतीय बजारमा प्रति १ मिलिग्राम १ हजारमा पाइने ब्राउन सुगर नेपाली सीमावर्ती क्षेत्रमा ३ देखि ५ हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको पक्राउ परेकाहरूले प्रहरीलाई बताएका छन् । भारतको सिमावर्ती मिहिपुरुवा, बलैगाउ, सलारपुर, लौकाही तथा रुपैडियाबाट ब्राउन सुगर भित्रिन थालेपछि प्रहरीले जिल्ला सँग जोडिएको सिमामा कडाइ गरेको छ । प्रहरीले गएको साउनको अन्तिम साता यता लागूऔषधसम्बन्धी १० वटा मुद्दा अदालतमा दायर गरेको छ । यसै गरि १ सय ५० जना सेवनकर्तालाई पक्राउ गरी अभिभावकलाई बुझाइएको छ ।