
यौनको मामिलामा नेपाली समाज अझै पनि खुला हुन सकेको छैन । बदलिँदो परिस्थितिसँगै उदार भने हुन खोजिरहेको छ । भलै लुकिछिपी खोजी–खोजी यौन सामग्री प्रयोग गरे पनि समाजको अगाडि भने सज्जन अथवा साधु बन्नेहरूको कुनै कमी छैन अथवा त्यस्तो बाध्यता कायमै छ । यही प्रसङ्गमा नेपालका शहरी क्षेत्रमा विगत केही समयदेखि यौन खेलौना उपलब्ध हुन थाले पनि त्यसलाई सहजताका साथ लिन सकिएको छैन ।
त्यसो त यौन खेलौना यौन आनन्द एवं मनोरञ्जनका लागि प्रयोग गरिने कृत्रिम यौनाङ्ग हुन् । यौन चाहना बढेका बेला विपरीतलिङ्गी तथा समलिङ्गीको अभावमा आफ्नो स्वभाव अनुसार यी खेलौना प्रयोग गरी यौन आनन्द लिन सकिन्छ । परिष्कृत तथा आधुनिक यौन खेलौनाको उपयोगबाट वास्तविक जस्तै यौन सुख लिन सकिने भुक्तभोगीहरूको अनुभव छ ।
बढ्दो सहरीकरण तथा व्यस्त जीवन, सहरी भागदौड, करियर निर्माण, ढिलो विवाह गर्ने परिपाटी आदिका कारण यौनसुखबाट विमुख हुनुपर्ने क्रम बढ्दो छ । उमेरअनुसारको यौन चाहनालाई जबर्जस्ती दबाउन खोजेको खण्डमा मानसिक समस्या निम्तिन बेर लाग्दैन । यस्तो स्थितिमा कुनै पनि लिंगका व्यक्तिले यौन खेलौना उपयोग गरी सुख प्राप्त गर्न सक्छन् । तुलनात्मक रूपमा युवती तथा महिलाहरूले आफ्नो चाहना सहजै प्रकट गर्न सक्ने स्थिति छैन । यस्तोमा यस्ता खेलौना राम्रो विकल्प सावित हुनसक्छन् । यस्ता सामग्री विक्रेताहरूका अनुसार नेपालमै पनि यौन खेलौनाप्रति महिला नै बढी आकर्षित छन् ।
त्यसै पनि विवाहपूर्वको यौनसम्बन्धलाई अस्वीकार गर्ने समाजमा यौन खेलौना उपयोगी साबित हुनसक्छ । साइबर तथा केबलका माध्यमबाट यौन सामग्रीमा आममानिस विशेषत: युवा जमातको पहुँच बढेसँगै विभिन्न खालका यौन हिंसा बढ्दो क्रममा छ । यौन दुराचार, यौन दुव्र्यवहार, बलात्कार तथा यौन अपराध यौन हिंसाका विविध रुप हुन् । यौन चाहनालाई शान्त तुल्याउन नसक्दा निम्तिने विभिन्न खालका अपराधबाट जोगिन यौन खेलौना उत्तम विकल्प सावित हुन सक्छन् ।
श्रीमान तथा आफ्ना प्रेमी विदेशिएका कारण लामो समयसम्मको यौन चाहना तथा नीलो चलचित्र (पोर्नोग्राफी) को देखासिकीका कारण पनि यौन खेलौनाको प्रयोग बढ्दो छ । त्यसो त लिङ्ग उत्तेजित नहुने, स्खलन नहुने, चरम आनन्द प्राप्त गर्न नसक्ने जस्ता कतिपय समस्यामा पनि यस्ता खेलौनाले सहायक भूमिका निर्वाह गर्न सक्छन् । यौनसम्पर्कका क्रममा दम्पती एवं यौनसाथीमध्ये एकजनाले चरम आनन्द लिन नसक्दा पनि यी खेलौना प्रयोग गर्न सकिन्छ ।
महिला हुन् वा पुरुष यौन उत्कर्षपछि यौन शिथिलता आउने तथा यौन भोक हटने परिस्थितिमा समेत यौन खेलौना सही विकल्प सावित हुनसक्छ । तुलनात्मक रुपमा यौन खेलौना केही महँगा होलान् तर यौन हिंसापछिको मूल्य चुकाउनुभन्दा यौन खेलौनाको उपयोग नै बुद्धिमानी हुन्छ । कतिपय सामानजस्तै आफ्नो यौन खेलौना आफूले मात्र प्रयोग गरेको खण्डमा यौनजन्य संक्रमणको डर पनि हुँदैन । यद्यपि लागूपदार्थका दुव्र्यसनीले जस्तै यौन खेलौना एक–अर्कासँग सेयर गरे विभिन्न खाले यौन रोग सर्न सक्ने सम्भावना हुन्छ । यसमा विशेष सजग हुन आवश्यक छ ।
आवेशमा आई असुरक्षित यौनसम्पर्क कायम गर्नु, यौन रोगको सिकार हुनु तथा यौन अपराधको अभियोगमा सजाय भोग्नु भन्दा यौन खेलौनाबाट यौन सुख लिनु बढी श्रेयस्कर हुन्छ । त्यसो त सबैजसो यौन खेलौना स्वास्थ्यमैत्री पनि हुँदैनन् । गुणस्तरहीन यौन खेलौनाका कारण छालाको समस्या निम्तिने तथा यसको गलत प्रयोगबाट यौनाङ्गमा चोट पुग्ने आदिसमेत हुनसक्छ ।