साप्ताहिक संवाददाता
फ्रेन्च र तिब्बेतीयन भाषा सिक्ने
मलाई फ्रेन्च र तिब्बेतीयन भाषा सिक्न एकदमै रहर छ । त्यसो त मैले दुवै भाषा सिक्ने क्लास समेत ज्वाइन गरें, तर व्यस्तताले गर्दा तिब्बेतीयन भाषा एक महिना र फ्रेन्च भाषा तीन महिनामात्र सिक्न भ्याएँ । अलिअलि त बुझ्छु तर पूरै आउँदैन ।
साइन्स पढ्न
एसएलसी उत्तीर्ण भएपछि प्लस टुमा साइन्स पढ्ने ठूलो रहर थियो । मैले कक्षा ९ र १० मा पनि अतिरिक्त गणित लिएर अध्ययन गरेकी थिएँ । एसएलसीमा गणितमै कम नम्बर आएका कारण मैले साइन्स पढ्न पाइनँ ।
गितार बजाउन
मैले जीवनमा चाहेर पनि गर्न नसकेको काममध्ये एक हो— गितार बजाउने । मलाई गितार सिक्न एकदमै मन छ । मिडियामा आउनुभन्दा पहिले गितारको क्लास लिइरहेकी थिएँ । त्यही क्रममा फिल्म सुरु भयो, जसले गर्दा त्यसलाई निरन्तरता दिन सकिन । फेरि बीचमा एकपटक सिक्न खोजेकी थिएँ त्यतिबेला पनि फिल्मकै कारणले बीचमै रोकिनुपर्यो, जसले गर्दा मेरो गितार बजाउन सिक्ने सपना अधुरै भयो ।
बञ्जी जम्प गर्न
मलाई उचाइदेखि एकदमै डर लाग्छ । मानिसलाई जुन कुरादेखि डर लाग्छ त्यसलाई आँट गरेर गर्यो भने सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइ छ । त्यही भनाइलाई पछ्याएर म पनि धेरै पटक बञ्जी जम्पिङ गर्न भनेर भोटेकोसी पुगें, तर डर लागेर त्यसै फर्किएँ । मैले जीवनमा गर्न नसकेको काममध्ये एउटा बञ्जी जम्पिङ पनि हो ।