
मानिसको स्वभाव नयाँ तथा नौला कुराको परीक्षण एवं अनुभव गर्नु हो । असामान्य यौन क्रियाकलापलाई चिकित्सकीय भाषामा प्याराफिलिया भनिन्छ । प्याराफिलियाका क्रममा विशेषत: पुरुषले पशुसँग पनि करणी गरेको समाचार बेलाबखत चर्चामा आउँछ । प्याराफिलियाबाट आक्रान्त पुरुषले पटक–पटक यस्तो व्यवहार दोहोर्याइरहन्छ । यस्तै कार्यबाट यौन आनन्द प्राप्त गर्ने प्रयास गर्छ ।
पशु करणीका क्रममा प्राय: कुकुर, घोडा प्रयोग गरिए पनि त्यसका अतिरिक्त बाख्रा, बिरालो, सुँगुर, गाई, गधा आदि घर पालुवा जनावरलाई समेत प्रयोग गरिएको पाइन्छ । कतिपयले घरेलु पन्छी तथा विषविहीन सर्पलाई पनि यौनिक क्रियाकलापमा प्रयोग गरेको पाइन्छ । मानिसले जनावर (पशु) सँग गरिएको यौन व्यवहारलाई जुफिलिया, बेस्टियालिटी वा जु सेक्सुआलिटी पनि भनिन्छ । यस क्रममा पशुयोनिमा यौन सम्पर्कका अतिरिक्त योनिमुख मैथुन, जनावरको हस्तमैथुन गरिदिने आदि काम गरिन्छ । यौनिक दृष्टिले पशुलाई आलिंगन गर्ने, सँगै सुत्ने, ख्याल ठट्टा गर्नेहरूको संख्या अझ उल्लेख्य छ ।
जिज्ञासु स्वभाव, यौन अतृप्ति, यौनकार्यको अभाव तथा मानसिक विचलनका कारण मानिसले पशुकरणी गरेको पाइन्छ । यस्तो लत बस्नमा गोठाला जाने बानी, एकान्त वातावरण एवं व्यक्ति विशेषको यौनिक अनियन्त्रणले समेत सघाउ पुर्याउँछ । त्यसैले पनि गाउँले परिवेशमा यो समस्या तुलनात्मक रूपमा बढी पाइएको छ । पशु विशेष प्रतिको आत्मीयता, पीडा दिन चाहनेसम्मको घृणाले पनि मानिस पशुकरणीतर्फ प्रेरित भएको पाइन्छ ।
एक अध्ययन अनुसार करिब ५ देखि ७ प्रतिशत मानिसले यस्तो वैकल्पिक यौन व्यवहार गरेको देखिन्छ । यौनको मामिलामा संकुचित समाज तथा वास्तविकता उजागर गरि नहाल्ने नेपालमा यसको व्यापकता ठम्याउन गाह्रो छ । सामान्यत: लतभन्दा पनि नौलो अनुभवका लागि पशुसँग यौन सम्बन्ध राखिएको पाइन्छ ।
मनोरञ्जन तथा लतका हिसाबले पशुकरणी गरिसकेपछि भने कुनै रोग लाग्ला कि भन्ने चिन्ताले पिरोल्छ । जनावरबाट मानिसमा सर्ने कतिपय संक्रमण यस्ता यौन क्रियाकलापका दौरान सर्न सक्छन् । पशुसँगको यौनसम्पर्कबाहेक प्रत्यक्ष सम्पर्क वा लसपसबाट पनि कतिपय रोग सर्न सक्छ । वीर्य, योनिरस वा पिसाबबाट ब्रुसेलोसिस, क्यू फिभर, लेप्टोस्पाइरोसिसजस्ता रोग सर्न सक्छन् भने थुकको सम्पर्कले रेबिजजस्तो घातक रोग लाग्न सक्छ । त्यसैगरी दिसाबाट हाइडेटाइड, कोम्पाइलोव्याक्टर, जियारडिया, साल्मोनेल्ला, टोक्सोकारियासिस आदि संक्रामक रोग लाग्न सक्छ । एलर्जी हुने एवं छालाजन्य रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
पशुसँगको करणीका क्रममा जनावरले चिथोर्ने, कोपर्ने लगायत चोट पुर्याउने काम हुन सक्छ, तर पनि जनावरभित्र मानिसमा जस्तो उपयुक्त वातावरण नहुने हुनाले एचआईभी सर्ने तथा गर्भ रहने समस्या भने हुँदैन । केही समय पछि विशेषत: यौन सम्पर्कको नियमित उपलब्धतापछि पशुकरणीको बानी छुट्छ । विवाहपश्चात् वा विपरित लिंगीसँगै यौनसम्पर्कको अवसर हुँदाहुँदै पनि कसैले पशुकरणीलाई निरन्तर दिन्छ भने त्यो मनोरोग हुनसक्छ । त्यसले दाम्पत्य जीवनमै खलल पुर्याउनुका साथै मानसिक तनाव सिर्जनासमेत गर्छ ।