साप्ताहिक संवाददाता
आफ्नो गाउँको पर्यटकीय सम्भावना उजागर गर्ने अवधारणामा वि विल राइज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुगोस् भन्ने अभिप्रायले फाउण्डेसनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो ।
भिडियो निर्माताहरूले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभूषा, खानपान, कला आदि जुनसुकै विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्छन् । अहिले पर्यटकहरूको अत्याधिक आवागमन हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गर्न सके त्यस्ता भिडियो पनि प्रतियोगितामा समावेश हुनसक्छ ।
आयोजक फाउण्डेसनका अनुसार कुनै पनि भिडियो निर्माताले आफूसँग भएको स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो खिचेर समेत यो प्रतियोगितामा सहभागिता जनाउन सक्छन् भने त्योभन्दा बढी गुणस्तरको भिडियो पनि मान्य हुनेछ । अधिकतम ५ मिनेटको उक्त भिडियोको सबै पक्षको उत्कृष्टताको निर्णय निर्णयकहरूको उच्चस्तरीय समिति तथा सामाजिक सञ्जालहरूको लाइकका आधारमा हुनेछ ।
वि विल राइजले दिइएको जानकारी अनुसार भिडियो निर्माताले आफूलाई मन परेको विषयमा फाउण्डेसनको आधिकारीक वेबसाइट डब्लूडब्लूआरएफ डट ओआरजी डट एनपी wwrf.org.np मा गएर जानकारी गराउनु पर्नेछ । निर्णायकहरूबाट चयन भएका उत्कृष्ट भिडियोलाई फाउण्डेसनको युट्युब च्यानल, फेसबुक पेजमा राखेर प्रचार–प्रसार गरिनेछ ।
यसमा सर्वाधिक लाईक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाइस एवार्ड’ प्रदान गरिनेछ । निर्णायक समितिले भने उत्कृष्ट भिडियोको निर्णय गर्नेछन् । दुवै विधामा पहिलो हुने भिडियोले १–१ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यो प्रतिस्पर्धा अप्रिल महिनाभित्र सम्पन्न गरिने फाउण्डेसनले जनाएको छ ।