माघ २७ गते सरस्वती पूजाको दिन सीमावर्ती भारतीय सहर रक्सौल नजिक रेल्वे लिकमा पर्साका दुई किशोरीको शव भेटियो । वीरगन्ज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत पर्साको कालिकामाई गाउँपालिका–६ का हरिकिशोर प्रसाद चौरसियाकी १८ वर्षीया छोरी किरण र सोही गाउँपालिका–२ का राजेश्वर साह कलवारकी १८ वर्षीया छोरी निभाको शव रेलले काटिएको अवस्थामा फेला परेको थियो । मृतक दुवै किशोरी वीरगन्ज महानगर–१० रानिघाटस्थित बचन राउत बरैको घरमा डेरा गरी एउटै कोठामा बस्थे । सामाजिक सन्जालमा यो घटना क्षणभरमै भाइरल भयो । भारतीय सिमानामा घटना भएकाले नेपाल प्रहरी सोझै घटनास्थलमा पुग्न सकेन । किरणको टाउको रेलको चक्काले काटिएको थियो भने निभाको देब्रे खुटुटा मात्र काटिएको थियो । घटनास्थलमा न त सडक छ, न मानव बस्ती छ । त्यहाँ रेल्वेको कुनै फाटक पनि छैन । किशोरीहरू त्यहाँ कसरी पुगे भनि चर्चा–परिचर्चा पनि चलिरहेको छ । धेरैले यो घटनालाई पत्याउन नसक्ने भनी टीका–टिप्पणी गरिरहेकै अवस्थामा घटनाको भोलिपल्ट मृतक किशोरीहरूको डेराबाट प्रहरीले एउटा सुसाइड नोट फेला पारेको थियो ।
‘निभा र किरण’ लेखिएको सुसाइड नोटसँग गुलाफको फुल र महिला घडी पनि राखिएको अवस्थामा फेला परेको थियो । प्रहरीले किरणकै हस्तलिखित तथा उनकै हरियो रंगको डायरीमा सुसाइड नोट लेखिएको बताएको छ । आधा डायरीमा माया प्रेमसम्बन्धी शायरी लेखिएको छ भने त्यसको अन्त्यमा रातो रंगको डट पेनले सुसाइड नोट लेखिएको छ । प्रहरीले संचारकर्मीलाई सुसाइड नोटको तस्विर खिच्न दिएको छैन ।
सुसाइड नोट किरणकै डायरीमा लेखिएकाले उनले नै लेखेको अनुमान गरिएको छ, तर नोटको अन्तिममा ‘एन प्लस के’ लेखिएकाले दुवै किशोरीले सँगै बसेर लेखेको हुन सक्ने संकेत मिल्छ । सुसाइड नोट हिन्दी भाषामा लेखिएको छ । जसमा भनिएको छ– ‘हामी अब यो संसारमा बाँच्न पाउँदैनौ, हामी जुन निर्णयमा पुगेका छौ, त्यसको रहस्य हामी मात्र जान्दछौं, बाँच्ने अब कुनै अर्थ रहेन, ममी बुवा हजुरहरूले कसैलाई शंका–उपशंका नगर्नु होला, हजुरहरूको सपना हामीले पूरा गर्न पाएनौं, आई लभ यू ममी पापा, एन प्लस के ।’
अन्त्यमा ठूलो अक्षरमा अंग्रेजीमा लेखिएको छ, ‘सो सरी आई लभ यू ममी–पापा, एन प्लस के’ । मृतकमध्ये किरणको विवाहको टिकोटालोको मिति तय भएको थियो । फागुन ८ गते भारत बिहार रामनगरका केटासँग उनको छेका (टीकाटालो) हुने मिति तय भएको थियो । छेकाभन्दा ९ दिन पहिले किरणको मुत्यु हुनुले उनी विवाह गर्न राजी नभएको, अनन्य साथी निभासँग छुट्टिनुपर्दाको पिडा वा अन्य कारण हुन सक्ने अनुमान गरिएको छ । निभा र किरणमध्ये किरणसँग मात्र मोबाइल थियो । एउटै गाउँपालिकाका भए पनि उनीहरू फरक–फरक गाउँका थिए । किरण हरिहरपुरकी थिइन् भने निभा भेडियारीकी । दुवैको भेट सुकई साह मावि भेडियारीमा भएको थियो । त्यहाँबाट उनीहरूले गत वर्ष एसएसई परीक्षा उत्तीर्ण गरेका थिए ।
निभा वीरगन्जको वीरगन्ज पब्लिक कलेजमा पढ्थिन् भने किरण सत्यम् पब्लिक कलेज श्रीपुरमा पढ्थिन् । उनीहरूको कोठामा अन्य दुई छात्रा पनि बस्थे, तर उनीहरू आत्महत्या गर्ने हदसम्मै पुगेको विषयमा कसैले कुनै जानकारी पाएका थिएनन् । किरण र निभाको मित्रता अत्यन्त घनिष्ठ थियो । घटनाको दिन बिहान साढे ६ बजे डेराबाट बाहिरिएका उनीहरूमध्ये किरणले घरको नम्बरमा फोन गरेर आफूहरू सरस्वती पूजा गर्न घरबाट निस्किएको जानकारी अभिभावकलाई गराएकी थिइन् ।
भारतीय प्रहरीले पर्सा प्रहरीलाई मृतक किशोरीहरूको पोस्टमार्टम रिपोर्टबारे केही जानकारी दिएको छैन ।
प्रहरी उपरीक्षक रेवती ढकाल दुवै किशोरीको सुसाइड नोट नै फेला परिसकेकाले यो घटनामा धेरै शंका–उपशंका गर्ने स्थान नरहेको बताउँछन् । मृतक दुवै किशोरीको हदैसम्मको भावनात्मक सम्बन्ध देखिएको र एक–अर्कासँग छुट्टिनु पर्दाको पीडा उनीहरूले सहन नसकेको हो कि भन्ने अनुमान गरिएको छ । ‘कोठाको ताल्चा फोरेर हेर्दा ओछ्यानमा सहजै फेला पर्ने गरी सुसाइड नोट राखिएको थियो,’ उनले भने, ‘साथमा गुलाफको फूल र महिला घडी पनि थियो, घडी किरणको विवाह हुने केटा पक्षले दिएको हुन
सक्ने अनुमान गरिएको छ, गुलाफ पनि पसलबाट किनेर ल्याएको जस्तो देखिन्छ, यसरी योजनाबद्ध रूपले आत्महत्या गरिएको जस्तो देखिन्छ ।’ घटनाको अनुसन्धान गरी रहेको भारतीय पक्षबाट हाल सम्म धेरै सूचना आई नसकेको उनले बताए । ‘यो घटनामा हाम्रो मुख्य चासो, किशोरीहरूको अपरहण वा हत्या गरेर त्यहा फालिएको हो वा होइन भन्ने मात्र हो,’ उनले भने, ‘यी सूचना भारतीय प्रहरीबाट आएको छैन, घटनास्थल हेर्दा पनि आत्महत्याको सम्भावना बढी देखिन्छ ।’
यो घटनाले अभिभावकले आफ्ना छोराछोरी कहा जान्छन् र के गर्छन् जस्ता कुराको चासो पनि राख्नु पर्ने सन्देश दिएको प्रहरी उपरीक्षक ढकाल बताउँछन् । ‘आफ्ना छोराछोरीलाई अध्ययनका लागि पठाए पनि आफ्नो जिम्मेवारी पूरा भयो भनि अभिभावक ढुक्क भएर बस्नु हुँदैन भन्ने सन्देश यो घटनाले दिएको छ,’ उनले भने, ‘आफ्ना छोराछोरी कहाँ जान्छन्, के गर्छन्, कस्तो संगतमा छन् जस्ता कुराको हेक्का पनि अभिभावकले राख्न जरुरी छ ।’