साप्ताहिक संवाददाता
फाल्गुन ३०, २०७५
बेलायतको लण्डनमा बसोबास गर्ने डेब्रा गोडार्ड अस्वाभाविक रुपमा करोडपति भएकी छिन् । घटनाअनुसार गोडार्डसँग विगत ३० वर्षदेखि एउटा सुनको औंठी थियो । जसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो । उक्त औंठी गोडार्डकी आमाले सेलमा १० पाउन्डमा किनेकी थिइन् ।
अहिले तिनै आमा बिरामी भएपछि गोडार्ड उक्त औंठी बेच्ने मनसायले गहना पसल पुगिन् । गहना पसलेले उक्त औंठीमा भएको पत्थर सामान्य काँच नभएर बहुमूल्य हीरा भएको बताउँदै त्यसलाई लिलामीमार्फत बिक्री गर्न सुझाव दिए ।
गहना पसलेको सुझावअनुसार गोडार्ड सामान लिलाम गर्ने केन्द्रमा पुगिन्, जहाँ उनको औंठीमा जडान गरिएको हीराले ७ लाख ४० हजार पाउन्ड प्राप्त गर्यो । यति धेरै पैसा आएपछि अहिले यी आमा–छोरी अभावग्रस्त जीवनबाट मुक्त भएका छन् ।