आर्थिक वर्ष ०७४/७५ को जिल्ला अदालत मोरङको तथ्यांक हेर्ने हो भने २ सय ६ जना विदेशी नागरिक विभिन्न अपराधिक कर्ममा संलग्न देखिन्छन् । उनीहरूमध्ये केहीको हकमा अदालतबाट फैसला समेत आइसकेको छ, जसमध्ये ९ जना विदेशी नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरी अदालतमा उपस्थिति गराएको छ भने अझै १ सय ९७ जना विदेशी नागरिक फरार सूचीमा रहेको जिल्ला अदालत मोरङका स्रेस्तेदार इश्वरमणि ओझा बताउँछन् ।
एक भारतीय नागरिकले २०५७ सालमा विराटनगरका भोलाप्रसाद साहको विराटनगरस्थित उनकै छाला फ्याक्ट्री अगाडि गोली प्रहार गरी हत्या गरे । प्रहरी अनुसन्धानपछि साहको हत्या गर्ने भारतीय नागरिक मोहमद मुन्नाको पहिचान भयो । त्यसलगत्तै उनलाई पक्राउ गर्न प्रहरी लागिपर्यो, तर साहको हत्या गर्ने मुन्ना भारतीय नागरिक भएकाले उतै फरार भए ।
नेपाली भूमिमा आएर हत्या गरेको झन्डै दुई दशकपछि प्रहरीले उनलाई भारतीय भूमिबाटै पक्राउ गर्यो । हत्या गरेको १८ वर्षपछि इलाका प्रहरी कार्यालय रानी विराटनगरका तत्कालिन प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले साहको हत्या गर्ने मुन्नालाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती बजार जोगबनीबाट पक्राउ गरेका थिए ।
कर्तव्य ज्यान मुद्दामा मुन्नालाई जिल्ला अदालत मोरङले २०७० जेठ २३ गते जन्मकैदको सजाय सुनाइसकेको छ । मुन्ना अहिले जिल्ला कारागार मोरङ विराटनगरमा कैद भुक्तान गरिरहेका छन् ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो । प्रहरी र अदालतको अभिलेख हेर्ने हो भने भारतीय नागरिकले नेपालका विभिन्न स्थानमा आएर अपराध गरेका घटना थुप्रै छन् । नेपालको तराईमा हुने अधिकांश अपराधिक घटनाको तार भारतीयसँग जोडिन्छ । त्यसका अतिरिक्त नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका केही भुटानी शरणार्थीको पनि अपराध कर्ममा संलग्नता रहने गरेको प्रहरीको दावी छ । खुल्ला सीमा र सहज नेपाल प्रवेशका कारण भारतीय नागरिकबाट आपराधिक गतिविधि हुने गरेको अपराध अनुसन्धानमा लामो समयदेखि सक्रिय प्रहरी अधिकारीहरू बताउँछन् ।
आर्थिक वर्ष ०७४/७५ को जिल्ला अदालत मोरङको तथ्यांक हेर्ने हो भने २ सय ६ जना विदेशी नागरिक विभिन्न अपराधिक कर्ममा संलग्न देखिन्छन् । उनीहरूमध्ये केहीको हकमा अदालतबाट फैसला समेत आइसकेको छ, जसमध्ये ९ जना विदेशी नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरी अदालतमा उपस्थिति गराएको छ भने अझै १ सय ९७ जना विदेशी नागरिक फरार सूचीमा रहेको जिल्ला अदालत मोरङका स्रेस्तेदार इश्वरमणि ओझा बताउँछन् ।
फरार भएका अभियुक्तहरू कर्तव्य ज्यान, सवारी ज्यान, बलात्कार, लागूऔषध ओसारपसार, चोरी आदि मुद्दामा संलग्न रहेको अदालतको अभिलेखमा देखिन्छ । ‘खुल्ला सिमा तथा सहज रूपमा नेपाल प्रवेशले गर्दा भारतीय नागरिकबाट आपराधिक घटना घटेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसी भन्छन् – ‘अपराध गरी भारततर्फ भाग्न सजिलो छ, जसले गर्दा अपराधीहरूलाई पक्राउ गर्न समस्या हुने गरेको छ । भारतीय प्रहरीसँग सहकार्य गरी त्यस्ता अपराधीहरूलाई पक्राउ गर्ने प्रयास गर्दै आएका छौं ।’ खुला सीमाको फाइदा उठाउँदै अपराध गर्ने उद्देश्यले नै कतिपय भारतीय नागरिक नेपाल प्रवेश गर्ने प्रहरीको दाबी छ । प्रहरीको सबै क्षेत्रमा पहुँच हुन नसक्दा अपराध गरी सहज रुपमा भारततर्फ नै फरार हुन्छन्–एसपी केसीले बताए ।
विदेशीसहित १ हजार ३४ जना अदालतमा
विभिन्न अपराध गरी लामो समयदेखि फरार रहेका ९ विदेशी नागरिकसहित १ हजार ३४ जनालाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । अदालतले फैसला गरी कैद सजाय पाएका ७ हजार ७ सय ५७ जनामध्ये केही अदालतमा आफैं उपस्थिति भएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको हो ।
फरार १ हजार ३४ जनालाई पक्राउ गरी अदालतमा उपस्थिति गराए पनि अझै ६ हजार ७ सय २३ जना खुलेआम घुमिरहेको जिल्ला अदालत मोरङको अभिलेखमा देखिन्छ । त्यस्तै जरिवाना मात्र पाएका ४ हजार २ सय २२ जनामध्ये ४ सय ४८ जनाले अदालतमा उपस्थित भै जरिवाना तिरेर छुटेका छन् भने ३ हजार ७ सय ७४ जना अझै फरार छन् । कैद र जरिवाना दुवै लागेका २ हजार २ सय ३७ जनामध्ये ३ सय २६ जना अदालतमा उपस्थिति भैसकेका छन् भने १ हजार ९ सय ११ जना अझै फरार रहेको जिल्ला अदालत मोरङले जनाएको छ ।
फरार भएका अभियुक्तहरूबाट १७ करोड ४६ लाख ७८ हजार ६ सय १२ रुपैयाँ राजस्व उठ्नुपर्नेमा २ करोड २१ लाख २२ हजार ५ सय ९१ रुपैयाँ मात्र राजस्व संकलन भएको अदालतले जनाएको छ ।
पक्राउ पर्दै फरार अभियुक्त
अदालतले गरेको फैसला कार्यान्वयन गराउने उद्देश्यअनुरुप मोरङ प्रहरीले फरार अभियुक्तहरू पक्राउ गरी अदालतमा उपस्थित गराउँदै आएको छ । आर्थिक वर्ष ०७४/७५ को ज्येष्ठ मसान्तसम्म १ सय ५४ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले जानकारी दिए । सबैभन्दा बढी फरार अभियुक्त इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरी अदालतमा उपस्थिति गराएको प्रहरीको अभिलेखबाट देखिन्छ । ‘अदालतले गरेको फैसलाको प्रभावकारी कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय मोरङको मातहतमा रहेका प्रहरी युनिटहरूलाई निर्देशन दिएका छौं, डीएसपी श्रेष्ठ भन्छन्– फरार अभियुक्तहरू पक्राउसमेत पर्दै आएका छन् । प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न विशेष टोली नै परिचालन गर्ने बताइन्छ ।
गत आर्थिक वर्षमा मोरङका इलाका प्रहरी कार्यालयहरूमध्ये इलाका प्रहरी कार्यालय रानी विराटनगरले सबैभन्दा बढी ५४ जना फरार अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ । पक्राउ परेकोबाट २ लाख ९६ हजार २ सय २० रुपैयाँ राजस्वसमेत संकलन भएको प्रहरीको अभिलेखमा देखिन्छ । त्यस्तै इलाका प्रहरी कार्यालय बेलबारीले १२, इलाका प्रहरी कार्यालय रंगेलीले ३, इलाका प्रहरी कार्यालय पथरीले ३, वडा प्रहरी कार्यालय (क) हाटखोलाले १, प्रहरी चौकी झोराहाटले २, प्रहरी चौकरी मोतीपुरले ४, प्रहरी चौकी बरगाछीले १ तथा सिआरबीले १ जना फरार अपराधी पक्राउ गरेका छन् ।
यस्तै चालु आर्थिक वर्षको पुस महिनामा मात्रै मोरङ प्रहरीले ३ सय २६ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । उनीहरूबाट प्रहरीले ७४ लाख ६७ हजार ५ सय ९१ रुपैयाँ जरिवाना असुल गरेको छ । प्रहरीले मंसिर–पुसमा ३ सय ४९ जनालाई पक्राउ गरेको छ । साउनमा १ जना, भदौमा ७ जना, असोजमा १० जना पक्राउ गरेको थियो । कार्तिक महिनामा भने फरार अपराधि १ जना पनि पक्राउ गर्न प्रहरीले सकेको थिएन ।
पन्ध्र वर्षपछि पक्राउ
सशस्त्र द्वन्द्वको समयमा छिमेकीको हत्या गरेर गाउँमै लुकिछिपी बसेका तीन जना १५ वर्षपछि मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ परेका छन् ।
साविकको डंग्राहा–६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बूढीगंगा–७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार तथा ३८ वर्षीय श्रवण गच्छदारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
विश्वासको २०६० साल मंसिर ७ गते हत्या भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले अपराधिक घटनाका पुराना फायल केलाउँदै जाँदा हत्या भएको लामो समयपछि घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।
प्रहरीका अनुसार गाउँमा रातको समयमा धान चोरी गर्न आएको भन्दै स्थानीय बासिन्दाले कुटपिट गरी गारीलालको हत्या गरेका थिए । गारीलालका छोरा बलीरामले घटनाका सम्बन्धमा किटानी जाहेरी दिए पनि हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
पुराना मुद्दा केलाएर हेर्दै जाँदा लामो समयसम्म हत्यामा संलग्नलाई पक्राउ गरेको नदेखेपछि प्रहरीले अनुसन्धान गर्दा उनीहरू खुलेआम हिँडिरहेको जानकारी पाएको थियो । लगत्तै गाउँ पुगेको प्रहरी टोलीले उनीहरूलाई निजहरूकै घरबाट पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा उनीहरूको संलग्नता देखिएको छ ।
तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ । सशस्त्र द्वन्द्वका कारण प्रहरी गाउँमा जान नसकेकै कारण हत्याजस्तो जघन्य अपराधमा संलग्नहरू पक्राउ पर्न सकेका थिएनन् ।