
नियमित रूपमा (प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनमा यौनसम्पर्क रहे गर्भ रहन सक्छ ।
गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ कि छैन ? छ भने त्यसलार्ई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले शिशु जन्माउनुपूर्व सम्बन्धित चिकित्सकसँग सल्लाह परामर्श लिनु श्रेयस्कर हुन्छ ।
कलिलो उमेरमा गर्भधारण गरे व्यथा लामो हुने, शिशु जन्माउन गाह्रो हुने, शिशु पनि कम तौलको हुने एवं महिना नपुगी व्यथा लाग्ने हुँदा आमा र शिशु दुवैको ज्यानमा जोखिम हुन्छ ।
गर्भाधानका क्रममा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि एवं शरीरको विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भ अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ ।
छोरा वा छोरी कसरी ? लोग्ने मानिसको क्रोमोजोममा एक्स र वाई दुवै हुन्छ भने महिलाकोमा एक्स मात्र हुन्छ । त्यसैले लोग्नेमानिस र स्वास्नीमानिसबीच यौनसम्पर्कपछि छोरा हुनका लागि लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ ।
गर्भवतीका लक्षण विभिन्न हुने भए पनि नियमित रूपमा भैरहने महिनावारी रोकिनुचाहिँ गर्भको मुख्य लक्षण हो ।
गर्भ रहेको निश्चित गर्ने तरिका विभिन्न (पिसाब जाँच, योनिद्वारबाट आन्तरिक परीक्षण) भए पनि अल्ट्रासाउन्ड (भिडियो एक्सरे) को आफ्नै विशेष महत्व छ ।
आर्थिक विपन्नता वा सेवाको अभावले पटक–पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको शिशुमा कुनै किसिमको शारीरिक खोट छ–छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ता भित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ ।
मानिसको ४० हप्ता लामो गर्भ अवधिलार्ई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन चरणमा बाँडिएको छ । प्रत्येक त्रैमासिक अनुसार गर्भवतीका लक्षण–चिन्ह पनि फरक–फरक हुन्छन् ।
नियमित रूपमा महिनावारी भैरहेका किशोरी वा महिलामा अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोड्दा शिशु जन्मने मिति निस्कन्छ । यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले शिशु जन्माउँछन् भने अधिकांश (करिब ८० प्रतिशत) महिलाले उक्त दिनको दुई हप्ताअघि र एक हप्ता पछि शिशु जन्माउँछन् ।
गर्भावस्थाको करीब १८ हप्ता पछि शिशु चलेको महसुस हुन्छ । गर्भ रहेको करिब ३६ हप्तापछि शिशु तल सर्ने (पुट्ठाको हड्डीभित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ ।
गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका लक्षण–चिन्हहरू (तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने आदि) देखा पर्न सक्छ ।
गर्भवती जाँच– विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चार पटक गर्भवती जाँच वा परीक्षण गराउनुपर्छ । यस क्रममा स्वास्थ्य परीक्षणका अतिरिक्त खोप, स्वास्थ्य शिक्षा, पोषण शिक्षा आदि समेत प्राप्त हुन्छ ।
पहिलो पटकको गर्भवती जाँच महिनावारी रोकिएको थाहा हुनासाथ वा करिब ६ हप्ताको वरिपरिमा गराउनुपर्छ ।
प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे गराउनुपर्छ । त्यसका अतिरिक्त कतिपय गर्भवती महिलामा रहेको र गर्भावस्थामा देखा परेको स्वास्थ्य समस्याअनुसार थप जाँचहरू गराउनुपर्छ ।
पहिलो गर्भावस्थामा दुईपटक टीटी खोप लिनु पर्छ भने फोलिक एसिड, आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खान थाल्नुपर्छ । यसका साथै थप शक्ति प्राप्त हुने कार्बोहाइड्र्रेट तथा प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।
नियमित गर्भवती जाँच गर्नुको उद्देश्य गर्भावस्था, सुत्केरी बेथा लाग्दा तथा सुत्केरी बेथापश्चात् आमा र नवजात शिशुको पूर्ण स्वस्थ्यता नै हो ।
गर्भवती जाँचका दौरान प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्नुका साथै रक्तअल्पता र खुट्टा सुन्निएको छ–छैन जाँच्नुपर्छ ।
मधुमेह, उच्च रक्तचाप, मुटु एवं मृगौलाका रोगी, निगेटिभ रगत समूह भएको, पेट भित्रको शिशु सानो भएको शंका गरिएमा, जुम्ल्याहा शिशु भएको, पहिले पटक–पटक गर्भ तुहिएका गर्भवती महिलाहरूलार्ई विशेष निगरानीमा राख्नुपर्छ ।
गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ । गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्यछातीको हड्डी मुनिसम्म पाठेघरको (पेट) को उचाइ बढ्छ ।
गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य मुख्य अङ्गहरू तथा स्नायु प्रणालीको विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ । गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार (मुख) को आकार आउँछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अङ्गहरू फोक्सो, मृगौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन् ।
विशेष गरी गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भस्थ शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अङ्गहरू बन्ने भएकाले अनावश्यक रुपमा जथाभावी औषधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक विकलाङ्गता भएका शिशु जन्मन सक्छन् ।
गर्भावस्थामा हुन सक्ने साधारण समस्याहरूमा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो छिटो लाग्ने, योनिश्राव (सेतो पानी) अलि बढी हुने, पिँडौला एवं जनेन्द्रिय वरिपरिका नशाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौला बाउँडिने आदि हुन सक्छ ।
गर्झाधानका क्रममा शुत्रकिट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा भै निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपनजस्तो रक्तश्राव देखिनु बाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनुलार्ई राम्रो मानिंदैन ।
करिब २० प्रतिशत गर्भवती महिलालार्ई शिशु जन्माउन शल्यक्रिया आवश्यक भए पनि ८० प्रतिशत भने सुरक्षित तवरले सुत्केरी हुन सक्छन् ।
शिशुको टाउको टेढिनु, शिशु उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र शिशुको बसाइ परिवर्तन भैरहनु वा अस्थिर रहनु, शिशुको मुख वा निधार पहिले बाहिर आउन खोज्नु, शिशुको मुख आमाको ढाडतिर फर्केर रहनुपर्नेमा अन्यथा हुनु गर्भवती तथा सुत्केरी समयका असामान्य परिस्थिति हुन् ।
त्यसका अतिरिक्त जुम्ल्याहा शिशु हुँदा, गर्भवती महिलाको उमेर बढी (३५ वर्ष भन्दा माथि) हुँदा, पटक–पटक गर्भ खेर जाँदा, गर्भावस्था लम्बिदा, गर्भवती महिलाको रक्तसमूह निगेटिभ हुँदा विशेष हेरचाह पुर्याउनुपर्छ ।
सामान्यतः मानिसको गर्भ अवधि ४० हप्ता (२ सय ८० दिन) को हुन्छ । गर्भ ४२ हप्ता (२ सय ९४ दिन) भन्दा पछाडि गयो भने राम्रो मानिँदैन । औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ ।
उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मृगौलाको खराबी, मूक्रनली संत्रमण, थाइरोइड ग्रन्थिको घटीबढी, छारेरोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, क्षयरोग, दम, संक्रामक तथा परजीवीजन्य रोग, औंलो, शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेट दुखाइ आदि गर्भावस्थासँगै हुन सक्ने अन्य केही स्वास्थ्य समस्या हुन् ।
पेटभित्रै शिशु मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्नु (सानो सुतक हुने), महिना नपुग्दै बेथा लाग्नु आदि गर्भावस्थामा आईपर्ने केही विशेष समस्या हुन् ।