धमाधम चलचित्रमा काम गरिरहेका छन् । वर्षमा ३ देखी ४ वटासम्म चलचित्र प्रर्दशन भएका छन् । देश विदेशका कार्यक्रममा उनिहरुकै राज छ । विभिन्न बिज्ञापनमा उनिहरुकै हानिमुहाली छ । आफुले कस्तो खालको चलचित्रमा काम गर्नुपर्छ र चलचित्रमार्फत आफुले के सन्देश दिने हो भन्ने समेत कलाकारहरुलाई हेक्का छैन । दामको लोभमा जस्ता पायो त्यस्तै चलचित्र गर्ने बानी परेको छ नेपाली अभिनेता–अभिनेत्रीहरुलाई । हिट कलाकार भनेर जुन नाम पाएका छन्, नामजस्तै काम भने दिन सकेका छैनन् । नेपालमा पछिल्लो समय चर्चामा रहेका र ब्यस्त कलाकारहरुले कति फ्लप चलचित्र दिएका छन् त ? छोटो टिप्पणी :
प्रदीप खड्का
अहिलेका हिट अभिनेता हुन् प्रदीप खड्का । प्रदिपको फ्यान फलोइङ निकै लोभलाग्दो छ । छोटो समयमा धेरै चर्चामा आएका यि अभिनेताले केहि चलचित्रबाट असफलताको स्वाद चाख्नुप¥र्यो । सन् २०१४ मा ठूलो मान्छे नामको चलचित्र निर्माण गरेर चलचित्र क्षेत्रमा आएका प्रदिपले सन् २०१५ मा प्रदर्शन भएको चलचित्र स्केप मार्फत अभिनयमा डेब्यु गरेका हुन् । प्रदर्शन हुन बाँकी चलचित्रलाई छोडेर हेर्नेहो भने उनी अभिनित ५ चलचित्र प्रदर्शन भए । स्केप, प्रेमगीत, प्रेमगीत २, लिलिबिली र रोज । यि मध्ये चलचित्र स्केप र रोज प्रदीपको करिअरमा फ्लप चलचित्र हुन् । उनको नयाँ चलचित्र लभ स्टेसन सार्वजनिक हुने तयारीमा छ । यो चलचित्रबाट भने प्रदीपले राम्रै आशा गरेको बताए ।
अनमोल केसी
चलचित्र होस्टेलबाट चलचित्र क्षेत्रमा अभिनेताको रुपमा हाम फालेका अनमोल केसीले पनि केहि चलचित्रबाट असफलताको स्वाद चाख्नुप¥र्यो । यथार्थ र बास्तविक फरक कुरा हुन् । अनमोलले मुख्य भुमिकामा काम गरेका चलचित्र होस्टेल, जेरी, गाजलु, ड्रिम्स, कृ, क्याप्टेन हुन् । ए मेरो हजुर ३ सार्वजनिक हुने तयारीमा छ । उनले काम गरेका चलचित्रमध्ये गाजलु, कृ, क्याप्टेन असफल चलचित्र लिस्टमा छन् । निर्माण पक्षले क्याप्टेनबाट भने लगानी सुरक्षित भएको दाबी गरेको छ ।
पल शाह
अभिनेता पल शाहले अभिनय गरेका चलचित्र नाई नभन्नु ल ४, जोनी जेन्टलम्यान, म यस्तो गीत गाउँछु, सत्रुगते सार्वजनिक भए । उनको नयाँ चलचित्र विर विक्रम २ सार्वजनिक हुने तयारीमा छ । पलले काम गरेका चलचित्रको हिसाब किताब गर्नेहो भने जोनी जेन्टलम्यान नराम्रोसँग चिप्लियो ।
विपीन कार्की
अभिनयका हिसावले विपीन कार्कीको नेपाली चलचित्र क्षेत्रमा खुबै चर्चा हुने गर्छ । उनले पछिल्लोपटक काम गरेको चलचित्रले प्रसादले उनलाई फेरि पनि एकपटक अब्बल कलाकारको रुपमा प्रमाणित गरेको छ । विपीनले अहिलेसम्म काम गरेका चलचित्र लुट, छड्के, दाण्डव, सुन्तली, कालो पोथी, पशुपति प्रसाद, जात्रा, लुट २, नाका, लालपुर्जा, हरी, प्रसाद, गोपी र जात्रैजात्रा हुन् । जात्रैजात्रा भने सार्वजनिक हुने तयारीमा छ । विपीनले काम गरेका चलचित्रमध्ये छड्के, दाण्डव, सुन्तली, नाका, लालपुर्जा, हरी, गोपी फ्लप भए । यद्यपी कालो पोथीले विभिन्न फेस्टिवलमा एवार्ड पाएर चर्चामा भने आउन सफल भयो ।
दयाहाङ राई
अभिनेता दयाहाङ राई अभिनित पछिल्लो चलचित्र साँइली प्रदर्शन भैरहेको छ । यो चलचित्रको नाफाघाटा केहि दिनमै सार्वजनिक होला । तर यसअघि दयाहाङले कति चलचित्रमा काम गरे ? कति चलचित्र हिट दिए त्यो भने अहिले सहजै रुपमा छुट्टाउन सकिन्छ । पहिलो चलचित्र दासढुंगाबाट सकारात्मक प्रतिक्रिया पाएका दयाहाङले काम गरेका चलचित्रहरुमा लुट, कबड्डी, लुट–२ र वडा नम्वर ६ व्यावसायिक रुपमा सफल चलचित्र मानिन्छ । तर, अरु सबै चलचित्र गफमा मात्रै हिट भए, निर्माताको हातमा सुको पर्न सकेन । दयाहाङ अभिनित नागबेली, लप्पन छप्पन, कर्कश, छड्के, झोले, मिस्टर झोले, सेतो सूर्य, तान्द्रो, झुम्की, लालटिन, नेप्टे, साँघुरो, मुखौटा, संबोधन, बधशाला लगायत ७५ प्रतिशत चलचित्र फ्लप छन् । दयाहाङ अभिनित चलचित्र विर विक्रम औषतको ब्यापार गरेको थियो ।
सौगात मल्ल
चर्चा र व्यस्तताको हिसाबले सौगात मल्लको चर्चा व्यापक छ । तर उनको अवस्था दयाहाङको जस्तै छ । कागबेनीबाट चलचित्र यात्रामा निस्किएका सौगातको जिवनमा लुट, लुट २, कवड्डी कवड्डी सफल चलचित्र हुन् । लुटबाट हाकु काले परिचय बनाए, जुन नाम लिने वित्तीकै अहिलेपनि दर्शकले उनलाई राम्रोसँग चिन्छन् । त्यही हाकु काले क्यारेक्टर बाहेक अन्य क्यारेक्टर दर्शकले सम्झनलायक छैनन् । सुनगाभा, श्री ५ अम्बरे, फन्को, पञ्चेबाजा, लाजपुर्जा, झ्यानाकुटी, फाटेको जुत्ता, शब्द, संरक्षण, छड्के, लुकामारी, षडङ्ग, उत्सव, मेरो पैसा खोई, लालपुर्जा, फिटकिरी, दासढुंगा, मुखौटा, सौर्य लगायतका फ्लप चलचित्र समेत उनले दिएका छन् । अफर आएका सबै चलचित्रमा काम गर्ने सौगातको बानीका कारण असफल चलचित्रको लिस्ट बढेको उनि निकट केहि व्यक्तीको भनाई छ । बितेको वर्ष मात्रै सौगातका पाँच चलचित्र प्रदर्शन भए, झ्यानाकुटी, पञ्चेबाजा, संरक्षण, मेरो पैसा खोइ र फाटेको जुत्ता । एकै वर्ष एउटै अभिनेताका यति धेरै फिल्म रिलिज हुनु दंग भइहाल्नुपर्ने कुरा होइन । कथावस्तु र चरित्र छनोटमा चुकेको भन्दै सौगातले चर्को आलोचना खेप्नुपरेको छ । तैपनि, ‘पाएजति फिल्म खेल्ने’ रणनीतिबाट पछाडी हट्ने संकेत छैन । यही कारण पनी हुनुपर्छ, हिजोसम्म उनलाई काम गराउन मरिहत्ते गर्ने चलचित्रकर्मी बिस्तारै तर्किदैछन् । पछिल्लो समय मात्रै उनले आफ्नै प्रेमिका श्रृष्टि श्रेष्ठसँग मासु भातमा काम गर्ने बुझिएको छ ।
नाजिर हुसेन
अभिनय क्षेत्रमा हाम फालेको छोटो समयमै चर्चामा आएका अभिनेता हुन नाजिर हुसेन । होस्टल रिर्टन्समा सहायक भूमिका देखिएका नाजिरले उक्त चलचित्रपछि धेरै चलचित्रमा काम गरे तर खासै सफल चलचित्रको लिस्ट भने लामो बन्न सकेन । गाँठो, जगें, राज्जा रानी, पुन्टे परेड, बीर बिक्रम, तिमीसँग लगायतका चलचित्रमा काम गरेका उनका अधिकासं चलचित्रले पानी समेत माग्न पाएन । उनले काम गरेका चलचत्रिहरुमध्ये होस्टेल रिर्टन्स र विर विक्रम अन्य चलचित्रको तुलनामा केहि चलेका मानिन्छ तर यि चलचित्र हिट भने हुन सकेनन् । पछिल्लो समय सार्वजनिक भएको चचित्र कागजपत्र समेत हलमा २ दिन पनि टिक्न सकेन । नाजिरका चलचित्रको हिसाब–किताब गर्नेहो भने उनि पनि फ्लप फिल्मका हिट कलाकार हुन् ।
अर्पण थापा
अर्पण थापा पछिल्लो समय व्यस्त अभिनेतामा पर्छन् । अर्पणले आफ्नै कारण कुनै हिट चलचित्र दिन नसकेको आरोप लाग्ने गरेको छ । फिर्के, आधा लभ, व्याच नम्वर १६, लप्पन छप्पन, धन्दा, छड्के, मुखौटा, बधशाला, मौन, अनागत, ह्यामलेट, डाईङ क्याण्डल, सुन्तली आदि चलचित्र नराम्रोसँग चिप्लीए । अर्पणलाई पछिल्लो समय सार्वजनिक चलचित्र अमेरिका व्वाईजबाट केही आशा थियो तर यसले पनि खुसी बनाउन सकेन । उनले निर्देशन गरेका चलचित्र समेत सुपर फ्लप भैरहेका छन् । चलचित्रको व्यापारका हिसाबले अर्पण सुपर फ्लप फिल्मका सुपर हिट चलचित्र हुन् । तर अर्पणलाई नयाँ चलचित्रको प्रस्ताव भने निरन्तर आइरहेको छ । उनको पछिल्लो समय सार्वजनिक चलचित्र सुनकेशरी पनि फ्लप भयो । नयाँ चलचित्र घर र ए मेरो हजुर-३ सार्वजनिक हुने तयारीमा छ । यि चलचित्रको कारोबार के कस्तो हुने हो त्यो भने पछिनै थाहा होला ।
अनुप विक्रम शाहि
पछिल्लो समयका सवैभन्दा व्यस्त अभिनेतामा पर्छन् अनुप विक्रम शाही । अग्लो लोभलाग्दो हाईट र आकर्षक शरिरका कारण अनुपलाई लिएर चलचित्र वनाउन खोज्ने निर्माताहरु टन्नै छन् । उनी पछिल्ला वर्ष यतिसम्म व्यस्त छन् की उनले गर्ने नियमित ब्यायाम समेत गर्न पाएका छैनन् । उनै अनुप अभिनित सुपर हिट चलचित्र कुन होला भन्ने एकैछिन सोच्नैपर्छ । अनुपले आफै लिड गरेका अधिकांस चलचित्र फ्लप छन् । उनी अभिनित चलचित्र हुर्रे, किङ, रानी, हँसिया, हाउ फन्नी, सौर्य, मेरो मायाँ तिमीलाई, द्रब्य हुन् । विरांगना, जय सम्भु, झमकवहादुर, पुरानो बुलेट पनि फ्लप भए । उनले काम गरेका चलचित्र कमलेको विहे र जायरा सार्वजनिक हुने तयारीमा छन् । कमलेको बिहे प्रदर्शन मिति समेत तोकिएको छैन, निर्देशक प्रशन्न पौडेल अमेरिका गुमनाम छन् भने जायरा भने हिट हुने सम्भाबना छ ।
आकाश श्रेष्ठ
छोटो समयमै राम्रो पकड जमाउन सक्ने अभिनेता आकाश श्रेष्ठ । उनले काम गरेका चलचित्रको लिस्ट धेरै लामो छैन तर अधिकांस चलचित्र फ्लप छन् । म त तिम्रै हुँ, ब्ल्याक, ड्रिम गर्ल, तिमीसँग, रामकहानी सार्वजनिक भएका छन् भने अर्को एक चलचित्रमा हाल ब्यस्त छन् । यि अभिनेताको फ्लप सुचिमा म त तिम्रै हुँ, ब्ल्याक, ड्रिम गर्ल, तिमीसँग समावेस छन् ।
प्रियंका कार्की
चलचित्र संख्या र कमाइलाई मात्र आधार मान्ने हो भने प्रियंका कार्की अरु अभिनेत्रीहरुमध्ये सबैभन्दा अगाडि छिन् । प्रियंका केही वर्षदेखी नम्बर वान अभिनेत्रीको ट्याग पाईरहेकी छिन् । अफर आएका सबै चलचित्रमा काम गरिरहेकी छिन् प्रियंका । नाम र दाम कमाईरहेकी प्रियंका अभिनित ९० प्रतिशत बढि चलचित्र फ्लप छन् । कतिपय चलचित्र त उनैलाई हलमा आयो आएन भन्ने समेत हेक्का हुदैन । आफु अभिनित अधिकासं चलचित्र बक्स–अफिसमा चिप्लीरह“दा समेत प्रियंकाको चेत खुलेको छैन । छानेर हिट चलचित्र मात्रै खेल्ने की व्यक्तीगत आम्दानीको लागी चलचित्र खेल्ने ? यो प्रियंकाले सोच्ने कुरा हो तर केही समयअघि मात्रै प्रियंकाले भनेकी छिन्, ‘चुजी हुन नसक्ने खालको पिडा छ । नेपाली चलचित्र बजार सानो छ । एकाध चलचित्र खेलेर मात्रै जिवन चल्दैन ।’ प्रियंकाको करिअरमा वडा नम्वर ६, छक्कापञ्जा, छक्कापन्जा २, सत्रुगते, नाई नभन्नु ल बाहेक अधिकासं चलचित्र फ्लपको सुचिमा छन् । प्रियंकाको फ्लप फिल्मको सुचिमा थ्रि लर्भस, कर्कश, कलीउड, पुरानो डुङ्गा, हाउ फन्नी, श्री ५ अम्वरे, आवरण, झोले, पुन्टे परेड, ह्याप्पी डेज, भिजिलान्ते, राधे, फाटेको जुत्ता, बटर फ्लाई, माला, लालटिन, भाग सानी भाग, नेपथ्य, मेरो वेष्ट फ्रेण्ड, सुन्तली, माला लगायतका चलचित्रले लगानी समेत उठाउन सकेनन् । प्रियंका कमाउनकै लागी अभिनय गरेजस्तो मात्रै देखिन थालेको छ । प्रियंकाले न आफ्नो गतिलो भुमिका खोज्ने गरेकी छिन् भने न चलचित्रको राम्रो स्क्रिप्ट न त दर्शकले संझनलायक भूमिका नै भन्ने आरोप समेत लाग्ने गरेको छ । सानो, ठूलो, मुख्य, केमियो भूमिका उनका लागि स्विकार्य छ । प्रियंका सम्बन्धको कारणले पनि फिल्ममा काम गर्नुपर्ने कारण देखाउँछिन् । तर, उनी सम्बन्ध भन्दा पनि पैसाको पछि दौडिएको कुरालाई नकार्न सकिदैन । एकै साता २ वटा फिल्म समेत उनको रिलिज भएका छन् । अरुको नामबाट हिट भएका चलचित्रको क्रेडिट लिएर प्रियंका कहिलेसम्म मख्ख पर्ने हुन् त्यो उनले नै जानुन् ।
साम्राज्ञी राज्य लक्ष्मी शाह
भाग्यमानी हिरोइनमा साम्राज्ञीको नाम छुट्दैन । ड्रिम्सबाट चलचित्र नगरीमा पाइला चालेकी यि अभिनेत्रीका धेरै चलचित्र हिट छन् । यो चलचित्रपछि इन्टुमिन्टु लण्डनमा, तिमिसँग, कायरामा काम गरिन् भने अहिले उनि नवल नेपालको चलचित्र मारुनीमा ब्यस्त छिन् । नेपाली चलचित्रका समिक्षकका अनुसार उनले काम गरेकामध्ये कायरा सन्तोषजनक चलेपनि तिमिसँग भने नराम्रोसँग फ्लप भएको हो । आज मात्रै चलचित्र रातो टिका निधारमाका लागी यि अभिनेत्रीले १६ लाख बुझेर साइन गरेकी छिन् ।
नम्रता श्रेष्ठ
छानेर मात्रै चलचित्रमा काम गर्ने हिट हिरोइन हुन् नम्रता श्रेष्ठ । उनले अहिलेसम्म सानो संसार, मेरो एउटा साथी छ, फस्ट लभ, मिस यु, सूनगाभा, छड्के, मौन, मेघा, नोभेम्बर रेन, ताण्डव, सौल सिस्टर, क्लासिक, होमवर्क, पर्व, प्रसाद हुन् भने नयाँ चलचित्र जायरा सार्वजनिक हुने तयारीमा छ । नम्रताको करिअरमा पनि केहि चलचित्र फ्लप भए । फस्ट लभ, मिस यु, सूनगाभा, छड्के, मौन, मेघा, ताण्डव, सौल सिस्टर, होमवर्क, पर्व, असफल चलचित्रको लिस्टमा समावेस भएका छन् ।
मेनुका प्रधान
अभिनयको हिसावले अभिनेत्री मेनुका प्रधानलाई अब्बल हिरोइनको रुपमा लिइन्छ । अघिल्लो वर्ष मेनुका अभिनित पाँच चलचित्र प्रदर्शन भए, लालपुर्जा, साढे सात, हिटलर, जालो र शेरबहादुर । यो वर्ष उनको चलचित्र साँइली प्रदर्शन भैरहेको छ । तर, मेनुकाका धेरै चलचित्रले बक्स–अफिसमा खराब प्रदर्शन गरेका छन् । यति मात्रै हैन मेनुकाको मन पोल्ने कारण अरु पनि छ । उनले काम गरेका चलचित्रबाट अभिनय र भूमिकाको समेत खासै तारिफ भएन । थिएटर पृष्ठभूमिकी मेनुका अब्बल अभिनेत्रीकाको लिस्टमै छिन् । उनले पछिल्लो समय अभिनय गरेका चलचित्र डमरुको डण्डिबियो समेत नराम्रोसँग पछारियो । मेनुकाले चलचत्रिमा काम गर्ने अबसर मात्रै पाईन्, पैसा कमाइन् । तर, निर्माता खुसी हुन सकेनन् । मेनुकाले यसअघि अभिनय गरेको चलचित्र पुरानो डुंगा, रेशम फिलीली, उत्सब पनि फ्लप भएका थिए । मेनुकाको करिअरमा अघिल्लो बर्ष काम गरेको चलचित्र २ रुपैयाँ सफल चलचित्र मानिन्छ । तर, मेनुकाको अभिनय क्षमताका कारण चलचित्रमा काम गराउन निर्माताहरुको तछाडमछाड उस्तै छ ।
केकी अधिकारी
म्युजिक भिडियोमा एकछत्र राज गरिरहेका बेला केकी अधिकारीलाई ‘स्वर’ चलचित्रबाट ठूलो पर्दाको ढोका खोलिदिए निर्देशक प्रशन्न पौडेलले । अभिनय राम्रै गरिन्, तर उक्त चलचित्रले पानी समेत माग्न पाएन । स्वर चलचित्र चल्नु–नचल्नुको नाफा–घाटाको हिसाब किताव केकीले राख्नुपरेन । तर त्यसपछि केकीलाई धमाधम चलचित्र पछ्याए । तर केकी तब झस्किइन् जब लगातार आफु अभिनित चलचित्र फ्लपमाथी फ्लप भए । दमदार अभिनय र सुन्दरताका कारण हिट हिरोईन् वनिन् केकी । तर के गर्नु ? उनी अभिनित चलचित्रको लिस्ट मात्रै लम्बिरह्यो । हिट चलचित्रको सुचि बन्न सकेन । झण्डैं १० वर्षको करिअरमा केही महिनाअघि प्रर्दशन भएको कोहलपुर एक्सप्रेसले निर्माताको लगानी गर्ननसकेको बताइन्छ यद्यपी केकीले भने यो चलचित्र हिट भएको दाबी गरेकी छिन् । आईएमसरी, स्वर, बितेका पल, फन्को, महसुस, घाँमपानी, माइ प्रमिस, हाउ फन्नी, राज्जा रानी, लभ सासा, हुर्रे, श्री ५ अम्बरे, मसान, मुटु, लालटिन, भाग सानी भाग, मेरो बेष्ट फ्रेन्ड, बागमती लगायतका चलचित्र सुपर फ्लप भए । पछिल्लोपटक मधेसको कथामा निर्मित चलचित्र राज्जा रानीप्रति उनी असाध्यै आशावादी थिईन् । यद्यपी यो चलचित्रले समेत उनको फाटेको मन टाल्न सकेन । धमाधम फ्लप चलचित्र दिएकी केकीसँग निर्माताहरू डराएका छैनन् । यति लामो वर्षको संघर्षमा केकीले जति चर्चा कमाइन्, त्यसको आधारमा हिट चलचित्र दिन नसक्नु उनका लागि सुखद् पक्ष पक्कै हैन । अप्रत्यक्ष रुपमा केकी असाध्यै निराश छिन् र आशावादी पनि । उनी थप्छिन्, ‘हरेक कुरामा संघर्ष आवश्यक हुन्छ, सवै संघर्षमा सफलता हासिल हुन्छ भन्नु गलत कुरा हो ।’ यि सुन्दर अभिनेत्रीको फ्यान फ्लोईङ भने लोभलाग्दो छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्टाग्राममा टन्नै फ्लोअर छ । तर, बाहिरी भेट र सामाजिक सञ्जालमा जति फ्यान फ्लोअर भए पनि ति दर्शक हलसम्म नआएपछि त्यसको के अर्थ ? यद्यपी केकीले केहि समय अघि प्रदर्शनको भएको चलचित्र नाई नभन्नु ल ५ भने आफ्नो हिट चलचित्र भएको बताएकी छिन् ।
ऋचा शर्मा
ऋचा शर्मा अभिनयमा दमदार क्षमता भएकी अभिनेत्री हुन् । उनको चर्चा नेपाली सिने बजारमा सधैजसो भैरहन्छ । चलचित्र यात्रा थालनी गरेदेखी आजका दिनसम्म उनलाई फुर्सदिलो भएर बस्नु परेको छैन । तर दुःखद् कुरा ऋचाको करिअरमा सफल चलचित्र मानिएको लुट बाहेक अरु सवै फ्लप भए । पछिल्लो समय प्रर्दशनमा आएको चलचित्र सुनकेशरीले समेत अपेक्षाअनुसारको रिजल्ट दिएन । जंगे, आधा लभ, भिसा गर्ल, मेरो लभ स्टोरी, फिर्के लगायतका चलचित्रले लगानीसमेत सुरक्षित गर्न सकेन ।
बर्षा सिवाकोटी
दर्जनौ म्यूजिक भिडियोमा काम गरिसकेकी अभिनेत्री वर्षा सिवाकोटीले ‘नाई नभन्नू ल २’ बाट नेपाली रजतपटमा पाईला चालेकी हुन । डेब्यू चलचित्रले व्यवसायीक रुपमा राम्रै कमाई गरेपछि बर्षाको खुट्टा भुइ“मा हुने कुरा भएन । त्यसपछि उनलाई फिल्ममा साइन गर्न निर्माताहरु तछाडमछाड गरे । सायद वर्षालाई लाग्यो, अब म सुपरस्टार भएँ। यद्यपी नाई नभन्नू ल २ र पशुपति प्रसाद वाहेक उनका अरु सवै चलचित्र असफल भए । उनको अर्को चलचित्र सुव्वा साव दिनपनी हलमा टिकेन । उनको मुख्य भुमिका रहेको चलचित्र लप्पन छप्पन पनि व्यापारिक हिसाबले असफल बन्न पुग्यो । उक्त चलचित्रमा सौगात मल्ल, दयाहाङ राई र अर्पण थापा जस्ता स्टार नायकको चेपुवामा परेर वर्षा कता हराईन् पत्तो भएन । अघिल्लो वर्षनै रिलीज भएको चलचित्र कारखाना असफल फिल्ममध्येको एक हो । यो चलचित्रलाई जसरिपनि हिट बनाउन उनले कम्मर कसेर लागेकी थिइन् । तर, कारखानालाई दर्शकले पत्ताईदिएनन् । यस्तैगरी चलचित्र जय सम्भु, भैरेले पनि अपेक्षा अनुसारको रिजल्ट दिन सकेनन् । उनको नयाँ चलचित्र विर विक्रम २ भने प्रदर्शनको तयारीमा छ, यो चलचित्र आफ्नो हिट लिस्टको सुचिमा पर्ने वर्षाको दाबी छ । बर्षाले सकेसम्म हिट चलचित्र दिन कोसीस गरेको बताउँछिन् ।
आँचल शर्मा
पछिल्लो समय चर्चामा आएकी अभिनेत्री हुन् आँचल शर्मा । पल शाहसँग म्युजिक भिडियो खेलेर मज्जाले दाम छापेकी यि अभिनेत्रीले पनि केहि असफल चलचित्र दिएकी छिन् । नाई नभन्नु ल–४, सत्रुगते, व्ल्याक र जोनि जेन्टलम्यान लगायतका काम गरेकी आँचलले व्ल्याक र जोनी जेन्टलम्यानबाट भने असफलताको स्वाद चाख्न बाध्य भइन् ।
बर्षा राउत
हिरोइनहरुको नाम लिनेवित्तीकै नाम आउने हिरोइन हुन् वर्षा राउत । तर यि अभिनेत्रीले आफ्नै कारण कुनैपनि हिट चलचित्र दिन नसकेको आरोप समेत खेप्नुपरेको छ । मेरो पैसा खोई, जात्रा, चौका दाउ, गोपी, मिस्टर झोले, नाई नभन्नु ल ४, छक्कापन्जा लगायतका चलचित्रमा काम गरेकी यि अभिनेत्रीको नयाँ चलचित्र जात्रैजात्रा सार्वजनिक हुने तयारीमा छ । वर्षाले काम गरेकामध्ये मेरो पैसा खोई, चौका दाउ, गोपी, मिस्टर झोले, फ्लप चलचित्र हुन् ।