खासगरी दोस्रो विश्वयुद्धको अन्तपछि प्लास्टिक युग प्रारम्भ भएको हो, त्यसपछि दैनिक प्रयोग हुने सबै किसिमका घरायसी सामग्री प्लास्टिकबाट निर्माण हुन थाले । आज खाना र पेयहरू यिनै प्लास्टिकको खोलमा पोको पारिन्छ । घर, कार्य क्षेत्र, सवारी साधन सबैतिर प्लास्टिकको प्रयोग अनिवार्यजस्तै भएको छ । लुगा, पहिरून, चस्मा, दाँत, दन्त मञ्जन, कम्प्युटर, टेलिफोन, थाल, प्लेट, कचौरा, गिलास, खेलौना सबै प्लास्टिकबाटै बन्न थालेका छन् । आजको दैनिकीको समीक्षात्मक अवलोकन गर्ने हो भने जीवनको कुनै पनि पक्ष प्लास्टिकबाट अछुतो छैन । आजको मानव जीवन प्लास्टिक बिनाको वैकल्पिक जीवन कल्पना गर्न सक्ने अवस्थामा छैन ।
प्लास्टिकको प्रयोगले अनपेक्षित वातावरणीय समस्याका साथै साना केटाकेटीमा विविध किसिमका स्वास्थ्य जन्य समस्या सिर्जना गर्न सक्छ । आजको युगमा प्लास्टिकलाई विकराल वातावरणीय एवं पर्यावरणीय प्रकोपका रूपमा लिइन्छ ।
प्रायः जसो प्लास्टिक अविकरणीय स्रोत दोहन तथा सघन ऊर्जा प्रविधि प्रयोग गरी संवेदनशील पर्यावरणीय प्रणालीमा क्षति पुर्याउँदै पेट्रोलियम तथा प्राकृतिक ग्याँसबाट बनाइन्छ । प्लास्टिकको उत्पादन प्रक्रियादेखि यसलाई बालेर नष्ट गर्दासम्म यसले हावा, जमिन एवं जल सबैलाई प्रदूषित तुल्याउँछ । यसको उत्पादन श्रृंखलामा संलग्न मजदुरहरू विषालु रसायन तथा क्यान्सरजन्य स्वास्थ्य समस्याको जोखिममा पर्छन् । प्लास्टिक प्याकेजिङ जुन सर्वत्र उपयोग भएका छन् मूलतः फोहरूमैलाको प्रमुख स्रोतका रूपमा देखा परेको छ । जलचर तथा घरपालुवा पशुहरू यस्ता प्लास्टिकमा पोका पारी फालिएका फोहोर खाना खाएर घातक परिणाम वेहोर्ने स्थितिमा पुग्छन् ।
प्रशोधित प्लास्टिक गलेर नजाने किसिमका हुन्छन् । फोहरमैला फाल्ने ठाउँमा प्लास्टिक थुपि्रँदै जान्छ र वातावरणलाई भौतिक रुपमा प्रदूषित गर्छ । आज महानगर, उप/नगर, नगरपालिका तथा अन्य स्थानीय निकायहरूका लागि सहरी फोहरमैला व्यवस्थापनमा प्लास्टिक सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको छ । यो समस्या हाम्रो परिवेशमा मात्र सीमित छैन यो समस्या विश्वव्यापी नै छ । परिणाम आज विश्वभरका स्थानीय सरकारहरू प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबद्ध लगाउन थालेका छन् । प्लास्टिकका कारण हुने प्रदूषण नाङगो आँखाले मात्र अवलोकन गर्न सकिँदैन । अनुसन्धानले प्लास्टिकका सुक्ष्म कण वातावरणीय वायु, नदि, ताल, आदिमा विश्वव्यापी रुपमा फैलिरहेको तथ्य सार्वजनिक गरेको छ, जुन स्वास्थ्य जोखिमको दृष्टिले पनि निकै घातक मानिन्छ ।
प्लास्टिकले घेरिएको मानव जीवनले मानवलाई प्रकृतिबाट टाढा–टाढा लगिरहेको पाइन्छ । पश्चिमी समाजले प्लास्टिकको भयावह पर्यावरणीय एवं मानवीय स्वास्थ्यमा पर्ने संकटको पूर्व आंकलन गरी प्लास्टिकबिनाको वैकल्पिक जीवनका सम्बन्धमा सोच्न र जीवन बाँच्ने प्रयास सुरु गरिएको छ । नेपालमा पनि हानिकारक प्लास्टिकको विकल्प खोज्न सकिँदैन र ?