असार महिनालाई दही–चिउरा खाने महिनाका रूपमा लिइन्छ । कृषकहरू खेतीका लागि अहोरात्र खटिनुपर्दा नियमित भोजन गर्न नभ्याउने भएकाले फास्टफुडका रूपमा दही–चिउराको प्रयोग गरिएको हुनुपर्छ । फास्टफुड हुनुका साथै स्वस्थकर एवं पोषकतत्वहरूले भरिपूर्ण भएकाले दही–चिउराको महत्व हिजो, आज र भोलि सधैं उत्तिकै छ ।
पौष्टिकताका हिसाबले दही सबै किसिमका पोषक तत्व भएको अमृत खाद्य हो । घरेलु विधिले तयार गरिएको १ सय मिलिग्राम दहीमा ८८ प्रतिशत पानी, ३ दशमलव ५ ग्राम प्रोटिन, ४ दशमलव ७ ग्राम कार्बोहाइड्रेड तथा ३ दशमलव ३ ग्राम चिल्लो पाइन्छ भने यी सबै तत्वको उपपाचन हुँदा ६१ किलो क्यालोरी उर्जा प्राप्त हुन्छ ।
दहीमा पाइने प्रोटिनलाई क्यासिन भनिन्छ । क्यासिनले क्याल्सियम र फस्फोरसजस्ता सूक्ष्म तत्वहरूको अवशोषणमा विशेष भूमिका खेल्छ भने यसले रक्तचाप कम गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । दहीमा पाइने चिल्लो पदार्थमा मुख्य रूपमा स्याचुरेटेड चिल्लो पदार्थकै बाहुल्य पाइन्छ भने केही मात्रामा अनस्याचुरेटेड चिल्लो पनि पाइन्छ । ४ सयभन्दा धेरै प्रकारका फ्याट्टी एसिड पाइने हुनाले दहीको चिल्लो अन्य चिल्लोभन्दा विशेष मानिन्छ ।
दहीमा धेरै मात्रामा ट्रान्स फ्याटी एसिड पनि पाइन्छ । कार्बोहाईड्रेड, प्रोटिन तथा फ्याटका अतिरिक्त दहीबाट क्याल्सियम, फोस्फरस, भिटामिन बी–२, बी–१२ जस्ता तत्व पनि उपलब्ध हुन्छन् । दहीमा प्रो–बायोटिक्सहरू पनि पाइन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने, कोलेस्ट्रोल घटाउने, शरीरलाई चाहिने आवश्यक तत्वहरू शरीरभित्रै संश्लेषण गर्ने, पाचन अवशोषण एवं मल निष्कासनजस्ता कार्य सुचारु गर्न सहयोग गर्छ । असार महिनामा दही–चिउरा सेवन गर्दा यसले ग्रीष्म ऋतुको गर्मी पनि अवशोषण गर्न सघाउँछ ।
चिउरामा पर्याप्त मात्रामा प्रो–बायोटिक्स पाइने हुँदा यो स्वस्थकर भोजन हो । त्यसका अतिरिक्त थोरै खाँदा पनि पर्याप्त क्यालोरी दिने हुँदा चिउरालाई आडिलो खानेकुरा मानिन्छ । चिउरा बनाउने क्रममै पाकिसकेको हुने हुँदा यसलाई पकाइरहनु पर्दैन । चिउरालाई दहीसँग मिसाएर खाँदा अम्लपित्त बढ्ने समस्या समाधान हुन्छ । चिउरामा पनि पर्याप्त मात्रामा फलाम, क्याल्सियम तथा फोस्फरसजस्ता तत्व पाइन्छन् । यी तत्वहरूले रक्तअल्पता कम गर्न सहयोग गर्ने भएकाले गर्भवतीहरूलाई पनि चिउरा ख्वाउने चलन छ ।
योगी नरहरिनाथ प्राकृतिक चिकित्सालय