नेपाली समाजमा सबैभन्दा विशेष मानिने कक्षा १० को परीक्षा जसलाई केही वर्षअघि एसएलसीको नामले चिनिन्थ्यो भने आजभोलि त्यसलाई एसईई नाम दिइएको छ । एसईई नामकरणसँगै नेपाली शैक्षिक प्रणाली र त्यसको महत्वमा समेत हलचल आएको पाइन्छ । अन्तर्राष्ट्रिय शैक्षिक पद्धतिको सिको तथा शैक्षिक क्षेक्रमा त्रान्ती ल्याउन गरिएको एसईईको नामाकरण एवं नतिजा पद्धति अर्थात् ग्रेडिङ प्रणाली क्रमशः नेपालमा समेत हाबी हुँदै गएको छ भने अर्कातर्फ यसले शिक्षाको महत्वलाई खस्काउँदैछ ।
हिजो एसएलसीलाई फलामको ढोका मानिन्थ्यो । यद्यपि त्यसमा एक हिसाबले उचित मूल्यांकन समेत हुन्थ्यो । हिजो डिस्टिनसन ल्याउँदा सहर–गाउँ गर्जन्थ्यो भने आज ए प्लसले मात्र पुगेको पाइँदैन । ग्रेडिङ पद्धतिको अवलम्बन तब मात्र सही सावित हुन्छ जब यसको पछाडिका कमी–कमजोरीलाई आँखा बन्द गरेर अपनाउने बानी हटाइन्छ ।
यो पद्धतिअन्तर्गत नेपालमा विद्यार्थीको उचित मूल्यांकन हुन सकिरहेको छैन भने अर्कातर्फ कापी जाँचमा लापरबाही बढेको छ । यो पद्धतिको प्रयोगबाट सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्ने प्रयास गरेको देखिन्छ, किनभने देशका भविष्य मानिने विद्यार्थीलाई उचित गुणस्तर र पारदर्शी किसिमको शिक्षा प्रदान गर्नु हरेक राज्यको प्रमुख दायित्व हो ।
ग्रेडिङ पद्धतिबाट बढेको अपारदर्शी र गैरजिम्मेवारिता तथा त्रुटिहरूलाई समयमै नियाली त्यसको समाधान गर्नु आजको प्रमुख चुनौती भएको छ । अर्कातर्फ धेरै जीपीए आए विज्ञान संकाय नै रोज्ने हाम्रो सामाजिक मानसिकतामा क्रान्ति आउन जरुरी छ । विज्ञान संकाय रोज्नेहरूको बढ्दो संख्याले व्यवस्थापन तथा मानवीय संकायमा विद्यार्थी घट्दै गएका छन् ।
देश विकासमा व्यवस्थापन, मानवीय संकाय अध्ययन गर्ने दक्ष जनशक्तिको उक्तिकै खाँचो हुन्छ जति विज्ञान क्षेत्रमा लाग्ने जनशत्तिको । त्यसकारण सरकार वा राज्य पक्षबाट कुनै पनि संकाय अध्ययनमा सिमित विद्यार्थी भर्ना गर्ने नियम लागू गर्नु आवश्यक देखिन्छ । कक्षा ११ मा विद्यार्थी भर्नामा समायोजन अत्यावश्यक भैसकेको छ भने विद्यार्थीवर्गलाई देशको प्रमुख जनशक्ति तथा निकट भविष्य मानी दूरदर्शी हुँदै शैक्षिक प्रणालीमा सुधार ल्याउन ढिलाई गरिनु हुँदैन ।