साप्ताहिक संवाददाता
नाम डायना सेकेन्ड । भर्चुअल वर्ल्डकी डायना रोज । उमेरले उनी मात्र २१ वर्षकी भइन् । शैक्षिक योग्यता प्लस टु फेल । महोत्तरी स्थायी ठेगाना भएकी डायना काठमाडौंमा बस्छिन् । बोल्ड र कन्फिडेन्ट देखिने डायनाले झन्डै दुई वर्षअघि भारतीय नागरिक श्रीपल जैनलाई फेसबुकबाट साथी बनाइन् । उनीहरूबीच कुराकानी हुन थाल्यो । जैन डायनाबाट प्रभावित हुँदै गए । डायनाले जैनलाई आफू ‘धनाढ्य’की छोरी भएको परिचय दिइन् । उनले आफ्नो सुनको पारिवारिक बिजेनश अमेरिका, सिंगापुर, दुबई, भारत र नेपालमा रहेको बताइन् । जैन युवतीको बोल्ड व्यक्तित्वबाट मुग्ध नै थिए, अझ उनको व्यापारिक साम्राज्यका बारेमा सुनेपछि थप मोहित भए ।
यसबीच डायनाले परिवारसहित भारतको महाराष्ट्रमा बस्ने ३८ वर्षका जैनलाई भेटघाटका लागि दुबई बोलाइन् । धनाढ्यकी छोरीको प्रस्ताव उनले अस्वीकार गर्न सकेनन् र दुबई पुगे । ‘उनीहरूबीच दुबई र भारतमा भेटघाट भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन् । डायनाको दुबई र भारत भ्रमणको सबै खर्च जैनले नै बेहोरे । भारत जाँदा श्रीपलले डायनालाई पारिवारिक आतिथ्यता प्रदान गरेका थिए ।
त्यही क्रममा ५ असारमा उनीहरू नेपाल आए भने ६ असारमै भारत फर्कन अनलाइनबाट टिकट बुकिङ गरे । भारत जाने दिन विमानस्थल पुग्नु अघि आफ्नो बुबाले पठाएको सुन छुटाउन भन्सारमा ठूलो रकम चाहिएको भन्दै डायनाले जैनसँग नगद माग गरिन् । त्यसबीच डायनाका बुवा भनिने सक्षम अग्रवाल नामक नक्कली फेसबुक प्रयोगकर्ता पनि जैनसँग जोडिसकेका थिए । उनले पनि छोरीलाई पैसा दिन भन्दै उक्त रकम भारत फर्किएपछि फर्काइदिने बताए । जैनले घरबाट मगाएर २३ लाख रुपैयाँ डायनालाई दिए । पैसा पाएलगत्तै भारत उडन विमानस्थल छिर्ने क्रममा डायनाले पासपोर्ट हराएको नाटक गरिन् । जैन एयरपोर्टमै कुरिरहे, तर डायना फर्किनन् । डायना फिल्मी शैलीमा हराएपछि जैन प्रहरीकहाँ पुगे । त्यही साँझ अपराध अनुसन्धान महाशाखाको टोलीले डायनालाई नरेफाँटस्थित डेराबाट २० लाख ८० हजार नगदसहित पक्राउ गर्यो । धनाढ्यकी नक्कली छोरी डायनालाई हिरासतमा पुर्याउने कारण बन्यो—ठगी ।
डायनाले प्रहरीसँग आफूले जैनबाट पैसा लिएको स्वीकार गरेकी छिन्, तर उनले प्रहरीसँगको बयानमा आफूले सापटीका रूपमा उक्त पैसा लिएको दाबी गरेकी छिन् । प्रहरीले डायनामाथि मुलुकी फौजदारी दफा २४९ को उपदफा ३ बमोजिम अदालतमा मुद्दा दायर गरेको छ । अहिले उनी प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
अर्ध खैरो रंग पोतिएका केश । आँखामा उही शैलीको गगल्स । झट्ट हेर्दा उनी कुनै कर्पोरेट युवतीजस्ती देखिन्छिन्, तर खासमा उनी न कर्पोरेट महिला हुन् न त सामान्य युवती । गोरो अनुहारकी यी चम्किली महिलाको आवरणले छिनभरमै मोहित तुल्याउँछ ।
पाँचथरकी २५ वर्षीया यी युवतीको नाम हो— मधु (नाम परिवर्तन), यद्यपि उनको भित्री रूप भने अलि भिन्न छ अनि अलि भयानक पनि । बाहिरी आवरणमा जतिसुकै सुन्दर भए पनि आफ्नो त्यही भित्री रूपका कारण उनी गिरफ्तार भइन्, ५ कात्तिक २०७५ मा । मधु ‘हनी ट्र्याप’ शैलीमा चुम्बन गरेको भिडियो देखाएर व्यवसायीलाई ब्लाकमेल गरेको आरोपमा पक्राउ परेकी थिइन् । उनीसहित प्रहरीले गोरखाका एक ३१ वर्षीय पुरुषलाई गौशालाबाट पक्राउ गरेको थियो ।
मधुलाई गिरफ्तार गराउने घटना आफैंमा अचम्मको छ । उनी अर्कै युवतीको नाममा फेक फेसबुक एकाउन्ट चलाउँथिन् । त्यही क्रममा उनले एक दिन ललितपुरका एक व्यापारीलाई फेसबुकबाट फ्रेन्ड रिक्वेट पठाइन् । व्यवसायीले उनको फ्रेन्ड रिक्वेष्ट एसेप्ट गरे । कुराकानीकै क्रममा उनले व्यवसायीको फोन नम्बर मागिन्् । व्यवसायीले आकर्षक युवतीको प्रस्ताव अस्वीकार गर्न सकेनन्, आफ्नो फोन नम्बर दिए । १ असार ०७५ मा मधु ती व्यवसायीसँग भेट्न उनकै कार्यालय पुगिन् । त्यहाँ उनले आफ्नो परिचय दिइन्, ‘मेरो नाम मधु, घर झापा ।’ केही समय अफिसमै गफगाफ भयो । युवती कति फरवार्ड निस्किइन् भने उनले व्यापारीलाई अँगालो हाल्दै चुम्बन गरिन् अनि त्यसको भिडियो पनि बनाइन् । भिडियो बनाइसकेपछि उनी बेपत्ता भइन् ।
त्यसपछि सुरु भयो, ती व्यापारीसँग ब्ल्याकमेलिङको क्रम । युवतीले बनाएको भिडियो देखाएर एक पुरुषले ती व्यवसायीसँग एक करोड माग्न थाले । उनी भन्थे, ‘एक करोड दिने भए देऊ, नत्र भिडियो सार्वजनिक गरिदिन्छु ।’ निरन्तरको ब्ल्याकमेलिङ पछि व्यवसायी प्रहरीकहाँ पुगे । प्रहरीले उनीहरू दुवैको ब्ल्याकमेलिङ यात्रा भत्कायो— ५ कात्तिक ०७५ मा ।
रोशनी (नाम परिवर्तन) । उमेरले उनी १९ वर्षकी मात्र भइन् । गोरो आकर्षक शारीरिक बनावटकी रोशनीको घर दाङ हो । रोशनीले प्लस टुसम्म मात्र अध्ययन गरेकी छिन् । परिवारको आर्थिक अभाव टार्न विदेश जाने तयारीमा थिइन्, उनी । यतिकैमा तीन वर्षअघि उनी दाङकै ३१ वर्षीय एक युवकको सम्पर्कमा पुगिन् । कोमानन्द नामका ती युवकले उनलाई जागिर दिलाउने आश्वासन दिएर काठमाडौं ल्याए ।
काठमाडौं आइपुगेपछि रोशनी न विदेश जान पाइन्, न त जागिर नै । बरु उनलाई काठमाडौं ल्याउने कोमानन्दले उनको आकर्षण जीउडालको उपयोग गलत काममा गर्न थाले । उनले हनी ट्र्यापका लागि रोशनीको रूपलाई अस्त्र बनाए । बेरोजगार रोशनीलाई ‘हनी ट्र्याप’मा नक्कली प्रेमिकाको भूमिका दिइयो ।
सुन्दर र आकर्षण जीउडाललाई उनले व्यवसायी एवं पैसावालाहरूलाई मोहजालमा पार्ने हतियारमा रूपमा प्रयोग गर्नुपर्ने भयो । कोमानन्दले भूमिका दिन्थे, रोशनी फिल्मी अभिनेत्रीकै शैलीमा नाटकीय अपहरण र लुटपाटमा प्रेमिकाको भूमिका निर्वाह गर्थिन् । कोमानन्दले उनलाई व्यवसायी एवं पैसावालहरूको फोन नम्बर दिन्थे, त्यसमा फोन गरेर रोशनीले उनीहरूलाई आफ्नो मोहजालमा पार्थिन् । मोहजालमा परेको व्यक्तिलाई कोठा वा गेस्टहाउसमा ल्याइसकेपछि उनको भूमिका सकिन्थ्यो । त्यसपछि नक्कली सिआइबी बनेका कोमानन्दको समूहका सदस्यहरू त्यहाँ पुग्थे । उनीहरूले सिआइबीका नाममा रेड मार्थे र बार्गेनिङपश्चात् पैसा असुल्थे । एकपछि अर्को गरी विभिन्न व्यवसायी रोशनीको सुन्दरताको मोहजालमा परेर ठगिन् थाले । पछि त्यो उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) पुग्यो । प्रहरी २ असार ०७४ मा कोमानन्दले रोशनीको रूपको आडमा चलाएको हनी ट्र्यापको जालो भत्काउन सफल भयो ।
झन्डै २ वर्ष रमा (नाम परिवर्तन) भारतमा इन्जिनियर पढिरहेका एक युवकसँग फेसबुक मार्फत नजिकिइन् । सुन्दर युवतीलाई प्रेमिका रूपमा भेट्टाएछि युवक पनि मख्ख परे । उनी ‘फेसबुके प्रेमिका’ मात्र हुन् भन्ने उनले कल्पनासम्म गरेनन् । युवक आफ्नो मोहजालमा परिसकेपछि अनेक बहाना देखाएर २० वर्षीय रमाले ९ लाख ५० हजार रुपैयाँ मागिन् । पछि, प्रेमिका त अचानक टाढा हुन थालिन्, बरु उनलाई अनेक धम्की दिन थालिन् । त्यसपछि रमाले युवकसँग प्रेमको नाटक गरेको खुल्न आयो । उनी उजुरी बोकेर प्रहरी परिसर काठमाडौं पुगे । त्यसपछि प्रहरीले युवतीलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो । ३ भदौं २०७५ मा काठमाडौं जिल्ला अदालतमा ५ लाख धरौटी बुझाएर ती युवती छुटिन् । ती युवतीसँग मिलेर ठगी गर्ने अर्का एक युवकको समेत मिलेमतो पाइएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेर मुद्दा चलायो । युवक पनि ३ भदौ २०७५ मै ५० हजार धरौटीमा अदातलबाट छुटे ।
डायना, मधु, रोशनी र रमा त फरक रूपमा सहरमा मौलाइरहेको अपराध शैली हनी ट्र्यापका उदाहरण मात्र हुन् । अहिले आफ्नो सुन्दरतामा मोहित पारेर पुरुषलाई ठगी, ब्लाकमेलिङ र लुटपाट गर्ने क्रम बढ्दो छ । पछिल्लो एक वर्षमा मात्र यस्ता आधा दर्जनभन्दा बढी घटनामा संलग्न युवतीहरू पक्राउ परिसकेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटी पछिल्लो केही समययता पैसा कमाउनका लागि आफ्नो सुन्दरतालाई हतियार बनाउनेहरू बढेको बताउँछन् । ‘यस्ता घटना बढिरहेका छन्,’ बोगटी भन्छन्, ‘तर, सामाजिक हिसाबले मानिसहरू यस्ता कुरामा एक्पोज हुन चाहदैनन् ।’
बाहिरी आवरण हेरेर चिन्न सकिँदैन
होविन्द्र बोगटी / प्रवक्ता, महानगरीय प्रहरी परिसर, काठमाडौं
बाहिरी आवरण हेर्दा यस्ता मान्छेले पनि अपराध गर्लान् र भन्ने लाग्नेहरूले पनि किन अपराध गर्छन् ?
आउटलुकका आधारमा हामी कसैको इनर कुरा पत्ता लगाउन सक्दैनौं । बाहिरबाट सिधासाधा देखिने कतिपय मानिस भिक्रबाट त्रिमिनल माइन्डका हुनसक्छन् । कसै–कसैको माइन्ड नै क्रिमिनल्ली मोटिभेट हुन्छ । ठग्ने, अपराध गर्ने, लुट्ने, कसैलाई फसाउने किसिमले उद्धत भएको हुन्छ । त्यस्ता किसिमका मानिसलाई बाहिरी आवरण हेरेर मात्र चिन्न सकिँदैन ।
हनी ट्रयाप शैलीमा धनाढ्य तथा पैसावालाहरूलाई ठग्ने क्रम कत्तिको छ ?
कतिपय महिलामा म सुन्दर छु, मैले केटाहरूलाई सजिलै फसाउन सक्छु, उनीहरूलाई ट्रयापमा पार्न सक्छु भन्ने हुन्छ । उनीहरूले केटाहरूलाई विभिन्न प्रलोभन दिन्छन्, केहीले फेसबुकमार्फत, केहीले भेटघाटमार्फत, फोन मार्फत अथवा म्यासेन्जसरमार्फत । विभिन्न प्रलोभन दिएर वा मीठा कुराहरू गरेर केटाहरूलाई फसाइएको पनि पाइन्छ । आफ्नो भेष बदलेर, आफ्नो नाम ठेगानाहरू बदलेर, नयाँ मोबाइल नम्बरहरू प्रयोग गरेर, फेक आइडीहरू युज गरेर केटाहरूलाई फसाइएका घटना बढ्दै गएका छन् ।
त्यस्ता युवतीहरूको मुख्य मोटिभ के देखिन्छ ?
युवतीहरू केटाहरूलाई माया गर्छु भनेर सम्बन्ध विस्तार गर्ने, माया गरे जस्तो देखाउने, केटाहरूलाई अँगालो हाल्ने, चुम्बन गर्नेजस्ता हर्कत पनि गर्ने र अन्त्यमा उनीहरूलाई पैसाका लागि ब्ल्याकमेल गर्ने किसिमका हर्कत बढी देखिन्छ ।
यस्ता केस कति आइरहेका छन् ?
यस्ता किसिमका केस कमै मात्रामा आउँछन् । घटना बढी हुन्छन्, तर सामाजिक हिसाबले मानिसहरू यस्ता कुरामा एक्सपोज हुन चाहँदैनन् । सम्बन्धित मनिसको व्यक्तिगत जीवनका कुरादेखि धेरै कुरा प्रभावित हुने भएकाले केटीहरूबाट ब्लाकमेलिङ भएका, कहिलेकहीँ केटाहरूबाट केटीहरू ब्लाकमेलिङमा परेका केस कमै मात्रामा प्रहरी कहाँ आइपुग्छन् ।