
नेपाली लेखकले लेखेका कथा एकसे एक राम्रा छन्, तर यहाँ मेकिङमा समस्या छ । जति नै राम्रो स्क्रिप्ट लेखेर दिए पनि मेकरले त्यो स्क्रिप्टप्रति न्याय गर्न सकेका छैनन्, सामिप्यराजको बुझाइ छ, जहाँसम्म दर्शकको कुरा छ, दर्शक भनेका ग्राहकजस्तै हुन् । उनीहरूलाई आफ्नो लगानीबाट अधिकतम सन्तुष्टि लिने अधिकार छ ।
झन्डै महिना वा वर्ष दिन लगाएर निर्माताले जति उत्साहका साथ चलचित्र निर्माण गर्छन्, केही अपवादबाहेक त्यो उत्साह चलचित्र प्रदर्शनको सुरुवाती दिनदेखि नै निरुत्साहमा रूपान्तरण हुन्छ । निरुत्साह यस अर्थमा कि चलचित्र प्रदर्शनमा आएको दिन अर्थात् शुक्रबार उक्त चलचित्र हेर्न कमैमात्र दर्शक हल पुग्छन् । हातमा गन्न सकिने चलचित्रमा मात्र दर्शकको ध्यान केन्द्रित भए पनि बाँकी चलचित्रमा दर्शक उपस्थिति पातलै हुन्छ । विश्वव्यापीकरण, बढ्दो प्रविधि एवं सामाजिक सन्जालको विकासले तिनै दर्शकको चासो स्वदेशीभन्दा पनि विदेशी चलचित्रमा बढ्दै गएको छ । त्यसैले नेपाली चलचित्रमा लामो समयदेखि चल्दै आएको बहस नै नेपाली चलचित्र हेर्न दर्शक किन हलसम्म आउँदैनन् भन्ने नै हो ।
अभिनेता नीर शाह युवापुस्ताका दर्शकले राम्रा चलचित्र हेर्न चाहे पनि त्यस्तो चाहना पूरा हुन नसकेको बताउँछन् । राम्रा चलचित्रकर्मीको चलचित्रमा दर्शक बढ्नु र अन्यमा त्यस्तो नदेखिनुको कारण पनि यही भएको उनको बुझाइ छ । ‘उदाहरण हेर्ने हो भने निश्चल बस्नेत, दीपकराज गिरी आदि आफूलाई ब्रान्डका रूपमा स्थापित गरिसकेका चलचित्रकर्मीका चलचित्रमा दर्शकको चाप राम्रो हुन्छ । किनभने उनीहरू राम्रो कथा, पटकथा एवं संवादको मिश्रण गरेर चलचित्र निर्माण गर्छन् । दर्शकमा पनि उनीहरूले राम्रो चलचित्र बनाउँछन् भन्ने विश्वास छ । त्यो विश्वासलाई उनीहरूले तोड्न दिएका छैनन्’, शाह भन्छन्, ‘उनीहरूको निर्देशनमा पनि उत्तिकै मेहनत देखिन्छ । दर्शकले टिकट काटेर चलचित्र हेर्दा पैसा खेर गएको अनुभव गर्नु हुँदैन, तर नेपालमा चलचित्र निर्माण शैली फरक छ । यहाँ कथालाई भन्दा पनि कलाकारमा ध्यान दिइन्छ । जसले गर्दा राम्रो कथामा चलचित्र बन्न सकिरहेका छैनन् ।’
नीरको अनुभवमा चलचित्र बनाउन कडा परिश्रम आवश्यक हुन्छ, तर त्यो परिश्रम नेपाली चलचित्रमा कमै देखिन्छ । ‘राम्रो चलचित्र बनाएपछि त्यसमा दर्शक आकर्षण गर्न सक्ने क्षमता चाहिन्छ । यो कुरा केही चलचित्रकर्मीमा मात्र पाइन्छ’, नीर खुल्छन्, ‘सञ्चारमाध्यममा बेला–बेलामा कलाकारको पारिश्रमिकको कुरा पनि उठ्छ । त्यसमा कसले कति पारिश्रमिक लियो भन्ने समाचारले प्राथमिकता पाउने गरेको छ । आज २० लाख पारिश्रमिक लिएँ भन्ने कलाकार भोलि २० लाखमा पनि बिकेन भने त्यो त राम्रो भएन नि । यस्तो समाचारले त चलचित्र क्षेत्रमा आउन चाहने नयाँपुस्तालाई ‘ओहो चलचित्रमा काम गर्दा त धेरै पारिश्रमिक पाइदो रहेछ’ भन्ने भ्रम पर्छ ।’ नीर अब चलचित्रकर्मीले कलाकारलाई नभई राम्रो कथा लेख्ने लेखकलाई २० लाख पारिश्रमिक दिनुपर्ने जिकिर गर्छन् ।
चलचित्र लेखक सामिप्यराज तिमल्सिनाको बुझाई नीरको भन्दा अलिक फरक छ । ‘नेपाली लेखकले लेखेका कथा एकसे एक राम्रा छन्, तर यहाँ मेकिङमा समस्या छ । जति नै राम्रो स्क्रिप्ट लेखेर दिए पनि मेकरले त्यो स्क्रिप्टप्रति न्याय गर्न सकेका छैनन्’, सामिप्यराजको बुझाइ छ, ‘जहाँसम्म दर्शकको कुरा छ, दर्शक भनेका ग्राहकजस्तै हुन् । उनीहरूलाई आफ्नो लगानीबाट अधिकतम सन्तुष्टि लिने अधिकार छ । त्यसकारण उनीहरूले आफूलाई मन परेको सामान छानेर खरिद गर्छन् । जहाँसम्म हलिउड र बलिउड भन्ने कुरा छ, कुनै पनि पसलमा गएको ग्राहक उसले किन्न चाहेको सामानबाट सन्तुष्ट छ भने उसले कुन देशमा उत्पादन भएको हो भन्ने कुरा हेर्दैन ।’
सामीप्यका अनुसार विश्वव्यापीकरण र सूचना प्रविधिले गर्दा विश्वका जुनसुकै देशमा चलचित्र दर्शकले एक क्लिककै भरमा हेर्न सक्छन् । ‘राम्रो चलचित्र हेर्न चाहने दर्शकले देशको छनौट गर्दैनन् । यद्यपि नेपालमा चाहिँ राम्रो कथा भए पनि राम्रो चलचित्र दिन सकेका छैनौं’, उनको दाबी छ, ‘अब चलचित्रकर्मीले राम्रो चलचित्र कसरी बनाउने भन्ने विषयमा चिन्तन गर्नुपर्ने आवश्यकता छ ।’
कुनै समय नेपाली चलचित्रमा पोखरा र चोभार छुटाउनै नहुने लोकेसन थिए, तर अहिले चोभार त खासै देखिँदैन्, पोखरा पनि कमै मात्र देखिन्छ । अहिले चलचित्रकर्मीको ध्यान ‘भर्जिन लोकेसन’ तिर जान थालेको छ । त्यही कारण उनीहरू नेपालको हकमा मनाङ, मुस्ताङ, रसुवा आदि हिमाली जिल्लासँगै विदेशमा अमेरिका, बेल्जियम, अस्ट्रेलिया, बेलायत आदिसम्म पुगेर आफ्नो चलचित्रको छायांकन गरिरहेका छन् । यद्यपि नाम चलेका कलाकार तथा राम्रा लोकेसनमा चलचित्र खिच्दा पनि दर्शकको आकर्षण बढ्न सकेको छैन ।
चलचित्र ‘कबड्डी’लाई ब्रान्डका रूपमा स्थापित गरेका निर्देशक रामबाबु गुरुङ बढ्दो प्रविधिको प्रयोगका कारण नै दर्शक घटेको दाबी गर्छन् । सामाजिक सन्जालको प्रयोग तथा हेरेर मनोरञ्जन गर्ने माध्यमको विस्तारसँगै दर्शकमा आएको चेतनाले पनि नेपाली चलचित्रका दर्शक घटेको उनको बुझाइ छ । ‘अहिले मिडिया नै प्रत्येक मानिसको हातमा छ । अहिले दर्शकहरू हलमा भन्दा पनि नेटफ्लिक्स, युट्युबमा बढी छन्’, रामबाबु भन्छन्, ‘जसका कारण अहिले बनिरहेका चलचित्रमाथि चुनौती थपिएको छ । किनभने चलचित्रको विकल्प के छ भन्ने पनि छैन । अहिलेका दर्शकले कुन चलचित्रमा कुन कलाकार छ भन्नुभन्दा पनि कन्टेन्ट कस्तो छ भन्ने कुरामा ध्यान दिन थालेका छन् ।’
रामबाबु चलचित्रमा दर्शक विभाजनको असर पनि परेको तर्क गर्छन् । ‘चलचित्र निर्माण नहुँदै कुन दर्शकका लागि चलचित्र बनाइएको हो भनेर विभाजन जस्तै गरिन्छ । सिंगल थिएटर कि मल्टिप्लेक्स भन्ने रोगले पनि दर्शकमा असर परेको छ’, रामबाबु खुल्छन्, ‘जसले जे भने पनि मुख्यकुरा कथा नै हो । राम्रो कथालाई राम्रोसँग प्ले गर्न सकियो भने त्यो चलचित्रमा पक्कै दर्शक अभाव हुँदैन ।’
चलचित्र ‘छक्कापन्जा’ सिरिजको निर्देशन गरी आफूलाई अब्बल निर्देशक साबित गरिसकेकी कलाकार तथा निर्देशक दीपाश्री निरौला दर्शकलाई चलचित्रमा बाँध्न नसक्नु नै चलचित्रकर्मीको कमजोरी मान्छिन् । ‘हामी बजेट, कलाकार, लोकेसन, प्रविधि सबै किसिमले उच्च स्थानमा छौं, तर कथामा कमजोर छौं । दर्शकलाई बाँध्नै सकिएको छैन । राम्रो कथा, पटकथा तथा संवाद नभै उनीहरूलाई मनोरन्जन प्रदान गर्न सकिँदैन’, दीपाश्री भन्छिन्, ‘हामी प्रस्तुतिमा लुज छौं । भारतमा पनि वर्षेनी सयौं चलचित्र बन्छन्, तर केही चलचित्र मात्र चल्छन् । त्यसको कारण पनि कमजोर प्रस्तुति नै हो ।’
दीपाश्रीको अनुभवमा नेपाली चलचित्रका लागि राम्रो कथा लेखिए पनि त्यसको प्रस्तुतीकरणमा भने निर्देशक चुकेका छन् । ‘पहिलो कुरा कस्तो कथामा चलचित्र बनाइँदैछ भन्ने कुरा निर्देशकलाई जानकारी हुनुपर्छ, अन्यथा कथा एउटा, प्रस्तुतीकरण अर्को हुनसक्छ । अर्को कुरा, हामीलाई चलचित्रको धार नै थाहा छैन् । कमेडी हो भने कमेडी, सेन्टिमेन्टल हो भने सेन्टिमेन्टल हुनुपर्यो । कमेडीमा सेन्मिेन्टल घुसायो भने दर्शकलाई त्यो पच्दैन । चलचित्र यथार्थपरक पनि हुनुपर्छ’ –उनी भन्छन् ।
चलचित्र निर्देशक दिनेश डिसी विश्वव्यापी रूपमा चलचित्र बनाउने ट्रेन्ड एउटै हुने बताउँछन् । ट्रेन्ड एउटै भए पनि कसले राम्रो बनायो वा कसले नराम्रो बनायो भन्नेमा दर्शकको चासो रहने डीसीले बताए । ‘मुख्य कुरा चलचित्र बनेपछि त्यसको मार्केटिङ क्याम्पेन कसरी गर्ने भन्नेमा हामी कमजोर छौं । क्याम्पेन गर्ने शैली नै पुरातन किसिमको छ’, दिनेश भन्छन्, ‘हामी बालबालिका लागि भनेर चलचित्र बनाउँछौं, तर त्यसको क्याम्पेनचाहिँ सबै उमेरका समूहमाझ गर्छौं । जुन वर्गका लागि चलचित्र निर्माण गरिएको हो, त्यो वर्गलाई क्याम्पेनको टार्गेट बनाउँदैनौं ।’
दिनेश चलचित्रकर्मीहरू कथामुखी भन्दा पनि पैसामुखी भएकाले राम्रो चलचित्र बन्न नसकेको ठोकुवा गर्छन् । ‘चलचित्र निर्माताहरूको प्राथमिकता कथा भन्दा पनि पैसामा हुन्छ । कसले राम्रो पैसा इन्भेस्ट गर्छ भनेर उहाँहरू पैसा भएको मान्छे खोज्न थाल्नुहुन्छ । मान्छे भेटिएपछि मात्र कथातिर ध्यान दिनुहुन्छ । यो पनि अर्को कमजोरी हो’, डीसीको दाबी छ, ‘पहिले राम्रो कथा खोजेर त्यो कथालाई न्याय दिन सक्ने पैसा खोजी गर्न सके मात्र राम्रा चलचित्र बन्ने वातावरण हुन्छ ।’
चलचित्र मनोरञ्जनको माध्यम हो । पैसा तिरेर टिकट काटी चलचित्र हेर्न हल पुग्ने दर्शकले पहिले मनोरञ्जन अनि मात्र सन्देश खोज्छन् । मनोरञ्जन र सन्देशका नाममा मनगढन्ते कथामा चलचित्र निर्माण गर्दा त्यसको जति असर दर्शकलाई पर्छ, त्योभन्दा बढी असर निर्माता स्वयंलाई पर्छ ।