
प्रेम, एक अभूतपूर्व अनुभूति जसलाई जीवनको सुन्दर उपहार तथा स्वरुपका रुपमा ग्रहण गरिन्छ । यौन, एउटा अलौकिक आनन्द र सामिप्यता जसलाई क्षणभरको नभै जीवनभरिका लागि आपसी निकटताको आधार मानिन्छ । वचनबद्धता, एउटा त्यस्तो समर्पण जसमा मानिसले आफूलाई भन्दा आफ्नो सम्बन्धमा रहेको अर्को पक्षको खुसी एवं आवश्यकता पूर्तिमा आफ्नो सुख खोज्छ, तर समयसँगै, बदलिंदो परिवेशसँगै यी सबै कुराको परिकल्पना र वास्तविकताबीच तालमेल बिग्रँदै गएको छ वा अर्थ नै परिवर्तन हुन थालेको छ । आज प्रेमको अर्थ आकर्षण, यौनको अर्थ आनन्द र वचनबद्धताको अर्थ स्वार्थ हुन पुगेको छ ।
महिला–पुरुषबीचको रोमान्टिक सम्बन्धलाई पूर्णता प्रदान गर्ने यी तीन शब्दको अर्थ र प्रयोजन आजको अवस्थामा पूर्ण रुपमा परिवर्तित भएको छ । विगतलाई हेर्ने हो भने सम्बन्धको परिभाषाभित्र समेटिने महिला–पुरुषहरू धेरै हदसम्म उनीहरूको घर–परिवार एवं समाजले बनाएको वा स्वीकार गरेको मूल्य मान्यता वा नियमअन्तर्गत नै आपसी सम्बन्धको दायरामा बाँधिन्थे । उनीहरूको जिम्मेवारी एवं कामको दायरा पनि निश्चित हुन्थ्यो । मर्यादा तथा अनुशासन पनि तय हुन्थे र त्यसलाई अस्वीकार गर्ने परिस्थिति पनि हुँदैनथ्यो ।
यद्यपि आजको परिवेश त्यस्तो छैन । आज प्रेम धेरैका लागि आकर्षणको दायराभित्र समेटिन पुगेको छ, जसलाई निर्वाह गर्ने अवधि त्यति मात्र हुन्छ जब सम्म एक–अर्काबीचको आकर्षणको लक्ष्मण रेखा पार हुँदैन । यौनका लागि पनि अब सम्बन्धको वचनबद्धता आवश्यक मानिंदैन । यौन शरीरको आवश्यकता मानिएसँगै यसलाई भावनात्मक लगाव, आपसी सम्बन्धको आत्मीयताभन्दा पनि एक अर्काको शरीरको आवश्यकता पूर्तिका रूपमा बुझ्न थालिएको छ । त्यसैले विवाह रुपी संस्थाको धरातल कमजोर हुँदै गएको छ ।
विगतमा निजता एवं सामाजिकताको अर्थ निश्चित थियो । घर–परिवार निजी र त्योभन्दा बाहिरको दायरामा सामाजिकता, तर आज यसमा पनि धेरै अन्तर आएको छ । आज घर परिवार भित्रै दाम्पत्य जीवन र दाम्पत्य जीवनभित्र पनि महिला–पुरुष दुवैको आ–आफ्नो निजता वा व्यक्तिगत जीवनको उपस्थिति देखिन्छ । दाम्पत्य जीवनमै पर्सनल स्पेश एवं व्यक्तिगत स्वतन्त्रताको आवश्यकता तथा त्यसको उपयोगलाई निकै महत्वपूर्ण मान्न थालिएको छ ।
आजको युवा पुस्ता जो विवाह योग्य छ, उसले प्रेम, यौन र वचनबद्धताप्रति देखाएको फरक सोच तथा व्यवहार उसको बाल्यावस्थाको वातावरणमा निर्भर हुन थालेको छ । हाम्रो समाजले फड्को मारेको छ, हामीमा परिवर्तन आएको छ र सँगै हाम्रो सोच पनि बदलिएको छ । हिजोआज धेरैजसो मानिस वचनबद्धता व्यक्त गर्न चाहँदैनन्, कारण उनीहरू स्वयंलाई पनि थाहा हुँदैन कि उनीहरूको सम्बन्ध कति दीर्घायु र कति सुमधुर रहन्छ । जीवनशैली फास्ट फूडकै रफ्तारमा अघि बढेको छ र यसको सबैभन्दा बढी प्रभाव परेको छ हाम्रो सम्बन्धमा । विगतका दिनमा सम्बन्धमा भएका व्यक्तिहरू एक–अर्काका लागि समर्पणको भाव राख्थे । आफ्नो चाहनालाई छोडेर अर्को पक्षको आकांक्षा पूरा गर्ने प्रयासमा रहन्थे ।
अर्को पक्षको सपनामै आफ्नो चाहना साकार गर्ने प्रयत्न गर्थे र यी सबै कुरा बाध्यतामा नभै सहर्ष स्वीकार्य अवस्थामा हुन्थ्यो । आज परिस्थिति फरक देखिन्छ । आज सबै आत्मकेन्द्रित हुँदै गएका पाइन्छन् । आफ्नो खुसी, आफ्नो सपना, आफ्ना आकांक्षा, सम्बन्धमा भएर पनि दुवै पक्ष आ–आफ्नो व्यक्तिगत जीवनका निजी परिधि र पक्षहरूलाई नै महत्व दिंदै बाँच्न चाहेको देखिन्छ । स्वतन्त्र हुुनुको अर्थले स्वतन्त्रताको महत्व र आवश्यकतालाई ओझेलमा पारेको अनुभव गर्न सकिन्छ । व्यक्तिगत जीवनको नाममा हामीबीच पनि म र मेरोले प्राथमिकता पाएको छ, जसमा अर्को पक्षले लगाव राख्दैन वा राख्ने अवस्था तथा अवसर हुँदैन । यो परिस्थितिमा साझेदारीको अर्थ गलत सावित हुन्छ । विश्वास र भरोसाको अर्थ दिवास्वप्न बन्छ पुग्छ भने वचनबद्धता र आत्मीयताका लागि कुनै ठाउँ रहने सम्भावना हुँदैन ।
अब बाँकी रह्यो यौनको कुरा । यौन आजभोलि तीव्र गतिमा क्याजुयल हुँदै गएको पाइन्छ । आफू सम्बन्धमा रहेको व्यक्तिसित नै यौन जीवन जिउनुपर्छ भन्ने आवश्यकता पनि रहन छोडेको छ । यौनका लागि बहु–यौनसाथीको विकल्प पनि बढ्दो छ र एक रातको सम्बन्ध पनि स्वीकार्य हुँदै गएको पाइन्छ । यौनको अर्थ शारारिक सम्बन्ध भन्ने सहज बुझाईमा समेटिन पुगेको छ । यही कारणले गर्दा विवाह पूर्व यौन सम्बन्धका लागि सहजता बढ्दो छ । यौनजीवनको प्रारम्भका लागि विवाहको आवश्यकता महसुस गरिंदैन । विवाहको प्रयोजन यौन आवश्यकताको परिपूर्तिका लागि मात्र होइन, तर आजको पुस्ताले विवाहको योभन्दा फरक उद्देश्य देख्न छोडेको छ र त्यसैले यौनका लागि मात्र वैवाहिक जीवनमा प्रवेश गर्नु कुनै बुद्धिमानी नभएको सोच बढ्दै गएको छ ।