
१३ औं साग खेलकुदको बन्द शिविरमा रहेका कराँते खेलाडीहरू कठिन प्रशिक्षण गरेर शरीरबाट निथ्रुक्क हुने गरी पसिना बगाइरहेका थिए । प्रशिक्षण सकेर उनीहरू सोझै आफू बसेको होटलको डाइनिङ हलमा गए । होटलले मेन्युअनुसार उनीहरूलाई एक बाउल सुप, दुई पिस पाउरोटीको टोस्ट र एक गिलास चिया बनाएर राखिएको थियो । प्रशिक्षणबाट लखतरान भएका खेलाडीहरूले होटलको मेन्युअनुसारको खाना खाए ।
आयोजकले व्यवस्था गरेको बजेट मेन्युअनुसार होटलले तयार पारेको उक्त खाना त्यो अवस्थामा खेलाडीको शरीरलाई चाहिने पोषक तत्त्वले भरिपूर्ण थियो कि थिएन भन्ने विषयमा खेलाडी, प्रशिक्षक, होटल व्यवस्थापन र आयोजक समिति कोही पनि जानकार थिएनन् । प्रशिक्षण गरेर भोकाएका बेला उक्त खाना खेलाडीहरूलाई अमृतसमान भइरहेको थियो र उनीहरूले मज्जा मान्दै खाइरहेका थिए ।
बन्द शिविरमा होस्, प्रतिस्पर्धाका बेला होस् वा अरू बेला गरिने अभ्यासका क्रममा नै किन नहोस्, नेपाली खेलाडीहरूको खानपिन शैलीको चर्चा हुने गर्छ । खानपिनको चर्चा चल्दा खेलाडीहरूको खानपिनमा पोषक तत्त्वको मात्रा कस्तो छ भन्ने विषयमा बहस हुँदैन्, खानेकुरा कति पटक खान पाएका छन् भन्ने विषयलाई मुख्य प्राथमिकतामा राख्ने गरिन्छ ।
१३ औं सागमा सहभागी भएका खेलाडीहरूको आवास तथा बसोबासका संयोजक विनोद उप्रेती भन्छन्– हामीले यसपटकको साग खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई तीनदेखि पाँचतारे होटलमा राखेका छौं । उनीहरूले पनि आफ्नो होटलको गुणस्तरअनुसारकै खानेकुराको व्यवस्था न्यूनतम तीन पटक गरेका छन् ।
पोषणविद्हरूले केही समय नेपालका नाम चलेका खेलाडी र प्रशिक्षकहरूमा उनीहरूले गर्ने खानपिन शैलीको विषयमा गरेको सर्वेक्षणमा अधिकांश खेलाडीले खेल खेल्नुअघि र खेल खेलेपछि अण्डा, चना, बिस्कुट, पाउरोटी र कालो चिया खाने गरेको बताएका थिए । खेलाडीहरूलाई पनि प्रशिक्षकहरूले शरीरमा तागत बढाउन यही खानेकुरा नै खान सल्लाह दिने गरेको सर्वेक्षणमा पाइएको थियो । कराँते खेलका प्रशिक्षक कुशल श्रेष्ठ भन्छन्, ‘खेलाडीलाई हामीले अनुभव गरेर जानेको कुरा सिकाउने हो । हामीले उनीहरूलाई प्रशिक्षणका बेला जंकफुड र अरू बेफाइदा गर्ने खानेकुरा खानबाट रोक्ने प्रयास गरिरहेका मात्र हुन्छौं ।’
तागत बढ्ने नाममा चना र अण्डा । भोक मार्ने नाममा पाउरोटी, बिस्कुट र चिया खाएर खेल्नुपर्ने नेपाली खेलाडीहरूको बाध्यता रहेको धेरै खेलाडी बताउँछन् । यो नेपाली खेलकुदको खानाकै ट्रेन्ड देखिन्छ । रंगशालाबाहिर रहेका अधिकांश होटलको खानाको मेनुमा चना, अण्डा, हरियो केराउको तरकारी, सेल, मालपुवा र चिया नै रहने गरेको छ । प्रशिक्षण गरेर आएपछि खेलाडीहरूको पहिलो रोजाइको खानपिन नै यिनै परिकार हुने गरेको छ । ‘हामीभन्दा अगाडिका खेलाडीहरूले पनि यही खानेकुरा खाएर खेले, कतिले सफलता पाए अनि हामीले पनि प्रशिक्षणका बेला यही खानेकुरा खानुपर्दो रहेछ भनेर देखेर सिक्यौं । म पनि त्यसै गर्थें,’ सागमा ४ स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी दीपक विष्ट भन्छन् ।
ठूला प्रतियोगिताको मुखमा तारे होटलको बसोबास र खानपिनलाई व्यवस्थापकीय दृष्टिकोणले राम्रो देखिए पनि खेलाडीहरूले खेल्ने खेल, उनीहरूको शारीरिक संरचना जस्ता कुरालाई विश्लेषण गर्ने हो भने यो तारे होटलको खाना खेलाडीहरूको शरीर र खेल सुहाउँदो नरहेको पोषणविद् अनुश्री आचार्य बताउँछिन् । सामान्य अवस्थामा सामान्य मानिसले आफ्नो शरीरलाई के कुराको आवश्यकता छ भन्नेकुरा सामान्य खानपिनबाट प्राप्त गर्न सक्दैनन् । अझ खेलाडीहरूको खेलअनुसार उनीहरूले पाइरहेको खानपिनबाट प्राप्त गर्नेकुरा अहिलेको अवस्थामा झनै जटिल हुन्छ । यस्तो अवस्थामा उनीहरूले बर्न गर्ने क्यालोरी, प्रोटिन, मिनरल जस्ता कुरामा सन्तुलन ल्याउन सके उनीहरूको क्षमता अझ बढ्ने देखिन्छ ।
१३ औं सागमा सहभागी भएका खेलाडीहरूलाई पोषणको विषयमा छोटो समय काउन्सिलिङ गरेकी पोषणविद् अनुश्री आचार्य भन्छिन्– ‘हाम्रो खेलकुदको क्षेत्रमा एउटा खेलाडीलाई खानपिनले कस्तो किसिमको फाइदा पुर्याउँछ भन्ने विषयमा जानकारी धेरै नै कम रहेको पाए । खेलाडीहरूको खानपिन शैली पुरानै रहेको छ । यसलाई व्यवस्थित गर्न सकेमा खेलाडीलाई प्रतियोगितामा सफलता दिलाउन सकिनुका साथै भविष्यमा निरोगीसमेत बनाउन सकिन्छ ।’
कुनै पनि खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई पहिलो चरणको तयारी गर्न जब ट्रेनिङमा राखिन्छ यो बेला उनीहरूको शरीरको स्टामिना, मांसपेशीको विकास गर्नुपर्ने हुन्छ र उनीहरू बढी एक्सरसाइज गर्ने गर्छन् । यस्तो बेला उनीहरूले खेल्ने खेल, उचाइ र तौलअनुसार क्यालोरी पुग्ने किसिमको खानपिन गराउनैपर्छ । जब खेलाडीहरू बन्द शिविरमा हुन्छन् उनीहरूको प्रशिक्षण पहिलाको भन्दा कठिन हुँदै जान्छ र उनीहरूलाई स्ट्रेस पनि भइरहेको हुन्छ । यो बेलामा उनीहरूलाई दिनुपर्ने खाना फेरि फरक हुन्छ, अनि प्रतियोगिताको समयमा उनीहरूले पहिला विकास गरेको क्षमतालाई जोगाउने, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा तनाव कम गर्नुपर्ने हुनाले प्रतियोगिताको समयमा दिइने खानपिन फरक गर्नुपर्छ । खेल सकिएपछि उनीहरू आ–आफ्नो ठाउँमा फर्किन्छन् यस्तो अवस्थामा उनीहरूले गर्नुपर्ने खानपिन पनि फरक हुनुपर्छ ।
सागको तयारीमा रहेका केही खेलाडी आफूले भेट्दा उनीहरूको खानपिन शैली अव्यवस्थित पाएको आचार्य बताउँछिन् । कतिपय खेलाडीले पानीपुरी, चटपटे र काँचो चाउचाउ खाजाका रूपमा खाने गरेको समेत बताए ।
यसपटकको सागको आयोजकका हैसियतले नेपालले खेलाडीहरूलाई धेरै नै सुविधा दिएको देखिन्छ, तर उनीहरूले कतिखेर के–के खाइरहेका छन् भन्ने विषयमा जानकार भने छैनन् । चिकित्सकहरूले के खान हुन्छ के खान हुँदैन भन्ने कुरामा जानकारी दिनुहुन्छ, तर त्यो सल्लाह खेलाडीले खेल्ने खेल, उनीहरूको शरीरको बनावट आदिलाई विश्लेषण भने गर्न सकिँदैन भन्छिन् पोषणविद् आचार्य । यस्तो बेलामा डाइटिसियनलाई पनि सहभागी गरेर अगाडि गए खेलाडीहरूले अझ बढी उच्च क्षमता प्रदर्शन गर्न सक्छन् ।
सागमा सहभागी भएका खेलाडीहरूलाई अहिले उनीहरू बसेको तारे होटलले ब्रेकफास्टमा ब्रेड, जाम, अण्डा, टोस्ट, सरेज, फ्रुट्स, जुस तथा दूधको व्यवस्था गरेको छ भने लन्ज र डिनरमा बफेट राखेको छ, जसमा दाल, भात, तरकारी, मासु, मिठाइ आदि छ । यी खाना खेलाडीले होटलको बसाइ अवधिमा खाने गर्छन् । पूर्वखेलाडी तथा हाल साग गेमको प्राविधिक रहेका दिवाकरलाल अमात्यको अनुभव भने बेग्लै छ, ‘क्लोज क्याम्पमा बसेका बेलाको खानपिन र प्रतियोगिताका बेला खाइने खानपिनको बनावट नै फरक हुन्छ, जसका कारण खेल करिअरमा प्रतियोगिताअघि मैले धेरै खानपिनको समस्या भोगेको छु । हामी नेपाली खेलाडीहरू खेलअनुसारको खानपिन शैली कस्तो हुनुपर्छ भन्ने विषयमा जानकार नै छैनौं भन्दा हुन्छ । अझ अन्तर्राष्ट्रिय प्रतियोगिताका बेला होटलमा दिइने खानाको भेराइटी यति धेरै हुन्छ कि यो पनि खाऊ, त्यो पनि खाऊ हुन्छ । मासुकै धेरै थरी परिकार हुन्छन् अनि खायो भोलिपल्टदेखि पेट बिग्रने समस्या भइहाल्छ अनि प्रतियोगितामा राम्रो नतिजा आउनै सक्दैन ।’
अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी गराउँदा होस् वा खेलाडी तयारी गर्दा नै किन नहोस्, अहिले खेलाडीहरूलाई प्रशिक्षणका लागि जति तयारी गरिन्छ त्यति नै उनीहरूको खानपिनलाई पनि ध्यान दिने चलन छ । खेलाडी तयारी गर्दा प्रशिक्षक, चिकित्सक, फिजियोथेरापिस्टसँगै डाइटिसियन राख्ने चलन छ । यसपटकको सागमा केही डाइटिसियनले काउन्सिलिङ मात्र गर्न पाए, तर उनीहरूको खानपिनको निरीक्षण भने गर्न पाएनन् । खेलाडीहरूको खानपिन शैलीको निरीक्षण सम्बन्धित खेलकै प्रशिक्षकहरूले गरे । कराँतेका प्रशिक्षक कुशल श्रेष्ठ भन्छन्– ‘हाम्रो ध्याउन्न भनेको खेलाडीले नराम्रो खानेकुरा खाएर बिरामी नपरुन् भन्ने बिषयमा सचेत गराउने बाहेक अरू केही गर्न सक्दैनौं । हामीले सिकाउने भन्ने कुरा हाम्रो विगतको अनुभवले नै हो ।’
कुनै पनि प्रतियोगितामा सफलता पाउने भनेको खेलाडीमा रहेको क्षमता र उनीहरूमा रहेको कुशलताले नै हो । यो सबै कुरा उनीहरूले प्रशिक्षण र प्रतियोगिताको अनुभवले पाउँछन्, तर खेलकुदका नीति–निर्माताहरूलाई यो सबै गराउनुमा खानेकुराको हात छ भन्ने कुरामा कसैले बुझाउन नसकेको पोषणविद् आचार्य बताउँछिन् । पूर्वखेलाडी अमात्यको अनुभव पनि अलग्गै छ । जस्तो हामीकहाँ भारोत्तोलन खेल्ने खेलाडीले के खानेकुरा बढी खानुपर्छ वा म्याराथन धावकले कुन खानेकुरा बढी खानुपर्छ भन्ने खेलकुद जनचेतना नै छैन ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागकै चर्चा गर्दा यो क्षेत्रमा खेल्ने खेलाडीहरूको खानपिनको शैली लगभग उस्तै किसिमको छ । भारत, पाकिस्तान, श्रीलंकाले राम्रा खेलाडीहरूको खानपिनको निरीक्षण गर्न डाइटिसियनको व्यवस्था गरिसकेका छन् । त्यस्ता खेलाडीहरूलाई उनीहरू एसियाड, राष्ट्रमण्डल र ओलम्पिक प्रतियोगितामा उतार्ने गर्छन् । यस्ता प्रतियोगिताहरूमा उनीहरूले पाउने पदक सफलता पनि बढाउँदै गएका छन् । हामी सागभन्दा माथि आयोजना हुने प्रतियोगितामा सफलता पाउनबाट चुकिरहेका छौं । यसका कारण अरू भए पनि खानपिनको शैलीलाई वैज्ञानिकीकरण गर्न नसक्नु पनि हो भन्छिन् आचार्य । अमात्यको अनुभवमा अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जाने धेरै देशले आफ्नै डाइटिसियन र कुक लिएर जाने गरेका छन्, जसका कारण उनीहरू खानेकुरामा धेरै नै सजग हुन थालेका छन् ।