
पछिल्ला केही वर्षयता नेपाली चलचित्रका अवार्डहरूको गन्तव्य विदेश हुन थालेका छन् । रोजगारीका लागि विदेशमा बस्ने नेपालीको बाक्लो जमघट हुने देश आयोजकको रोजाइमा बढी पर्ने गरेको छ ।
एवार्डहरूले गरिमा कायम गर्न नसकेको गुनासो यत्रतत्र सुनिन्छ । कला र सौन्दर्यलाई मुख्य मापन बनाएर दिइने चलचित्र क्षेत्रका अवार्डहरूको भित्री कथा त झन् नमिठा सुनिन्छन् ।
हालै जापानमा भएको सूर्य इन्टरनेसनल एवार्डले सामाजिक सञ्जालमा निकै चर्चा पायो । सिट खाली भएको एवार्ड हलको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दर्शक उपस्थितिका विषयमा दोहोरी नै चल्यो । एवार्डमा सहभागी चलचित्रकर्मीले कार्यक्रम सुरु नहुँदैको तस्बिर भनेर ढाकछोप एकातिर गरे भने अर्कोतर्फ चलेका कलाकारको कार्यक्रममा दर्शक उपस्थिति खट्किने विषय बन्यो ।
सूर्य इन्टरनेसनलका समिर बलामी एवार्डमा सोचे भन्दा कम सहभागिता भएको कुरालाई स्वीकार्छन् । ‘हामीले जुन संख्यामा दर्शक उपस्थिति होला भनेर एवार्ड गरेका थियौं । त्यो संख्या पुग्न सकेन । जापानमा नेपाली संस्थाबीच गुटबन्दीको अवस्था देखियो’, उनी भन्छन्, ‘तर बाहिर आएको हल्ला र तस्बिर जस्तो चाहिँ होइन । त्यो तस्बिर कार्यक्रम शुरु हुनुभन्दा झन्डै दुई घण्टा अगाडिको हो ।’
कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई पनि जापानको एवार्ड सामाजिक सन्जालमा आएका तस्बिर भन्दा फरक रहेको बताउँछन् । ‘बाहिर प्रचारमा जापान एवार्डमा दर्शक नै भएनन् भन्ने भए पनि वास्तविकता त्योभन्दा फरक थियो’, केशव भन्छन्, ‘ सोचभन्दा कम दर्शक भएपनि एवार्ड भव्य र सभ्य भयो ।’
एवार्डमा सहभागी निर्देशक दीपेन्द्र लामा पनि नचाहिने कुराको बढी चर्चा भएको ठोकुवा गर्छन् । ‘मुख्य कुरा एवार्ड कार्यक्रममा दर्शक कति आएभन्दा पनि एवार्ड कसले पायो भन्ने कुराले प्राथमिकता पाउँछ । एवार्डमा दर्शक आउन सकेनन् भन्नु गलत हो’, दीपेन्द्र भन्छन्, ‘राम्रो काम, राम्रो चलचित्र बनाउनेलाई आयोजकले सम्मान गर्ने हो । तर दर्शक नै आएनन् भनेर हल्ला फिजाउनु चाहिँ बद्नियत नै देखियो ।’
पछिल्ला केही वर्षयता नेपाली चलचित्रका एवार्डहरूको गन्तव्य विदेश हुन थालेका छन् । रोजगारीका लागि विदेशमा बस्ने नेपालीको बाक्लो जमघट हुने देश आयोजकको रोजाईमा बढी पर्ने गरेको छ । सन् २००९ मा बक्स अफिस इन्टरनेसनल ग्रुपले दुबईमा ‘बक्सअफिस फिल्म फेयर एवार्ड’को आयोजना गरेको थियो । चार वर्षपछि सन् २०१३ मा नेपाल चलचित्र प्राविधिक संघ(नेफ्टा)का तत्कालीन अध्यक्ष मनोज केसीको नेतृत्वमा मलेसिया, सन् २०१४ मा हङकङ र सन् २०१५ मा कतारमा ‘नेफ्टा एवार्ड’ सम्पन्न भयो ।
त्यसअघि नेपालमै एवार्ड गरिरहेको नेफ्टाले पहिलोपटक विदेशी भूमिलाई रोजेको थियो । ‘तत्कालीन समयमा मलेसियामा नेपाली चलचित्रको प्रदर्शन अवस्था राम्रो थियो । त्यहाँ नेपालीको संख्या पनि उल्लेख्य थियो’, केसी भन्छन्, ‘नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न पनि एवार्डभन्दा अर्को उत्तम विकल्प थिएन । हामीले मलेसियाबाट एवार्ड कार्यक्रम सुरु गरेपछि अन्य एवार्ड आयोजकले विदेशी भूमिमा एवार्ड कार्यक्रम गर्न थाले ।’
छायाँकवि क्रिएसनले आगामी डिसेम्बर १३ मा यूएईको दुबईमा ‘दोस्रो अन्तर्राष्ट्रिय छाँयाछवि अनर्स एवार्ड–२०१९’ को आयोजना गर्दैछ । क्रिएसनका अध्यक्ष शान्तिप्रिय आफूहरू घुमघामसँगै एवार्ड पनि गर्ने उद्देश्यले दुबई जान लागेको बताउँछन् । बिना कुनै जुरी एवार्ड दिने निर्णयमा पुगेको बताउँदै उनी थप्छन्, ‘पुरस्कार दिनकै लागि कुनै जुरी वा आधार बनाइरहनुपर्दैन् । यो हाम्रो स्वविवेक निर्णय हो ।’उनी नेपालमै बर्सेनि आयोजना भइरहने ‘छायाछवि डि सिने एवार्ड’का पनि आयोजक हुन् । यो एवार्डमा चाहिँ जुरीले विजेताको छनोट गर्छ ।
त्यसो त चलचित्र क्षेत्रमा मात्रै होइन, अरु विधाका एवार्डहरूको पनि विवादित हुने गरेका छन् । एवार्डहरूले गरिमा कायम गर्न नसकेको गुनासो यत्रतत्र सुनिन्छ । झन् चलचित्र क्षेत्रका एवार्डहरूमा विवाद अझ बढी नै हुने गरेको पाइन्छ । कलाकारको कला योग्यताको सम्मानभन्दा विदेश घुम्ने, जुरीसमेत नराखी निश्चित व्यक्तिहरूको रुचिमा एवार्ड वितरण गर्ने प्रवृत्ति विवादको जड हो ।
कतिसम्म सुनिन्छ भने, विदेशमा एवार्ड पाउने निश्चित भएमात्रै सहभागी हुने कुरा स्वयं कलाकारहरू नै पनि आयोजकसंग शर्त राख्ने गरेका छन् । ‘एवार्ड पाउने भएमात्रै जाने, नत्र नजाने’, हालै जापानमा भएको कार्यक्रम अघि पनि कतिपय मनोनयनमा परेका कलाकारले बार्गेनिङ गरेको आयोजकको दाबी छ । आयोजक बलामी भन्छन्, ‘एवार्ड लिएवापत पैसा दिन्छु त भनेनन् तर कतिपयले पाउने भएमात्रै जान्छु भन्दै फोन चाहिँ गरेका थिए ।’
शान्तिप्रिय पनि एवार्ड र आर्थिक लेनदेनको सेटिङ हुने गरेको बताउछन् । भन्छन्, ‘एउटा एवार्ड दिलाई दिनुपर्यो भनेर मलाई पनि प्रस्तावहरू आउने गरेका छन् तर म एवार्ड निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहान्छु । प्रलोभनमा पर्दिन ।’ यस्तो प्रलोभन दिनेहरूमध्ये धेरैमा अमेरिका मोह देखिन्छ । दलाल वकिलमार्फत अमेरिकाको ग्रीनकार्डमा अप्लाई गर्ने अनि पैसाको बलमा एवार्ड लिएर त्यो प्रक्रियालाई सहज बनाउने प्रवृत्ति बढेको छ । ‘ग्रीनकार्डको मोह राख्ने कलाकारले आर्थिक प्रलोभन देखाउन थालेका छन्’, उनी थप्छन्, ‘अहिले काम गर्नेभन्दा पनि एवार्ड खोज्ने धेरै भए । केही एवार्ड त ग्रीनकार्डवालाले नै टिकाइदिएका छन् ।’
नेफ्टाका पूर्वअध्यक्ष केसी आफूले पनि कलाकारले एवार्ड पाउन लागि खर्च गर्ने गरेको सुनेको मात्रै तर तथ्यगत रूपमा थाहा नपाएको बताउछन् । ‘एवार्डका लागि हामीले जुरी राखेका छौं । जुरीलाई एवार्डको सबै निर्णयको अधिकार दिएका हुन्छौं । हामी उनीहरूको निर्णयमा हस्तक्षेप गर्दैनौं’, उनी भन्छन्, ‘प्रलोभन दिनेलाई हामी निरुत्साहित गर्छाै ।’
सिनेमा सर्कल नेपालका दिनेश डिसी आफ्नो एवार्डमा अहिलेसम्म कोही कलाकारले पनि भनसुन वा दबाब नदिएको बताउँछन् । ‘मेरो व्यक्तिगत चरित्रको कारण पनि हुनसक्छ, हालसम्म कोही कलाकारबाट त्यस्तो प्रस्ताव आएको छैन’, उनी भन्छन्, ‘मेरो मान्यता जो राम्रो हो, उसले पाउनुपर्छ भन्ने हो । जुरीले निर्णय लिँदा पनि उनीहरूले त्यो निर्णय यस आधारमा भयो भनेर लजिक दिन सक्नुपर्छ ।’
अन्तर्राष्ट्रिय कलाकार समाज(इनास)ले नेपालमा वर्षेनी एवार्ड आयोजना गर्दै आएको छ । इनासका एसिया संयोजक तथा गीतकार लोकराज अधिकारी एवार्डका लागि कलाकारले घुर्की लगाउने गरेको स्वीकार्छन् । ‘तीनवटा संस्करणको एवार्ड गरिरहँदा मैले थाहा पाएसम्म कलाकारले आर्थिक प्रलोभन चाहिँ देखाएका छैनन्’, उनी भन्छन्, ‘तर, उनीहरू आफूले एवार्ड पाउने भए मात्र एवार्ड समारोहमा सहभागिता जनाउने घुर्की लगाउँछन् ।’
नेपालमा चलचित्र र संगीतसम्बन्धी एवार्ड आयोजना गर्ने लहर नै चलेको छ । कुनै एक संस्था स्थापना गरेर सो संस्थालाई आयोजक बनाएर एवार्ड गर्ने परिपाटी बढेको छ । एवार्डका लागि फाराम लिन आह्वान गर्ने, फाराम भर्दा त्यसवापत शुल्क लिने, एवार्डका लागि प्रायोजक खोज्ने, फाराम भरेपछि मनोनयनमा परेका कलाकारलाई फोन गरेर पैसाको बार्गेनिङ गर्ने चलन छ । ‘केही महिना अघि म एक एवार्डको मनोनयनमा परेको थिएँ । मनोनयनमा परेपछि आयोजकले फोन गरेर केही आर्थिक सहयोग गर्नुहोस्, अनि एवार्ड पनि पाउनुहुन्छ भनेर फोन गरे’, एकजना गायकले भने, ‘म अचम्ममा परें । कलाकारले एवार्ड पाउन पनि पैसै तिर्नुपर्ने रहेछ ।’
सबैजसो एवार्ड कार्यक्रमको आर्थिक जोहो, व्यावसायी, विदेशका स्थानीय प्रायोजकले गर्छन् । चललित्र विकास बोर्डले पनि केही सहयोग गर्छ । बोर्डका अध्यक्ष केशव भट्टराईका अनुसार झन्डै महिना दिनअघि बोर्डले सहकार्य गरेर काम गर्नका लागि एउटा सूचना प्रकाशन गरेको थियो । ‘त्यो सूचनाका आधारमा सहकार्य गर्नका लागि केही एवार्ड, तालिम, गोष्ठी, चलचित्र महोत्सव गर्नका लागि प्रस्ताव आएका थिए । त्यसै प्रस्तावका आधारमा हामीले कार्यक्रम हेरेर एक लाख, दुई लाखदेखि पाँच, सात लाखसम्म आर्थिक सहयोग गरेका थियौं’, भट्टराई भन्छन्, ‘अहिले बोर्ड दुई नयाँ स्थानमा क्षेत्रीय स्तरको चलचित्र महोत्सव आयोजनाको तयारीमा जुटेकाले तत्कालका लागि सहयोगको काम पनि बन्द गरिएको छ ।’
बोर्डले दिने सहयोग बाहेक विभिन्न प्रायोजकहरूबाट खर्चको व्यवस्था गरेर एवार्ड कार्यक्रम गरिन्छ । नेफ्टाका तत्कालीन अध्यक्ष केसीका अनुसार, मलेसिया, हङकङ र कतार तिनै स्थानमा भएका एवार्डमा स्थानीय प्रायोजकबाट प्रायोजन भएको थियो । ‘नेपाल र एवार्ड भएको स्थानमा व्यवसायरत नेपालीको प्रायोजनामा भिसा, होटल र टिकटको व्यवस्था गरिएको थियो’, केसी भन्छन्, ‘हामीले यहाँबाट मनोनयनमा परेका कलाकारलाई लगेका मात्र हौं ।’
छायाछविका शान्तिप्रिय ट्राभल एजेन्सीको प्याकेजमा आफूहरू दुबई जान लागेको बताए । ‘अघिल्लो संस्करणमा पनि हामी प्याकेजमै थाइल्यान्ड गएका थियौं । यसपटक पनि त्यही कामलाई निरन्तरता दिएका हौं’, उनी भन्छन् ।
सूर्य इन्टरनेसनल एवार्डका बलामी जापान जान र आउने सम्पूर्ण खर्च आयोजकले नै बेहोरेको बताउँछन् । ‘नेपालमा भिसा प्रोसेसिङदेखि लिएर जापानमा बसाई अवधिको सम्पूर्ण खर्च आयोजकले नै बेहोरेको हो’, उनी भन्छन्, ‘हामीले यहाँबाट कलाकार लाने चाँजोपाँजो मिलाएका हौं । जापानमा आयोजकले प्याकेजमै कार्यक्रम राखेकाले त्यही प्याकेजअन्तर्गत कलाकारको बसोबास, खानपान, घुमघामको व्यवस्था मिलाइएको थियो ।’
लाखौं खर्च गरेर एवार्ड आयोजना गरे पनि आयोजकलाई चाहिँ के फाइदा हुन्छ ? यो सबैको प्रश्न हो । एवार्ड समारोहमा सहभागिता जनाउने चलचित्रकर्मी हुन् वा सर्वसाधारण दर्शक सबैले एवार्डको तामझाम देखेकै हुन्छन् । झट्ट हेर्दा एवार्ड आयोजकले एवार्डबाट राम्रै पैसा कमाउँछन् भन्ने बुझाई छ तर आयोजक भने यो कुरालाई नकार्छन् ।
छायाछविका शान्तिप्रिय एवार्डबाट आयोजकले मनग्ये पैसा कमाउँछन् भन्ने सोच राख्नु गलत भएको दाबी गर्छन् । ‘एवार्डमा प्रायोजकको राम्रो उपस्थिति भयो भने मात्र आयोजकलाई फाइदा हुन्छ । प्रायोजक कम भयो भने घाटा सहेरै भए पनि कार्यक्रम गर्नुपर्ने अवस्था आउँछ’, उनी भन्छन्, ‘एवार्ड समारोहको रौनक हेर्दा आयोजकले राम्रै पैसा पाएका रहेछन् भन्ने सोच्छन् । तर, वास्तविकता त्योभन्दा फरक हुन्छ ।’
इनासका लोकराज तेस्रो संस्करणमा आइपुग्दा सिक्किमको इनास एवार्डबाहेक अन्य एवार्ड सरसहयोगबाट गरेको खुलाउछन् । ‘हामीले सिक्किममा प्रायोजक पाएका थियौं । तर त्यो एवार्डमा पनि घाटा नै बेहोर्नुपर्यो’, लोकराज भन्छन्, ‘सिक्किमको एवार्डबाहेक अन्य एवार्डमा एनआरएनबाट प्राप्त सहयोगले नै सम्पन्न गरेका हौं । हामीले उहाँहरूलाई पैसा नमागिकन उहाँहरूले स्वेच्छाले नै हामीलाई आर्थिक सहयोग गर्नुभएको हो ।’
एवार्ड पाउनकै लागि कलाकारले आयोजकलाई मात्र होइन, एवार्डको जुरीलाई पनि घुमाउरो पाराले भन्ने गर्छन् । २०५१ सालदेखि एवार्डको जुरी बस्दै आएका पुराना पत्रकार विजयरत्न तुलाधर एवार्डलाई पनि कलाकारले घुमाउरो पाराले आफ्नो पक्षमा निर्णय गर्न आग्रह गर्ने गरेको खुलाउँछन् । ‘कलाकारसँग मेरो त्यस्तो घनिष्ठ र गहिरो सम्बन्ध त छैन । भेटघाटमा हाइहेल्लो र गफमात्र गर्ने हो । कलाकारले सिधैं एवार्ड मलाई दिनुपर्यो त भन्दैनन्’, उनी भन्छन्, ‘कहिलेकाहीँ उनीहरू ‘दाइ मैले यो चलचित्रमा धेरै मेहनत गरेको छु । मेहनतका कदर गरिदिनुपर्यो’ भन्ने गरेका छन् । तर, पछिल्लो वर्षमा यसो भन्ने क्रम धेरै हदसम्म घटेको छ ।’
निर्देशक लक्ष्मीनाथ शर्मासँग चलचित्र करियरमा झन्डै दर्जन बढी एवार्डको जुरीको अनुभव छ तर उनको अनुभव विजयरत्नको भन्दा अलिक फरक छ । ‘कलाकारले कस्तो मान्छे जुरीमा बसेको छ भनेर हेरेर भन्ने गर्दारहेछन् । मेरो बानी बेहोरा चालचलनले गर्दा कलाकारले त्यो आँट गर्दैनन् भन्ने लागेको थियो’, उनी भन्छन्, ‘तै पनि कहीँकतै भेट भएको अवस्थामा ठट्टै ठट्टामा ‘यसपालि हामीलाई दिने होला नि सर भन्न चाहिँ भन्छन् । धेरै फेस्टिभलमा आयोजकसँग बार्गेनिङ गर्छन् भन्ने सुनेको छु । तर, मेरो हकमा चाहिँ अहिलेसम्म त्यस्तो भएको छैन र नहोस् पनि ।’
कलाकार तथा निर्देशक मोहन निरौलासँग पनि धेरै एवार्डमा जुरी बसेको अनुभव छ । उनले नेफ्टा एवार्डमा झन्डै ६ वर्ष, डी सिने एवार्डमा ११ वर्ष र चलचित्र विकास बोर्डले प्रदान गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा एक पटक जुरीका रूप काम गरिसकेका छन् । ‘मनोनयनमा परेका एक दुईजना कलाकारले सामान्य सोधपुछ गर्छन् । उनीहरू सिधैं मलाई नै एवार्ड दिनुपर्यो त भन्दैनन् । दाइ पनि जुरी हुनुहुँदो रहेछ, मेरो पनि चलचित्र मनोनयनमा परेको छ भन्छन्’, उनी भन्छन्, ‘उनीहरूले सिधै एवार्ड आफूलाई दिनुपर्यो नभने पनि एवार्ड पाइयोस् भन्ने चाहना चाहिँ राख्छन् ।’