साप्ताहिक संवाददाता
अभिनेता विपिन कार्कीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘सेल्फी किङ’ यतिबेला प्रचारको दौडमा रहेको छ । चलचित्र युनिटले चलचित्रको प्रचार–प्रसारका क्रममा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ प्रतियोगिता घोषणा गरेको छ ।
ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्बिर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्नेछन् । पोष्ट गरिएको सेल्फीमा सहभागीले मेकअपको प्रयोग समेत गर्न सक्नेछन् । पोष्ट गरिएका सेल्फीहरु मध्ये विजेता छनोट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइने बताइएको छ ।
त्यसरी खिचिएका तस्बिरहरुमा आएका अत्याधिक लाइक र कमेन्टसँगै ‘सेल्फी किङ’ निर्माण टिमले विजेता छनोट गर्नेछ । माघ ५ देखि माघ २० सम्म सहभागिता जनाउन सकिने यस प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिनेछ ।
प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पासे उपलब्ध गराइनेछ । विशाल सापकोटाले निर्देशन गरेको यो चलचित्र यहि माघ २४ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा छ ।