पढाउन छाडेर पठाओ चलाउन थालेको छु
हितलाल मुखिया, पूर्वशिक्षक
रौतहटमा मेरो श्री मनकामना इङ्लिस बोर्डिङ स्कुल थियो । लामो समयदेखि मैले त्यस विद्यालयमा संस्थापकका रूपमा काम गरेँ । कारणवश यसै वर्षको बैशाखमा काठमाडौं आउनुपर्यो । परिवारले यतै बस्ने भनेपछि मैले नाइँनास्ति गर्न सकिनँ । हामी काँडाघारीमा बस्न थाल्यौँ । एक विद्यालयमा ९ र १० कक्षालाई साइन्स विषय पढाएँ । परिवारमा दुई छोरा, एक छोरी, श्रीमती र म गरेर पाँच जना छौँ । अध्यापन गरेर आएको तलबबाट परिवार पाल्न धौ–धौ हुन थाल्यो । साथीसँग पार्ट टाइम जागिर खोजिदिन आग्रह गरेँ । साथीले पठाओबारे भन्यो । असारपछि मैले साथीले भनेअनुसार पठाओको एप डाउनलोड गरेर यात्रु बोक्ने काम सुरु गरेँ । राम्रो आम्दानी हुन थाल्यो । त्यसपछि विद्यालयमा पढाउन छाडेर पठाओ चलाउन थालेको छु । अहिले फुल टाइम राइडरका रूपमा काम गरिरहेको छु । दिनमा २० देखि ३० ट्रिपसम्म गर्छु । मासिक ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ । मासिक १३ हजार कोठा भाडा छ, छोराछोरीको पढाइ खर्च २० हजार हुन्छ । त्यसपछि बचेको पैसाले घरखर्च मज्जाले चलिरहेको छ । सरकारले बेलाबेलामा यो सेवालाई बन्द गर्ने भन्छ । त्यसो भयो भने मजस्ता हजारौँ राइडरको भविष्य धरापमा पर्छ । हामी आन्दोलनमा उत्रनुपर्ने अवस्था आउँछ ।
बेरोजगार थिएँ, राइडिङ एपले जागिरे बनायो
सीता लामा, गृहिणी
मैले धेरै पढेकी छैन । त्यसैले धेरै ठाउँमा प्रयास गर्दा पनि जागिर पाइनँ । साथीहरूले टुटल–पठाओमा मान्छे बोक्ने काम गर न भन्न थाले । सुरुमा मलाई यसबारे केही थाहा थिएन । बुझ्दै जाँदा ठीकै रहेछ भन्ने लाग्न थाल्यो । सुरुमा पठाओमा काम गरेँ । पछि टुटलले लेडिजलाई शतप्रतिशत रकम दिन्छ भन्ने थाहा पाएपछि त्यसमा पनि काम गर्न थालेँ । अहिले दुवैका लागि काम गरिरहेकी छु । एक वर्ष भयो, स्कुटरमा मान्छे बोक्न थालेको । हामीजस्ता गृहिणीका लागि त निकै सहज रहेछ यो काम । परिवारलाई समय दिनुपर्दा काम नगरे पनि हुने । कहिले कसको जन्मदिन, कहिले बिहे त कहिले कहाँ जानुपर्दा काम नगर्न पाइने । आफ्नो समयअनुसार काम गरेर राम्रो पैसा कमाइ हुने भएपछि म निकै खुसी छु । सामान्यतया बिहान खाना खाएर घरबाट निस्किएपछि साँझ ६ बजेसम्म काम गर्दा १५–१७ ट्रिपसम्म भ्याइन्छ । १५ सयदेखि दुई हजारसम्म कमाइ पनि हुन्छ । श्रीमान् विदेशमा हुनुहुन्छ । छोरी र मेरो खर्च मैले राइडिङ गरेर कमाएको पैसाले नै चलिरहेको छ । श्रीमान् पनि मेरो कामबाट खुसी हुनुहुन्छ । आफ्नै खुट्टामा उभिएर छोरीको जिम्मेवारी पनि पूरा गरिरहेकी छयौ, धेरै राम्रो गर्यौ भन्नुहुन्छ । घरबाट १२ बजे निस्किएर ६ बजेसम्म काम गर्ने हो भने पनि तेल राखेर १२ सय रुपैयाँ आम्दानी भइरहेको छ । यति धेरै पैसा त मैले जागिर गरेर कमाउने सम्भावना नै थिएन । महिला भएकै कारण अहिलेसम्म त्यस्तो समस्या भएको पनि छैन । कतिपयले खुसी भएर बरु धेरै पैसा दिनुहुन्छ । एकपटक एक जना दाइलाई टिचिङ अस्पतालदेखि बौद्धसम्म छाडेकी थिएँ । उहाँले महिला भएर पुरुषले गर्ने काम गरिरहेकी छयौ निकै राम्रो भनेर ९० रुपैयाँ उठेकोमा १ सय ५० रुपैयाँ दिएर जानुभयो । कहिलेकाहीँ महिला भएकै कारण यात्रुले राम्रोसँग चलाउन सक्नुहुन्छ नि ? भनेर सोध्नुहुन्छ । म पनि लाइसेन्स लिएको सात वर्ष भइसक्यो, किन नसक्नु भनिदिन्छु ।
विदेशमा मजदुरी गर्नुभन्दा देशमै राइडिङ गर्न ठीक
चाङहोङ राई, विदेशबाट फर्किएका राइडर
म चार वर्ष कतार बसेर दुई वर्षअघि नेपाल फर्किएको हुँ । घर खोटाङ हो । तर, लामो समयदेखि काठमाडौंमै बस्दै आइरहेको छु । कतारबाट फर्किएपछि केही समय सेक्युरेटी गार्डका रूपमा काम गरेँ । त्यस्तै १०–१२ हजार तलब हुन्थ्यो । साथीहरूले टुटल–पठाओबारे भनेपछि पार्ट टाइम गर्ने हिसाबले राइडर बनेको हुँ । पछि यसमै रमाइलो लाग्यो । समय दिन सके पैसा पनि राम्रै कमाइ हुँदो रहेछ । पहिलोपटक यात्रु बोकेर जावालाखेलबाट दरबारमार्गसम्म जाँदा के हो के जस्तो लागेको थियो । पैसा पनि खातामा आउँछ भन्ने भयो । तर, दोस्रो पटकदेखि भने हातमै पैसा आउन थालेपछि ठीक रहेछ जस्तो लाग्यो । पाँच कक्षामा पढ्ने छोरी, श्रीमती र म पेप्सिखोलामा बस्छौँ । राइडिङ गरेर परिवारसँग बसेर राम्रै कमाइ भइरहेको छ । दैनिक १०–१२ ट्रिप गरिरहेको छु । हजार–१२ सय कमाई हुन्छ । यसमै डटेर लाग्ने हो भने त २५ ट्रिपसम्म पनि गर्न सकिन्छ । एकपटक त मैले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म २२ ट्रिपसम्म गरेको छु । २७–२८ सय जति कमाई भएको थियो । समयमै पुर्याउँदै हतार भएका यात्रुहरूले राम्रो भन्नुहुन्छ । हौसला दिनुहुन्छ । जे होस्, सरकारले देशमै रोजगारीको अवस्थाको सिर्जना नगरे पनि राइडिङ एपमार्फत हामीजस्ता बिदेसिएकालाई देशमै बसेर काम गर्ने वातावरण मिलेको छ, खुसी लाग्छ । विदेशमा मजदुरी गरेर भन्दा यहीँ बसेर राइडर भएर काम गर्दा खुसी छु । बेलाबेला ऐन–कानुनका कुरा पनि सुन्ने गर्छु । मोटरसाइकलमा पैसा लिएर मान्छे बोक्न पाइँदैन भन्ने पनि सुनिन्छ । के गरेर हुन्छ सरकारले यो समस्याको समाधान गर्नुपर्छ ।
टुटल चलाएरै पढाइ खर्च जुटाइरहेको छु
सम्राट शाक्य, विद्यार्थी
म अहिले १८ वर्षको भएँ । दुई वर्षअघि साथीहरूबाट टुटल–पठाओबारे थाहा पाएको थिएँ । त्यसपछि राइडर बन्नकै लागि लाइसेन्स निकालेँ । त्यतिबेला एसएलसीको परीक्षा दिइर बसेको थिएँ । एसएलसीपछि म्यानेजमेन्ट विषय लिएर पढेँ । पढाइसँगै टुटलको राइडर बनेर पनि काम गर्न थालेँ । अहिले प्लस टु सकिएको छ । मेरो सम्पूर्ण खर्च टुटलले गर्दा नै व्यवस्थापन भइरहेको छ । कहिलेकाहीँ घरमा तरकारी लाने, आवश्यक सामानहरू लाने गर्दा आमा पनि खुसी हुनुहुन्छ । मेरो बुबाको निधन भइसकेको छ । परिवारमा आमा, दिदी र म छौँ । छोरा भएको नाताले ममा पारिवारिक जिम्मेवारी थपिनु स्वाभाविक छ । र, मैले अहिलेसम्म त्यो पूरा गरिरहेको छु जस्तो लाग्छ । दिनमा २०–२२ ट्रिपसम्म गर्न सक्छु । २ हजारदेखि २५ सयसम्म कमाइ हुन्छ । कलेज हुँदा पनि १० देखि १५ ट्रिपसम्म गर्थेँ । कलेज नभएका बेला सबै समय यतै दिने गर्छु । दैनिक हजार रुपैयाँ नियमित कमाइ भइरहेको छ । कमाइसँगै मेरो काम देखेर धेरैले हौसला पनि दिनुहुन्छ ।
एक दिन एक जना नर्स दिदीलाई बाइकमा बसाएर उहाँको अस्पतालसम्म पुर्याएको थिएँ । त्यस दिन उहाँको जन्मदिन रहेछ । उहाँले तिम्रोजस्तो उमेरमा हामीले केही गर्न सकेका थिएनौँ, तिमीले सानै उमेरमा धेरै राम्रो काम गरिरहेका छौ भनेर एक प्याकेट चकलेट नै दिनुभयो । यस्तो कुराले आफूले मोटरसाइकलमा यात्रुलाई बोकेर एकतर्फ कमाइ र अर्कातर्फ सामाजिक सेवा पनि गरिरहेजस्तो लाग्छ । हामीजस्ता विद्यार्थीका लागि यो राम्रो आम्दानीको स्रोत भएको छ ।
प्रयोगकर्ता
दैनिक प्रयोग गर्छु, छिटो र सस्तो छ
त्रिशाला गुरुङ, डाक्टर
मैले दुई वर्षदेखि टुटल एपमार्फत राइडिङ सेवा लिइरहेकी थिएँ । कलाकार भएकाले यताउता गइरहनुपर्ने, सधैं हतार । यस्तोमा टुटल एपको प्रयोग गरेर दुईपाङ्ग्रे सवारीमा यात्रा गर्दा एक त समयमै पुगिने भयो, अर्को ट्याक्सीभन्दा सस्तो पनि भयो । यसरी दुई वर्ष नियमित मैले टुटलको प्रयोग गरेँ । पछिल्लो समय डाक्टर बनेपछि चाबहिलबाट बिहान ८ बजे नेपाल मेडिकल कलेज (जोरपाटी) आउनुपर्ने भयो । त्यसपछि बिहान सहजै उपलब्ध हुने भएकाले पठाओ प्रयोग गर्न थालेँ । पठाओमा यात्रा गर्न थालेको अहिले डेढ महिना भएको छ । टुटल–पठाओले गर्दा मेरो यात्रा निकै सहज भएको छ । एक दिन सामान्य दुर्घटनामा परेँ । सामान्य चोट लाग्यो । यस्तो दुर्घटना त अन्य सवारीमा यात्रा गर्दा पनि हुन्छ । सरकारले कानुनी मान्यता नदिएका कारण बिमाको व्यवस्था हुन नसकेको सुनेकी छु । यसतर्फ सरकारले ध्यान दिए हामीजस्ता यात्रुले सुरक्षित यात्रा गर्न पाउने थियौँ । अन्य सुरक्षाको हिसाबले भने राइडरको फोन नम्बरसहित सबै जानकारी सम्बन्धित कम्पनीको कार्यालयमा हुने भएकाले त्यति समस्या छैन ।
सरकार ! हाम्रो खुसी नलुट
राजन मुकारुङ, साहित्यकार
म आजभोलि प्राय: राइडिङ एपको प्रयोग गरेर दुईपाङ्ग्रे सवारीमा यात्रा गर्छु । साथीहरूले राम्रो एप छ भनेपछि डाउनलोड गरेँ । करिब पाँच महिनादेखि नियमित रूपमा यो सेवा प्रयोग गरिरहेको छु । पहिलो पटक शंखमूलदेखि अनामनगरका लागि बुकिङ गरेको थिएँ । तीन मिनेटभित्र मोटरसाइकल मलाई लिन आइपुग्यो । भाडा ७५ रुपैयाँ उठेको थियो । ट्याक्सीमा आएको भए धेरै उठ्थ्यो । फेरि ट्याक्सी त्यति सजिलै जान पनि मान्दैनन् । मिटरमा जाऊँ भन्दा बार्गेनिङ गर्न खोज्छन् ।
आपत् परेका बेला पाउनै मुस्किल हुन्छ । छोटो रुटमा त जानै मान्दैनन् । सार्वजनिक यातायतामा यात्रा गर्दा काठमाडौंको जामले पुग्ने कहिले हो थाहा हुँदैन । त्यसैले छिटो, सस्तो र सहजताका हिसाबले मलाई राइडिङ एप नै ठीक लाग्न थालेको छ । मैले ट्याक्सी चालकको विरोध गरेको होइन । तर, उहाँहरूले आफ्नो व्यवहार सुधार गर्नु आवश्यक छ । मिटरमा जाने, व्यवहारमा सुधार गर्ने हो भने ट्याक्सीप्रतिको आकर्षण पनि घट्दैन भन्ने मलाई लाग्छ । अर्को कुरा, सरकारसँग पनि मेरो असहमति छ । यस्ता सेवाप्रदायक कम्पनीमाथि प्रतिबन्ध लगाउने कुरा गर्नु उचित होइन । सक्छौ भने सर्वसाधारणलाई यी एपले दिएजस्तो सेवा देऊ, होइन भने हामीले सेवामार्फत पाइरहेको खुसी नलुट ।