माघ २४, २०७६
ब्यान्डेड कुक्र्री (ओलिगोडन अर्नेन्सिस) प्रजातिको दुई टाउको भएको सर्प विश्वमा पहिलो पटक नेपालमा भेटिएको छ । नवलपुरको दलदलेमा २०७५ कात्तिकमा स्थानीयहरूले सेतो गोला धर्काहरू भएको यो सर्प भेटेका थिए । यो अविषालु प्रजातिको सर्प हो । सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले यसको विस्तृत अध्ययन गरी रिपोर्ट तयार पारेको छ ।
अध्ययनपछि सर्पलाई चितवन राष्ट्रिय निकुन्जमा छोडिएको निकुन्जका फरेस्ट रेन्जर सन्तबहादुर मगरले बताए । यो प्रजातिमा दुई टाउको भएको सर्प विश्वमै पहिलो पटक भेटिएको सर्प अनुसन्धानकर्ता देवकोटाको दाबी छ ।
सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेसनल युनिर्भसिटीस्थित लि कोग चेन प्रकृति विज्ञान संग्रहालयमा राखिएको छ । यो सर्पका बारेमा तयार पारिएको लेखसमेत रेप्टाइल एन्ड एम्फिवियन कन्जरभेसन जर्नलको जनवरी २०२० मा प्रकाशित भएको छ ।