कुनै एक समय थियो, कवि रमेश क्षितिजलाई यो सांसारिकताबाट टाढा गएर जोगीको जीवन–निर्वाह गर्ने कल्पनाले सताउँथ्यो । स–साना सामान्य कुरामा खुसी सँगालेर हिँड्ने क्षितिज साधारण सपना बोकेर हिँडेको एउटा मानिस भएको बताउँछन् । तर, समयले उनलाई स्थापित गराएको छ, परिचित बनाएको छ । अझै पनि जिन्दगीको जोगी मोह मनको कुनै कुनामा बोकेर हिँडेका रमेश जिन्दगीले जहाँ–जहाँ लगेर उभ्याइदियो त्यहीँबाट हिँड्न खोजे, सजिला बाटाहरूको खोजीमा भौंतारिएनन् । तर, अप्ठ्याराहरूले झन् सहज बनाइदियो उनको कविता–लेखन यात्रालाई । राजधानीमा उनको बसोबास छ तथा पिउनलाई यहाँको भीडभाड मन पर्दैन । यति बेला भने यो भीडभाड छिचोलेर उनी सुर्खेत जाने तरखरमा छन् ।
यो चकाचौध र भीडभाडभन्दा पर रहस्यमय र शान्त आफ्नो छुट्टै दुनियाँ भएको बताउने रमेशलाई उनको कविता–संग्रह ‘घर फर्किरहेको मानिस’ले धेरै आत्मीय र प्रिय मानिस भेट्टाइदिएझैं लाग्छ । उनी भन्छन्, ‘सबैभन्दा सुन्दर र पवित्र ह्दयका मानिसहरू मेरा लागि तिनीहरू थिए जसले मेरो नामको फ्यान क्लब नै खोलेर कार्यक्रम नै आयोजना गरे, प्रेम, सम्मान र आत्मीयता दिए ।’
रिठ्ठा काटेर बनाएको कौडा खेल्ने रमेशको बाल्यकालका प्रिय खेल गुच्चा र खोपी थिए । गुच्चामा कहलिएका खेलाडी रमेश ४५ मिनेटको स्कुले बाटो साथीहरूसँग गुच्चा खेल्दै जान्थे । हातभरिको धूलोले गुच्चा खेलेको प्रमाणित गरेर सजायको भागी हुनुपरे पनि उनी गुच्चा खेल्न छाड्दैनथे ।
इजार घुसार्ने ठाउँमा वा झोला उधारेर गोप्य सुरुङ बनाएर गुच्चा लुकाएर हिँड्ने उनलाई सधैं समयले साथ दिँदैनथ्यो । जुन दिन उनका बाबुले उनलाई ‘अब गुच्चा नखेल है छोरा’ भन्थे त्यही दिन उनी एउटा सिङ्गै कापीका पाना गुच्चामा हारेर घर फर्कन्थे । सधैं ढ्याक पैसा हुँदैनथ्यो बाजी राख्नलाई । गुच्चा छुँदै नछो है आजदेखि भनेर बुबाले भन्दा खेल्न छाडेर पूरै ध्यान पढाइ–लेखाइतिर लगाएको बताउँछन् उनी । नयाँ कापी च्यापेर स्कुल गएका रमेश क्षितिजले बाल्यकालको एक समय पूरै कापी गुच्चामा हारेर फर्किएका कारण आफ्ना बुबाको कारबाही भोग्नुपरेको थियो । बाल्यकालको स्मरण गर्दै उनी भन्छन्, ‘बाटोमा कापीको पाना बाजी राखेर खेल्दै हिँड्दा स्कुल पुग्दासम्म आधा बाँकी रह्यो हारेर । स्कुलमा पढाएको भन्दा मेरो ध्यान कतिखेर स्कुल छुट्छ र जितेर पाना फर्काउँला भन्ने चिन्तामा बित्थ्यो । खेल्दै फर्कंदा त्यो दिन दाउले यसरी धोका दियो कि हार्दा–हार्दा म रुन्चे त्रसित अनुहार र ‘सोले’ लेखिएको बाहिरी पाना मात्र लिएर घर फर्कें । नसोध्नोस् कसरी मर्मत भयो मेरो ।’
सल्यानमा जन्मिएर आफ्नो बाल्यकाल दाङमा बिताएका उनी सानैदेखि कविता लेख्थे । उनको मानसपटलमा कक्षा ४ पढ्दा पहिलो चोटि कविता लेखेको धमिलो सम्झना छ । कक्षा ६ मा पढ्दा नाटक लेखे । त्यसपछि स्कुलमा निरन्तर निबन्ध, कविता प्रतियोगितामा भाग लिन थालेका रमेश कुनै पनि अतिरिक्त कार्यक्रममा भाग लिन छुटाउँदैनथे । गुरुहरू उनको लेखनको प्रशंसा गर्थे, जुन प्रशंसाले उनलाई सधैंभरि लेखिरहन प्रेरित गथ्र्यो ।
जीवन सपनामय, कलापूर्ण र अर्थपूर्ण भैदियोस् भनेर सोचिरहने उनलाई जीवन साह्रै सुन्दर लाग्छ । जीवनमा आइपर्ने दु:ख, पीडा, अभाव र संघर्षले जीवनलाई रहस्य र सौन्दर्यपूर्ण बनाउने उनको तर्क छ । आफूलाई अनन्त यात्रामा हिँडेको बटुवा महसुस गर्ने रमेशले जीवनका उकाली–ओराली, बिसौनी र चौतारीहरूमा थुप्रै घामछायासँग सहयात्रा गरे । कैयौं मानिसलाई भेटे अनि जीवनको कुनै मोडमा ती घामछाया र मानिसहरू छुट्टिएर गए उनीभन्दा पर अन्त कतै, तर कहिल्यै छाडेन उनलाई कविताले । कविता र गीतका हरफसँगै सहयात्रा गरिरहने रमेशलाई जीवन आफैंभित्रको यात्राझैं लाग्दो रहेछ । उनी जीवनसँग गम्भिर हँुदै भन्छन्, ‘आशोको सम्झना हुन्छ, लाइफ इज इन्टरनल पिल्ग्रिमेज, देयर इज नो गोल इटइज अ पियोरजर्नी, अनेक जीवन पाए पनि बुझिनसक्नु छ एक बारको जीवन ।’
कवितामार्फत विशेष आशा, उत्साह, प्रेम र सपनाहरू लेख्न चाहने उनलाई उनका कविताले मानिसका निराशा र दु:खमा साथ दिउन् भन्ने लाग्छ । आफ्ना कविताले मान्छेको असल मित्र बनेर रुँदा आँसु पुछिदिँदै जीवनको उज्यालो बाटो नबिर्स भनेको सुन्न चाहने उनी भन्छन्, ‘कविता होस् रमण महर्षिको मौनताजस्तो केही नभनेर सबै भनिने वा माओत्सेजस्तो रहस्यमय, जति नै पढे पनि प्रत्येकपल्ट नयाँ होस् अनुभूति ।’ उनलाई मानिस वा कविता मन पर्नु र पराइनुलाई किन भनेर पुष्टि गर्न गाह्रो लाग्छ यसर्थ कि भावना हिसाब होइन ।
मधुरो स्वरमा गीत बजाएर लेख्नु, पढ्नु वा यसै पल्टिनुमा जीवनको आनन्द भेट्ने क्षितिजसँग परीक्षाका बेला पनि गीत सुनेर राति अबेरसम्म पढेको सम्झना छ । नेपाली साहित्यको पछिल्लो प्रवृत्ति अझ बढी आकर्षक र बहुल भएको बताउने रमेशलाई आफ्नो संस्कृति, स्वभाव र जीवन–पद्धति प्रतिविम्बित हुने लेखनले आफ्नो बेग्लै पहिचान दिएझैं लाग्छ । साहित्यले पाठकहरू निर्माण गरिरहेको पछिल्लो समयमा लेखनमा मौलिकता, विविधता र नवीनता मर्नु नहुने उनको बुझाइ छ ।
उनको साहित्यिक तथा सांगीतिक यात्रा त्यति सहज भने थिएन । रेडियोका गीत सुनेर छोरो बिग्रन्छ भनेर बुबाले रेडियो समेत सुन्न अवरोध गरेपछि राति सुत्ने बेलामा सिरकमुनि रेडियो लुकाएर सुन्ने उनलाई आजसम्म तिनै गीतहरूले साथ छाडेका छैनन् । चेतनाको विकास नहुँदासम्म भौतिक विकास दिगो हुँदैन भन्ने क्षितिज चेतनाको विकास फैलाउन साहित्यमा लम्किएको बताउँछन् । २०५० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट गीतकारका रूपमा पुरस्कृत भए, त्यसले उनको सांगीतिक यात्राले थप उचाइ लिएको हो ।
‘नमाग मसँग सहारा नमाग,
भुइँमा छु म आकाशका जून–तारा नमाग ।’
यो गीतले आफ्नो सफलताको सुरुवात गराएको सम्झने क्षितिज त्यसअघि पनि राष्ट्रिय बालगीत प्रतिभा पुरस्कारबाट पुरस्कृत भइसकेका थिए । तथापि उनको वास्तविक सांगीतिक यात्राको सुरुवात यही गीतले गराएको हो । ‘तिर्खाएको काकाकुलसरि भएँ, अनायासै उठी तिमी हिँडेपछि म ओइलिएको फूलसरि भएँ, कुनै नमीठो मूलसरि भएँ, अनायासै तिमी हिंडेपछि,’ उनको पहिलो पटक रेडियो नेपालबाट बजेको गीत हो यो । यो गीतसँगै सुरु भएको उनको सांगीतिक गुञ्जनमा अहिले ‘घरै राम्रो ठूल्दाजु, परेलीको वर्षातले, कमलो मुटु, बेग्लै भए बाटाहरू, आधी ज्यान यही मेरो, तिमी भन्छ्यौ जिन्दगी यो कठिन छ’ लगायतका १ सयभन्दा बढी गीत रेडियो, टेलिभिजनबाट गुञ्जन्छन् । उनलाई उनको साहित्यिक जीवनमा त्यतिबेला सबैभन्दा धेरै खुसी लागेको थियो जति बेला उनको रचना पहिलो पटक उनी काठमाडौं आएको ३ वर्षपछि ‘मधुपर्क’ मा छापिएको थियो । त्यो दिन उनलाई साहित्यिक यात्राको ठूलै विजय हासिल गरेझैं भान भएथ्यो रे । अहिले त्यो दिन सम्झँदा उनलाई अनौठो लाग्छ ।
‘अर्कोे साँझ पर्खेर साँझमा’ (कविता–संग्रह, २०५७) प्रकाशित गरेका क्षितिजको यही कविता–संग्रहको दोस्रो मुद्रण २०६९ सालमा छापियो । २०६९ सालमा ‘घर फर्किरहेको मानिस’ प्रकाशनमा आयो । यो कविता संग्रह पनि प्रकाशनमा आएको चार महिनामा दोस्रो र २०७० सालमा तेस्रो संस्करण बजारमा आयो । २०६३ सालमा ‘आफैं आफ्नो साथी भएँ’ गीतिसंग्रह बजारमा ल्याएका क्षितिजले २०६८ सालमा ‘क्षितिज’ गीति–संग्रह बजारमा ल्याए ।