वैज्ञानिक स्टेफन हकिन्सले दुई वर्षअघि पृथ्वीको आयुबारे भविष्यवाणी गरेका थिए । अक्सफोर्ड युनिभर्सिटीमा आयोजित बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अब हजार वर्षमात्र टिक्ने दाबीमात्र गरेनन्, मानव बस्न योग्य अर्को ग्रह पत्ता लगाउनुपर्ने आवश्यकता पनि औंल्याए । उनले भने, ‘मानव भविष्यका लागि हामीले अन्तरिक्षमा जाने प्रयास जारी राख्नुपर्छ । अब यहाँ १ हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’
पछिल्लो समय विश्वले प्रविधिको विकासमा फड्को मारिरहेको छ । वैज्ञानिक खोज, अनुसन्धानसँगै नयाँ आविष्कार पनि हुँदै गइरहेका छन् । यद्यपि, केही दशकयता भएका ठूला प्राकृतिक विपत्तिले मानिसलाई पृथ्वीको आयुबारे सोच्न बाध्य बनाएको छ । करिब ४ दशमलव ५७ अर्ब पुरानो मानिएको यो ग्रहको आयु छोटिँदै गएकोमा वैज्ञानिकहरू चासो राख्दै आएका छन् ।
हकिन्सले पृथ्वीको आयु छोटिँदै जानुको प्रमुख कारण पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तन भएको बताएका थिए । हकिन्सले सांकेतिक रूपमा अनुसन्धानकर्ताहरूलाई जमिनमा भन्दा ताराहरूतिर हेर्न आग्रह गरेका थिए ।
केही वर्षअघि नासाले अनुमान गरेको थियो– पृथ्वीको अन्त्य सूर्यबाट निस्कने ग्याँसका कारण हुन्छ । भौतिकशास्त्री ब्रायन कोक्सले उनको बीबीसी श्रृंखला ‘सूर्यको साम्राज्य’को क्रममा यस्तै चेतावनी दिएका थिए ।
सन् २०१० मा उनले भनेका थिए, ‘सूर्यले आफ्नो जीवनको अधिकांश भाग मुख्य अनुक्रममा खर्च गर्नेछ र स्थिर रूपमा यसको हाइड्रोजन इन्धनको विशाल भण्डारलाई जलाउनेछ । जुन कम्तीमा ५ बिलियन वर्षसम्म रहनेछ । अन्तत: यसको पतन हुन्छ ।’ सूर्य आजको आकारभन्दा २ सय गुणा ठूलो हुने र पृथ्वीको कक्षसम्म फैलिने उनले दाबी गरेका थिए । त्यससँगै सूर्यको ग्याँस र धूलो अन्तरिक्षमा ओर्लिने बताएका थिए ।
पृथ्वीको अन्त्य हुुने आधारबारे वैज्ञानिकहरूले विभिन्न अनुमान लगाएका छन् । अन्तरिक्षमा दुई ठूला चट्टानबीचको टक्करबाट पनि पृथ्वी अन्त्यको सम्भावना सार्वजनिक हुँदै आएको छ । पृथ्वीको तापक्रम निरन्तर बढ्दै जाँदा महासागरहरू उम्लने वा जीवहरू बाँच्न योग्न नहुने अवस्था सिर्जना भएर पनि अस्तित्वको अन्त्य हुने अनुमान पनि उत्तिकै छ ।
त्यसो त पृथ्वीमा परिवर्तन देखा पर्दै थाल्नेछ, जसले गर्दा बाँच्नका लागि विभिन्न प्रजातिहरूलाई दबाब सिर्जना हुँदै जान्छ भन्ने तर्क पनि छँदैछ ।
सन्त्रास फैलाउने घटना
पृथ्वीमा केही दशकयता भएका घटना तथा प्राकृतिक विपत्ति यस्ता घटना हुन् । केही महिनाअघि अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भयो जसमा ठूलो मानवीय, जैविक र भौतिक क्षति भयो । अध्ययनहरूले जलवायु परिवर्तनका कारण जंगलमा भयानक आगलागी भएको देखाए । अहिलेसम्मकै बढी तापक्रम, लामो खडेरी र शक्तिशाली हुरीबतास, आगलागीका कारण थिए । अध्ययनअनुसार यस वर्ष अस्ट्रेलियाको तापक्रम ४१ दशमलव ८ डिग्रीसम्म पुगेको थियो ।
यो घटनाले विश्वमै जलवायु परिवर्तनका कारण विभिन्न विपत्ति हुन थालेको जनाउँछ । पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको नासाले दाबी गरेको थियो । नासाका वैज्ञानिकले भनेका थिए, ‘यो विस्फोट ३० वर्षयताको दोस्रो ठूलो र ६ वर्षअघि रूसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो हो ।’ वैज्ञानिकका अनुसार अन्तरिक्ष चट्टान विस्फोट हुँदा त्यसबाट निस्केको ऊर्जा हिरोसिमा परमाणु बमबाट निस्केको भन्दा १० गुणा बढी थियो ।
अर्कातिर, अफ्रिकी प्लेट सोमालिया र नुबियानमा छुट्टिँदै गइरहेका छन् । यससँगै इथियोपिया, केन्या र तान्जानियासहितका देशको भूभाग पनि छुट्टिँदै जान थालेका छन् । यही क्रममा दक्षिण पश्चिम केन्याको भूभागमा अकस्मात ठूलो चिरा देखा पर्यो ।
अहिले धेरै मानिसमा अफ्रिका महादेश टुक्रिँदै छ भन्ने विषयप्रति चासो बढाइदिएको छ । यसको कारण हो— पूर्वी अफ्रिकामा ३ हजार किलोमिटर लामो रिफ्ट भ्याली बन्नु । वैज्ञानिकका अनुसार यो भ्याली बन्न थालेको ३ करोड वर्ष पुगिसक्यो । दुईवटा टेक्टोनिक प्लेट छुट्टिँदै जाँदा पृथ्वीको सतह धसिँदै गएर रिफ्ट भ्याली बन्छ । अफ्रिकामा बनिरहेको यस्तो भ्याली उत्तरमा एडेन खाडीदेखि दक्षिणमा जिम्बावेसम्म पुगेको छ, तर रोकिएको छैन ।
महादेश छुट्टिने यो प्रक्रिया बढ्दै गर्दा वैज्ञानिकहरूले भविष्यमा ज्वालामुखी पनि सक्रिय हुने अनुमान गरेका छन् । अफार क्षेत्रका रिफ्ट भ्यालीलाई ज्वालामुखी चट्टानले ढाकेका छन् । अधिकांश क्षेत्रमा थलमण्डल निकै पातलो भएको र टुक्रिने चरणमा पुगेको छ । यो क्रम पूरा भएसँगै नयाँ महासागर बन्न सुरु हुने अनुमान गरिएको छ । प्लेट टुक्रिँदा माग्मा तरलबाट ठोसमा परिणत हुन्छ । त्यसले पृथ्वीमा ठूलो खाडल निर्माण गर्छ र त्यहाँ पानी भरिएर महासागर बन्छ ।
मानवीय त्रुटि
इतिहासकार युभल नोह हरारीले भनेका छन्, ‘तीनवटा खतराले मानव जातिको अस्तित्व समाप्त पार्न सक्छन् । ती हुन्, आणविक युद्ध, पर्यावरणको विनाश र प्रविधिले निम्त्याउने विनाश । हामीले यिनै तीन मुद्दामा केन्द्रित भएर सोच्नुपर्छ ।’
यी तीन खतरा निम्त्याउनुमा मानव नै जिम्मेवार छन् । प्रविधि र विकासको तीव्रतासँगै मानिसले आफ्नु मात्र नभई पृथ्वीकै अस्तित्व संकटमा पारेको विश्लेषकहरू बताउँछन् ।
वनविनाश, औद्योगीकरण, बढ्दो सहरीकरणलगायतका विभिन्न विकास–निर्माणका कामले मानवीय जीवनमात्र नभई पृथ्वीकै अस्तित्व संकटमा परिरहेको छ । बढ्दो प्रदूषणले जलवायु परिवर्तन लगायतका समस्यामा बल पुर्याइरहेका छन् । यसले पृथ्वीको आयु छोट्याउन मद्दत पुर्याइरहेको छ ।