माउन्टेन प्रहरी नामक घोडचढी शाखा छ, ट्राफिक प्रहरीको । यसमा रहेका धेरै घोडा काम गर्न नसक्ने अवस्थामा छन् । ट्राफिक व्यवस्थापन, शान्तिपूर्वक जुलुस नियन्त्रण र घोडेजात्रामा घोडाको विशेष प्रयोगका लागि ट्राफिक प्रहरीले घोडचढी शाखा स्थापना गरेको थियो । शाखामार्फत नेपाली प्रहरीका घोडा ट्राफिक प्रहरीले परिचालन गर्दै आइरहेको छ । तर, शाखासँग यतिबेला ट्राफिक व्यवस्थापनका लागि आवश्यक घोडा नै छैनन् । भएका घोडा पनि काम गर्न सक्ने अवस्थामा छैनन् ।
११ घोडामध्ये ३ घोडामात्र डियुटी गर्न सक्ने अवस्थामा रहेको एक कर्मचारीले साप्ताहिकलाई जानकारी दिए । तीनमध्ये एउटा घोडामा सास तान्ने समस्या छ, औषधि खाइरहन्छ । बाँकी ८ घोडा अशक्त र रोगी छन् । तिनले दैनिक औषधि सेवन गरिरहेका छन् । उनीहरूको खाना, स्याहार–सुसार र हेरचाहमा मासिक लाखौं रकम खर्च भइरहेको छ । ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाल आफूहरूसँग अशक्त घोडा भएकाले ट्राफिक व्यवस्थापनमा प्रयोग गर्न नसकिएको बताउँछन् । भन्छन्, ‘हामीलाई घोडा नभई नहुने त होइन तर भइदिए राम्रो हुन्थ्यो भन्ने हो । घोडाको प्रयोगले ट्राफिक व्यवस्थापनमा पक्कै सकारात्मक प्रभाव पार्छ । अहिले अशक्त घोडा पाल्नुपरिरहेको छ ।’
घोडामा वार्षिक ३० लाख खर्च, कर्मचारी उस्तै
घोडाको रासनमा वार्षिक झन्डै २५ लाख रुपैयाँ खर्च हुन्छ । बग्गीखानाका अनुसार गत वर्षको साउनदेखि कात्तिक महिनासम्म एक घोडा बराबर दैनिक ५ सय ६५ रुपैयाँ खर्च हुँदै आएको थियो । यस वर्षको मंसिरदेखि असारसम्म त्यो बढेर ६ सय ३४ पुगेको छ । औषधि उपचार गर्नुपर्दा यो खर्च बढेर प्रतिघोडा हजार पनि पुग्ने गर्छ । औषधि उपचार र खानपानका लागि एक घोडालाई मासिक २५ हजारसम्म खर्च हुने गरेको छ । बग्गीखानाका उच्च कर्मचारीले दिएको जानकारीअनुसार घोडाका लागि वार्षिक ३० लाख रुपैयाँसम्म खर्च हुन्छ ।
घोडाको खानपानको व्यवस्थाका लागि ट्राफिक प्रहरीले टेन्डर खोल्छ । गत माघमा ११ घोडाको खानपानका लागि २३ लाख ८३ हजार ८ सय रुपैयाँको टेन्डर परेको छ । यो टेन्डर घोडाको रासनको मात्र हो । ८ बिरामी घोडाले नियमित रूपमा औषधि सेवन गर्छन् । बग्गीखानाका एक कर्मचारीका अनुसार घोडाले औषधि खानु भनेको मानिसले सुगरको औषधि खाएजस्तै हो । औषधि खाएर रोग निको हुँदैन । ‘निको नहुने तर, नियमित औषधि खानुपर्ने भएकाले पनि खर्च बढी हुने गरेको हो’ ती कर्मचारीले भने । घोडाको औषधि महँगो पनि हुन्छ । हरेक पटक जाँच गर्दा डाक्टरले ८–१० हजारको औषधि लेखिदिने गरेको बग्गीखाना स्रोत बताउँछ ।
एक घोडालाई दैनिक २ किलो चना, १ किलो जौं, १ किलो चोकर, १८ किलो पराल र केही मात्रामा सोतर र आलस आवश्यक पर्छ । त्यस्तै, मासिक रूपमा २ जोर टाप, किला ५० वटा, चुना ४ किलो र कोइला ७ किलो आवश्यक पर्छ ।
घोडचढी शाखामा घोडाको रेखदेख, परिचालन, व्यवस्थापन र तालिम सञ्चालनका २३ जना कर्मचारी छन् । २ असई, ३ हल्दार, १२ सिपाही र ६ सयस ९घोडाको रेखदेख गर्ने कर्मचारी० । सयसको १९ हजार ५ सय, जवानको २० हजार ७ सय, हबल्दारको २२ हजार र असईको २६ हजार ६ सय मासिक तलब रहेको छ । यसरी काम नदिने घोडाको हेरचाहमा देशको जनशक्ति परिचालन भइरहेको छ । घोडाको स्याहारमा खटिएका एक प्रहरी भन्छन्, ‘बिरामी घोडालाई कुरेर बस्नुभन्दा बरु हामीलाई ट्राफिक व्यवस्थापनमा खटाएकै बेस ।’ उनकाअनुसार घोडाको व्यवस्थापनमा खटिएका कर्मचारी बस्ने भौतिक संरचना पनि टिठलाग्दो छ ।
पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यात अहिलेको समयमा ट्राफिक व्यवस्थापनका लागि घोडा पाल्नु उति आवश्यक नरहेको बताउँछन् । उनी भन्छन्, ‘घोडाको खानपान र औषधिमा निकै खर्च हुन्छ । त्यो पैसाले प्रविधि भित्राएर ट्राफिक व्यवस्थापन गर्दा घोडाभन्दा बढी उपयोगी हुन्छ ।’
सेनाको उपहार घाँडो
नेपाली सेनाले २०७२ कात्तिकमा नेपाल प्रहरी मातहतको महानगरीय ट्राफिक महाशाखालाई १० वटा घोडा हस्तान्तरण गरेको थियो । जङ्गी अड्डामा विशेष समारोह आयोजना गरेर हस्तान्तरण गरिएका ती घोडा अहिले ट्राफिक महाशाखालाई घाँडो भएका छन् । सेनाले ट्राफिक व्यवस्थापनका लागि सबैभन्दा उपयुक्त भनेर दिएकामध्ये अहिले २ घोडामात्र स्वस्थ छन् । ३ घोडा मरिसेकका छन्, अन्य थला परेर बसिरहेका छन् ।
साप्ताहिक टोली घोडचढी शाखामा पुग्दा त्यहाँ रहेका घोडा हेर्दा हट्टाकट्टा नै देखिन्थे । तर, रोगी रहेको एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘हेर्दा रोगीजस्ता देखिँदैनन् । तर, कसैलाई नशाको रोग लागेको छ त कसैको खुट्टा सुन्निएको छ । सेनाले दिएकामध्ये २ वटा घोडामात्र काम गर्न सक्ने अवस्थामा छन् ।’
तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई घोडा हस्तान्तरण गरेका थिए । सबैभन्दा उपयुक्त भनिएका घोडा हस्तान्तरण गरेको ३ वर्ष नपुग्दै थला परे । अहिले ट्राफिक प्रहरीले काम गर्न नसक्ने घोडा पालेको छ । प्रहरी स्रोत भन्छ, सेनाले दिएकामध्ये धेरै घोडा बिरामी थिए, सेनासँग रहँदा धेरै जम्प गरेका कारण सबैको नशामा समस्या देखिएको छ ।’
केही घोडा सुतेपछि उठ्न नसक्ने अवस्थामा रहेको कर्मचारीहरू बताउँछन् । ‘राति सुतेपछि बिहान उठ्ने हुन् कि होइनन् भन्ने चिन्ताले पिरोल्छ । ३–४ जना मिलेर बल्लतल्ल उठाउनुपर्छ । नत्र उठ्नै सक्दैनन्’ एक कर्मचारीले दुस्खेसो पोखे । बग्गीखानाबाट घोडचढी शाखा सामाखुसी सरेको मंसिरमा एक वर्ष पुगेको छ । यो अवधिमा ३ घोडाको निधन भएको छ । २० वर्ष उमेर पुगेपछि यी घोडा मरेका हुन् । घोडाले २० वर्षसम्म मात्र काम गर्न सक्छन् । सरदर आयु भने २५ वर्षसम्म हुन्छ ।
सेनाले हस्तान्तरण गर्दा धेरैजसो घोडाको उमेर १७ वर्ष थियो । केही घोडा भने ५ वर्ष नाघेका थिए । ती घोडा अहिले ११–१२ वर्ष पुगेका छन् । त्यतिबेला ट्राफिक प्रहरीसँग ८ घोडा थिए । सेनाले १० घोडा दिएइपछि त्यो संख्या १८ पुग्यो । त्यतिबेला प्रहरीसँग रहेकामध्ये धेरै घोडा बिरामी थिए । पछिल्लो पाँच वर्षमा १८ मध्ये ७ घोडा मरिसकेका छन् । भएका घोडा पनि डियुटीमा गएपछि फर्किएर आउने हुन् या होइनन् कुनै ग्यारेन्टी छैन ।
१२ ट्राफिकको काम एक घोडाले गर्छ
घोडचढी शाखाको स्थापना २०३४ सालमा भएको हो । तत्कालीन राजपरिवारको बग्गीका लागि शाखाले घोडाको व्यवस्था गथ्र्यो । त्यतिबेला ती घोडाहरू बग्गीखानामा बस्थे । नेपाल प्रहरी मातहतका ती घोडापछि ट्राफिक प्रहरीले परिचालन गर्न थाल्यो । सुरुमा घोडे जात्रामा कुशलता प्रदर्शन गर्न र शिवरात्रीमा ट्राफिक व्यस्थापनका लागि ती घोडाहरू प्रयोगमा आए । विस्तारै जाम व्यवस्थापनका लागि पनि घोडाहरू परिचालन हुन थाले ।
ट्राफिक व्यवस्थापनका लागि १२ ट्राफिक प्रहरीले गर्ने काम एक घोडचढी प्रहरीले गर्न सक्ने घोडचढी शाखाका इन्जार्ज असई सोमबहादुर भुजेलले जानकारी दिए । घोडामा चढेर हेर्दा टाढासम्मको जाम र मानिसहरूको आवातजावत देखिने, जथाभावी बाटो काट्दा घोडचढीबाट यात्रुलाई सतर्क बनाउँदा प्रभावकारी हुने, सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको देखिने, घोडा चढेका प्रहरी देख्दा यात्रुमा पनि डर हुने आदि कारणले गर्दा घोडचढी प्रभावकारी हुने गरेको उनी बताउँछन् ।
कुनै समय घोडाले सुन्धारा, भोटाहिटी, कालिमाटी, कोटेश्वर, नयाँ बानेश्वरलगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि काम गर्थे । आवश्यकताअनुसार चोक, सार्वजनिक स्थल र सवारी साधनको धेरै चाप हुनेस्थानमा घोडाहरू परिचालन हुन्थे । घोडा चढेका ट्राफिकको प्रहरीको काम पनि प्रभावकारी देखिन्थ्यो । तर, काम गर्ने घोडाको अभावमा यतिबेला वीर अस्पताल अगाडिमात्र साँझपख एउटा घोडा देखिन्छ । बग्गी खानाबाट सारेर घोडालाई सामाखुसी पुर्याइएको छ । ४ बजेपछि ६ बजेसम्म डियुटी तोकिएका घोडा वीर अस्पताल आइपुग्न १ घन्टा लाग्छ । जान १ घन्टा ।
वीर अस्पताल र बसपार्क नजिकै छ । घोडचढी ट्राफिकले सो क्षेत्रमा बाटो काट्ने सर्वसाधारणलाई आकाशे पुलबाट बाटो काट्न सिकाउँछन् । घोडचढी शाखाका इन्चार्ज भुजेल आफूहरूसँग राम्रा घोडा भएमा ट्राफिक व्यवस्थापनका लागि विभिन्न चोक तथा भीडभाड हुने स्थानमा काम गर्न सक्ने बताउँछन् । भन्छन्, ‘साँझको २ घन्टा वीर अस्पताल छेउमा गएर हेर्ने हो भने जाम व्यवस्थापनमा घोडचढीको प्रभावकारिता देख्न सकिन्छ ।’
प्रहरीका घोडा घोडेजात्रा समारोहमा पनि सहभागी हुन्थे । तर, घोडाको अवस्थाका कारण पछिल्लो २ वर्षदेखि सहभागी भएका छैनन् । सेनाले सहभागिताका लागि पत्र पठाए पनि उपयुक्त घोडा नभएकाले आफूहरू जान नसकेको इन्चार्ज भुजेल बताउँछन् । अहिले सामाखुसीमा २० घोडा अट्ने विशेष कवल बनाइएको छ । ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाल स्वस्थ घोडा थप्न सकिए ट्राफिक व्यवस्थापनमा सहज हुने बताउँछन् । यसका लागि आफूले पहल गरिरहेको उनको भनाइ छ । तर, प्रवक्ता जीवनकुमार श्रेष्ठ भने प्रविधिको युगमा घोडा राख्नुभन्दा सीसी क्यामेरा जडान गर्नु उपयुक्त हुने धारणा राख्छन् । भन्छन्, ‘अहिलेको आधुनिक युगमा घोडा नभए पनि हुन्छ । यतिबेला हामीले घोडामा भन्दा प्रविधिमा जोड दिनुपर्छ । चारैतिर सीसी क्यामेरा जोड्नुपर्यो, ट्राफिक साइन, लाइट र जेब्राक्रसिङ र ओभरहेडहरू, पैदल यात्रुलाई सुरक्षित बाटो हुनुपर्यो, ट्राफिक नियमबारे सबै यात्रुलाई जानकारी दिने संयन्त्रको विकास गर्नुपर्यो । यति भयो भने ट्राफिक व्यवस्थापन चुस्त हुन्छ भन्ने मलाई लाग्छ ।’
ट्राफिक व्यवस्थापनमा सहज हुन्छ
भीमप्रसाद ढकाल /ट्राफिक प्रहरी प्रमुख
काम गर्न सक्ने घोडाहरू भइदिए ट्राफिक व्यवस्थापनमा सहज हुन्छ । घोडचढी प्रहरीले व्यवस्थापनको पक्षमा विगतमा राम्रो काम गरिरहेको हामी सबैलाई थाहै छ । अहिले पनि केही स्थानमा गरिरहेका छन् । जथाभावी सडक अतिक्रमण गर्ने, फुटपाथको जथाभावी प्रयोग गर्ने, सडक सुरक्षामा ध्यान नदिने, जथाभावी बाटो काट्ने र सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने गरेको खण्डमा घोडचढी प्रहरीको माध्यमले ट्राफिक व्यवस्थापन राम्रो ढंगले गर्न सकिन्छ । भीडभाड नियन्त्रण र जाम व्यवस्थापनमा पनि घोडचढी प्रहरीको भूमिका रहन्छ । हामीले प्रविधिलाई पनि जोड दिइरहेका छौँ तर, घोडामा चढेका प्रहरीको उपस्थितिको आफ्नै महत्व छ । अहिले हामीसँग रहेका घोडा अशक्त भएका कारण काम गर्न सकिरहेका छैनन् । घोडा थप गर्ने विषयमा हाम्रो पहल रहन्छ ।