केही वर्षअघि रोजगारीका लागि दुबई गएका विनोदप्रसाद तिमल्सिना अहिले पनि दैनिक काममा व्यस्त छन् । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहेका बेला सप्तरीका तिमल्सिना भने मनभरी त्रास बोकेर परदेशमा नियमित ड्यूटी गरिरहेका छन् । दिनभर काम गर्दा, काम गरेर डेरामा फर्कदाँ र डेरा बस्दासमेत उनलाई कोरोनाको त्रासले सताइरहन्छ ।
‘जतिबेला पनि कोरोना लाग्छ कि भनेर डर लाग्छ’, हरपल डरैडरमा दिन बिताइरहेका विनोद भन्छन्, ‘अहिले त आफू मरिन्छ कि भन्दा पनि परिवारका सदस्यलाई केही हुन्छ कि भनेर बढी पिर पर्न थालेको छ ।’
दिप मिलन, बिनोद तिमिल्सिना र रामकृष्ण कँडेल
शारीरिक रुपमा तन्दुरुस्त भए पनि मानसिक रुपमा निकै पीडा भइरहेको उनको अनुभव छ । उनलाई परिवारको सम्झना र चिन्ताले निदाउन दिँदैन । फुर्सद हुनेबित्तिकै घरमा फोन गरिहाल्छन् । सानी छोरीले फोनमा रुँदै घर आउँन भन्छिन् । छोरीको आवाजले उनी भक्कानिन्छन् ।किनकि, जति चाहे पनि उनी घर फर्कन सक्ने स्थिति छैन । उनी भन्छन् –‘आफ्नो माटो अनि समाजलाई असाध्यै सम्झिरहेको छु । बिपत्तिको बेला छट्पटिएर परदेशमा बस्नु पर्दा निकै गाह्रो हुँदो रहेछ ।’
रुपन्देहीका दीप मिलन पनि यतिबेला कतारमा काम गरिरहेकाछन् । समाचार सुन्दा अरु देश भन्दा कतार सुरक्षित जस्तो लाग्छ उनलाई । तर आफ्नो देशमा बढेको त्रासले उनलाई चैन हुँदैन । कतारमै पनि कोरोना नसल्कने कुनै ग्यारेण्टी छैन । दिनभर काम गरेर डेरामा फर्केसँगै घरमा फोन गर्छन् । उनी भन्छन्– ‘यहाँको अवस्थाले भन्दा पनि देशमा हुनसक्ने दुर्घटनाले मन अतालिँदो रहेछ । सरकारले गरेको लकडाउनमा नागरिकले अटेर गरेको देख्दा निकै दुःख लाग्छ ।’
हाल युएईको अलऐनमा बस्दै आएका काठमाडौं बालाजुका रामकृष्ण पाण्डे ‘अमन एकल’ ले यो समयमा केही सोच्न सकेका छैनन् । हप्तामा एकपटक परिवार सम्झने उनी यतिबेला दिनमै कयौं पटक सम्पर्क गर्छन् । उनी भन्छन्– ‘उहाँहरु नेपाल फर्कन जोड गर्नुहुन्छ । म नआत्तिन सुझाउँछु । आफ्नै मन बिचलित हुन्छ । तै पनि सम्झाउनु त पर्ने नै रहेछ ।’ उनी भन्छन्– ‘म यहीं रहँदा मेरो परिवार सम्भावित संक्रमणबाट जोगिने छ ।’ अहिले आफ्नो दैनिकी निकै प्रभावित भएको बताउँदै उनले भनेका छन्– ‘सामन्य जीवन बिताउने हामी सबैलाई असर परेकै छ । बजारमा सामानको मूल्य झन्डै दोब्बर भएको छ । पर्याप्त सामान भेटिँदैन । पहिलाझैं सहज हिँडडुल गर्न सकिन्न ।’
१२ वर्षदेखि कतारमा रोजगारी गर्दै आएका लमजुङका प्रभात भुजेललाई पनि परिवारको चिन्ताले सताइरहन्छ । कयौं रहरलाई थाती राखेर परिवारका लागि खुशी किन्न परदेशिएका प्रभातलाई विपतको घडीमा पनि परिवारसँग समय बिताउन नपाउँदा निकै दुःख लागेको छ । ‘सपना, भविष्य र कल्पनाभन्दा वर्तमान र परिवार निकै माथि हुने रहेछ’, प्रभात सुनाउँछन् ।
आफूलाई केही होला भन्दा पनि परिवारलाई केही होला कि भन्ने त्रासमा छन् उनी । ‘आफ्नो भन्दा आफ्नाको बढी माया भनेको यहीं त रहेछ’ भावुक हुँदै उनी भन्छन्, ‘कामको चापले कहिलेकाहीं चाहेर पनि परिवारसँग कुरा गर्न नपाउँदा मुटु भक्कानिन्छ ।’
प्रभात भुजेल र शारदा खवास
कतारमा रहेकी झापाकी शारदा खवास काममा नगएको एक साता बितिसक्यो । परिवारको सम्झनामा आँसु नझरेको दिन नै हुँदैन । उनी परिवार सम्झदै भन्छिन्– ‘घर परिवार सम्झिँदा एक छाक खाएर भए पनि परिवारसंगै हुन पाएको भए हुन्थ्यो जस्तो लाग्छ ।’नेपालमा ५ वर्ष पत्रकारिता गरेर विदेशिएकी उनलाई अचेल समाचारका प्रत्येक हेडलाइनले पीडा दिन्छ । १५ वर्षदेखि अबुधाबीमा श्रम गरिरहेका चितवनका राम पोखरेलको पीडा पनि उस्तै छ ।
युरोपमा रहेका नेपालीको स्थिति पनि दर्दनाक
दिपेन्द्र घिमिरे र सुदिप कोइराला
नेपालमा केही समय पत्रकारिता गरेका सुदीप कोइराला अहिले पोर्चुगलको लिस्बनमा बस्दै आएका छन् । पछिल्लो पटक फागुन १० गते उनले नेपाल छाड्ने बेला स्थिति सामान्य जस्तै थियो । जब उनी पोर्चुगल पुगे, स्थिति अर्कै भयो । युरोपियन देशमा लकडाउन सुरु भयो । त्रास बढ्यो । ‘खासगरी नेपाली समुदाय निकै प्रभावित भयो’, सुदीप भन्छन्, ‘यता धेरै नेपाली कामविहीन भएका छौं । स्थिति तनावपूर्ण छ ।’ उनका अनुसार गैरकानुनी रुपमा बसेका नेपालीलाई कोरोना संक्रमण भए पनि उपचार गर्न निकै कठिन छ । पोर्चुगलमा धेरै नेपाली गैरकानुनी रुपमा बस्दै आएका छन् ।
एनआरएनलगायत प्रवासी नेपालीका विभिन्न संगठनले सस्तो लोकप्रियताका लागि अनेक अभियान चलाए पनि प्रभावकारी नभएको उनको बुझाई छ ।
पोर्चुगलकै लिस्बनमा बस्दै आएका हरिकृष्ण रिमालको अहिले काम छैन । विश्वभरी फैलिएको कोरोनाको त्राससँगै उनको काम पनि बन्द भयो । उनी अहिले सामाजिक सञ्जालमा विश्वभरीका सूचना हेरिरहेछन् । कोरोनाका कारण संसारभरी मान्छेको मृत्यु र संक्रमणको खबर पढ्दा उनी आत्तिछन् । र रोकथामका लागि प्रार्थना गर्छन् ।
उनी भन्छन्– ‘जव दुःख हुन्छ तव परिवार र देशको सम्झना बढी आउँदो रहेछ ।’ उनलाई अहिले नेपाल फर्कन मन छ । तर सम्भव छैन ।
अध्ययनको सिलसिलामा अस्ट्रेलियाको क्यानबेरा पुगेका दीपेन्द्र घिमिरेको पीडा पनि उस्तै छ । ‘देश छोडेर परदेशमा बस्ने म जस्तै लाखौं ब्यक्ति’ हरेक पल तड्पिरहेको अनुभुति गरिरहेका छौं । परिवारसँग छुटेर बस्नुको पीडा आफ्नो ठाउँँमा थियो नै, अहिले कोरोनाको संक्रमणले झनै पिडा थपिदिएको छ’, दीपेन्द्र भन्छन्, ‘कुन समयमा आएर आइसोलेसनमा बस्नु पर्ने हो भन्ने त्रासबीच परिवारका कुनै सदस्यलाई संक्रमण भइदियो भन्ने के गर्ने भन्ने मानसिक तनवले झनै पिरोल्ने गरेको छ ।’
अष्ट्रेलियामा अहिले सम्म करिब ३ हजार ब्यक्तीहरुमा कोरोनाको संक्रमण देखिइसकेको छ । ‘अहिलेसम्म कोरोनाले महामारीको अवस्था त सिर्जना गरेको छैन, तर हामी सुरक्षित छौं भन्ने अवस्था पनि छैन ।’ उनले भने । अस्ट्रेलियन सरकारले पनि आफ्ना नागरिकलाई बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । यसबाट काम गरेर दैनिकी गुजार्नेलाई समस्या भएको दीपेन्द्रले बताए ।