नेपाली पप गायक भरत सिटौला अहिले संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा छन् । अमेरिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यतिबेला त्यहाँको स्थानीय सरकारले घरमा नै बस्नको लागि सूचना जारी गरेको छ । सोही कारण भरत घरमा नै बसिरहेका छन् । अमेरिकामा दिनप्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । सोही कारण आफूहरू सबैमा बेचैनीको अवस्था भइरहेको उनले बताए ।
कुराकानी गर्दाको समयसम्म उनी बसेको राज्यमा कुनै पनि नेपाली समुदायको व्यक्तिलाई संक्रमण नभएको उनले जनाए । उनी भन्छन्– ‘हामी बसेको राज्यमा कुनै पनि नेपाली समुदायको मानिसलाई संक्रमण भएको सूचना छैन, तर पनि एक खालको डरको भावना सबैतिर छ ।’
घरमा बस्दा धेरै भन्दा धेरै अध्ययन गरेर समय बिताउने गरेका छन् उनले । सामाजिक सञ्जाल धेरै चलाउँदा एक खालको नैराश्यता उत्पन्न हुने गरेकाले खासै नचलाउने उनले बताए । सामान्य सूचनाका लागि मात्रै उनी सञ्जालमा अपडेट हुन्छन् । विश्वव्यापी महामारी नेपालमा पनि देखिन थालेको उनले चिन्ता व्यक्त गरे । ‘त्यसैले खेलाची नगरौँ, घरमानै बसौँ’, उनको आग्रह छ ।