विन्डी सिउको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको हो । उनी पहिलोचोटी सन् २०१४ को अक्टुबरमा नेपाल आएकी थिइन् । नेपालमा भूकम्प गएपछि उनले सन् २०१५ बाट स्वयम्सेवा गर्न थालिन् । वर्षको दुईपटक नेपाल आउँछिन् ।
कोरोना संक्रमणको सन्त्रास फैलिनुअघि पनि उनी नेपालमै थिइन् । अमेरिकामा कोरोना संक्रमण दर बढ्दै थियो । त्यसैले परिवारको साथमा नै बसेर महामारीको सामना उनी भम्रण छोट्याएर अमेरिका गइन् ।
सिउ भन्छिन्– ‘म नेपालमा लाङटाङको याला पिक चढ्दै थिएँ । ४ हजार ५ सय मिटरमा पुग्दै गर्दा नेपालमा अन्तर्राष्ट्रिय हवाइ उडान बन्द हुँदैछन् भन्ने थाहा पाएँ । हुन त म आफ्नो जन्मठाउँ बस्नु भन्दा पनि घुमफिर गर्न रुचाउँछु । तर यस्तो अवस्थामा मलाई लाग्यो– यो समयमा परिवारकै साथमा हुनुपर्छ ।’ उनी हतार–हतार पहाडबाट तल झरिन् । र, अन्तिम उडानमार्फत आफ्नो देश फर्किइन् । उनी अहिले समुद्र किनारको क्वारेन्टाइनमा छिन् ।
‘मेरो स्वास्थ्य ठिक छ । अमेरिकामा पनि यतिबेला सहज छैन, कठिनाइ छ । यहाँ पनि लकडाउन छ । नियम पालना गर्नुपर्छ । म मेरो र परिवारको स्वास्थ्यप्रति चिन्तित छु । त्यसैले सचेत छु ।’, उनले भनिन् । यस्तो अवस्था आएकोमा उनलाई अनौठो लागरिहेको छ । उनी बसेको ठाउँ शान्त छ । बस्न सहज छ । तर कसैलाई थाहा छैन, को संक्रमित छ, को छैन, उनलाई लाग्छ, अमेरिका र नेपाल दुवै देशमा थाहा भएभन्दा बढीमा संक्रमण भएको हुनसक्छ । त्यसैले उनी यसलाई गम्भिरतासाथ लिन सुझाउँछिन् । भन्छिन्, ‘आफ्नो रक्षा गर्नुहोस् । तपाई आफ्नै हेरचाह गरेर विश्वलाई सहायता गर्ने समय हो यो । यहाँ अझै पनि धेरैले निरन्तर काम गर्ने र पैसा कमाउने कुरामा जोड दिइरहेका छौँ । यो पैसा कमाउने र काम गर्ने समय हैन । यो बेला त परिवारका लागि समय दिनुपर्छ ।’
३३ वर्षकी विन्डी सिउ अमेरिकाको बिल्डिङ एजुकेशन संस्थाको संस्थापक प्रमुख समेत हुन् । पछिल्लो समयमा नेपालमा महिला सशक्तिकरण र बालबालिकाको क्षेत्रमा उनले काम गरिरहेकी छिन् । उनलाई ट्रेकिङ जान औधी मनपर्छ । ८ वर्षको उमेरमा आमा गुमाएकी उनले आमाकै प्रेरणा र सम्झनाबाट स्वयम्सेवक बनी काम गर्न थालेकी हुन् ।
उनलाई नेपाल र अमेरिकामा केही समानता लाग्छ, भने केही भिन्नता । , उनी आफ्नो अनुभव बताउँछिन्, ‘सबैभन्दा ठुलो भिन्नता भनेको मेरो गृहनगर अमेरिकाको स्यान फ्रान्सिस्कोमा सबै कुरा छिटो छ । नेपालमा केही ढिलो छ तर रमाइलो । सिक्नको लागि अधिक कुरा नेपालमा छन् ।’ उनले नेपालसँगै भारत, मेक्सिको, स्पेन, थाइल्याण्ड, लाओस, म्यानमार, मलेसिया, मोरक्को, जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, स्विडेन, टर्की, चीन, तान्जानिया, क्यानडा, पोर्चुगलसहितका देश घुमेकी छन् । उनलाई नेपाली खानेकुरा दाल, भात र रोटी मनपर्छ ।
उनलाई अन्नपुर्ण सक्रिटमा यात्रा गर्दा रमाइलो लाग्ने गरेको बताउँछिन् । ‘मनाङ, मुक्तिनाथ, घोरेपानी, पुनहिल आदि ठाउँ उनलाई मन परेको छ ।