वैशाख ६ गते वरुथिनी एकादशी व्रत: । ११ गते आमाको मुख हेर्ने दिन ।
मेष : आत्माबल बढे तापनि समयले साथ नदिँदा पछि परिनेछ । मेहनतले सफलता दिलाउन सक्छ । स्वास्थ्यप्रति हेक्का राख्नुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । यो साता लामो तथा छोटो दूरीका यात्रा नगर्दा नै आफू सुरक्षित भइनेछ ।
वृष : साथीहरूसँग मनोरञ्जन तथा रसास्वाद गर्न केही समय कुर्नुपर्नेछ । सेतो रंगको प्रयोग गर्न सक्दा मानसिक तनाव कम हुनेछ । धार्मिक तथा अध्यात्मतर्फ मन ढल्किनेछ । समस्याको गाँठो बुधबारदेखि क्रमश: फुक्दै जाँदा प्रफुल्लित भइनेछ ।
मिथुन : सञ्चार माध्यमको अनुशरण गरी नयाँ योजना बनाइनेछ । योजनाहरू आंशिक रूपमा कार्यान्वयन हुनेछ । मनको उत्साह भयमा परिणत हुन सक्नेछ । मानसिक दुर्बलता देखा पर्न सक्छ । योग ध्यान तथा शारीरिक व्यायाम गर्न सके फाइदा पुग्नेछ ।
कर्कट : सामाजिक तथा परोपकारी क्षेत्रमा धन खर्च गरिनेछ । आफूले चालेका महत्वपूर्ण कार्यहरू ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ । रातो रंगको प्रयोगले निराशा उत्साहमा परिणत हुनेछ । साताको अन्त्यमा अन्नदान गर्न सके तनावबाट पूर्ण मुक्त भइनेछ ।
सिंह : साथीभाइ तथा आफन्तबीच सामाजिक दूरी कायम गर्न सक्दा सबैको कल्याण हुनेछ । सामाजिक सञ्जाल तथा श्रव्यदृश्यका सामग्रीबाट प्रशस्त मनोरञ्जन लिइनेछ । समाजमा अफवाह फैलाउनेप्रति सजग रहनुहोला । साताको अन्त्यमा खानपान तथा स्वास्थ्यप्रति सजगता अपनाउनुहोला ।
कन्या : रोकिएका कार्य सम्पन्न नहुँदा थप आर्थिक संकटको भार बेहोर्नु पर्नेछ । प्रशंसा गर्नेहरूले आलोचना गर्न सक्छन, कम बोल्दा आफू सुरक्षित भइनेछ । सामाजिक सञ्जालमार्फत प्रेम प्रस्ताव आउन सक्छ, हेक्का राखी निर्णय गर्नुहोला ।
तुला : अर्कालाई भलाइ हुने कार्य गरेर धेरैको मन जित्न सकिनेछ । प्रतिष्ठा जोगाउन अरूका लागि समय धन तथा बुद्धि खर्चनु पर्नेछ । हितैषीसँग सुझाव संकलन गरी अघि बढे आफू सुरक्षित भइनेछ । बाहिरी वातावरणमा घुलमिल नहुँदा नै आफ्नो कल्याण हुनेछ ।
वृश्चिक : सोच विचार नगरी अरूलाई बचन दिँदा प्रतिकूल परिस्थिति आइलाग्न सक्छ । परिस्थितिको हेक्का राखी अवसरलाई चुनैतीका रूपमा शिरोधार्य गरी प्राप्त मौका नगुमाउनुहोला । अध्ययनको दायरा बढाउन सके फाइदा पुग्नेछ । पारिवारिक सल्लाहबीच तय भएको मांगलिक कार्यको तिथि मिति धकेलिनेछ ।
धनु : शारीरिक व्यायाम तथा ध्यान गर्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अरूको मन जित्नाले सजिलै सहयोग जुट्नेछ । अध्ययन अध्यापनमा ध्यान केन्द्रित हुनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । अध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ ।
मकर : भित्रभित्रै भविष्यको चिन्ताले सताउन सक्छ । घरायसी व्यवहारको काम गर्दा विशेष होस पुर्याउनु पर्नेछ । सामाजिक उत्सव तथा भेटघाटमा सरिक नहुँदा नै आफ्नो कल्याण हुनेछ । विश्वास पात्रलाई वचन दिँदा संयम अपनाउनु होला । समय अनुरूप स्वास्थ्यको विशेष ख्याल गनुपर्नेछ ।
कुम्भ : यो साता इष्टमित्रबाट टाढै रहँदा लाभ हुने देखिन्छ । आर्थिक सन्तुलन गडबड हुँदा प्रसंशा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन, बोलीको मधुरताले बिग्रन लागेका सम्बन्धलाई मलम लगाउन सहयोग गर्नेछ । खानपानको फेरबदल भै शारीरिक दुर्वलता देखा पर्न सक्छ ।
मीन : प्रतिकूल अवस्थामा पूर्वयोजना कार्यान्वयन नगर्दा नै उपयुक्त हुनेछ । आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना छ, कारोबार गर्दा सावधानी अपनाउनुहोला । धर्म तथा परोपकारी कार्यमा रुचि बढाउँदा आफू उचाइमा पुगिनेछ । बाहिरी यात्रामा सचेतता अपनाउनु होला ।