क्रियापुत्री भवन लगनखेलमा लकडाउनका बेला पनि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म २० जना जतिको जमघट देखिन्छ । उनीहरू ठूला–ठूला भाडामा भात, तरकारी, अचार आदि बनाउनमा व्यस्त हुन्छन् । लकडाउनका कारण भोकै पर्नेहरूका लागि खाना बनाउन खटिनेहरू लगनखेल समाजका स्वयंसेवकहरू हुन् । उनीहरूले चैत २३ गतेदेखि लगनखेल, सातदोबाटो, महालक्ष्मीस्थान, बंगलामुखी वरपरका घरबारविहीन, मागेर गुजारा चलाउनेहरूलाई दिउँसो २ बजेतिर दिनको एकपटक खाना खुवाइरहेका छन् ।
२१ जनाबाट खाना खुवाउन सुरु गरेको यस संस्थाले अहिले दैनिक १ सय जनाभन्दा बढीलाई खाना खुवाइरहेको छ । खानामा हरेक दिन नयाँ–नयाँ परिकारका साथै सातामा २–३ पटक मासुसमेत पाक्ने गरेको छ । त्यसका लागि समाजका सदस्यहरूले नगद तथा खाद्यान्न सहयोग गरिरहेका छन् ।
उनीहरूल डेरा भएका तर खानलाई रासन नै नभएकालाई पनि सहयोग गर्दै आइरहेका छन् । संकटको समयमा यस्तो अभियान देशैभर चलाउन आवश्यक रहेको धारणा उनीहरूको छ ।