पदयात्रा पर्यटनमा मार्च र अप्रिललाई दोस्रो मुख्य सिजन मानिन्छ । वनमा फुलेका लालीगुराँससहितका फूलहरू । अनि सेतै टल्कने हिमाल । यही प्राकृतिक सुन्दरता नजिकबाट नियाल्न यो मौसममा विदेशी पर्यटक नेपालमा आउने गर्छन् । तर, विश्वभरि फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रसँगसँगै पदयात्राका भरिया र गाइडहरू पनि समस्यामा परिरहेका छन् ।
प्रकृति त अहिले पनि उस्तै छ । तर, पोखरा र यस आसपासको क्षेत्र सबैतिर सुनसान छ । आवात–जावत ठप्प छ । संक्रमण फैलने डरले अन्तर्राष्ट्रिय र राष्ट्रिय उडानहरू पनि बन्द छन् । पदयात्रा गर्ने रुटहरू पनि सुनसान छन् । यसले गर्दा दैनिक काम गरेर जीवन धान्ने भरिया र ज्यामीहरू कामविहीन भएका छन् । पर्यटन क्षेत्रमा दैनिक ज्यालामा काम गर्ने ट्रेकिङ गाइड र सहयोगी कर्मचारीहरूको अवस्था पनि उस्तै छ । सिजनमा काम गर्ने र त्यही आम्दानीले अफसिजनमा समेत गुजारा चलाउने उनीहरूको बाध्यता थियो । तर, सिजनमा पनि काम गर्न नपाउँदा दैनिक ज्यालादारीहरूलाई समस्या भएको हो ।
नेपालको पदयात्रा पर्यटनमा आउने मुख्य देशमध्ये चीन पनि एउटा हो । चीनमा गत डिसेम्बरमा कोरोना भाइरस देखिएपछि चिनियाँ पर्यटकको आवागमन रोकियो । विस्तारै अन्य देशबाट पनि पर्यटक आउन छोडे । बुकिङ क्यान्सिल भए । युनिट्राभ पोखराका अध्यक्ष विजय केसी पदयात्रामा पर्यटक नआउँदा पर्यटनको क्षेत्रमा काम गर्नेहरूलाई निकै समस्या परेको बताउँछन् । ‘मंसिरपछि काम गरेका छैनन्, पुस–माघ अफसिजन हो, त्यसपछि कोरोनाको कारण ठप्प भयो,’ उनले भने । पोखरामा ट्रेकिङ गाइड र सहयोगी गरेर १ हजार ५ सय जना रहेको उनले जनाए । यो बाहेक सिजनमा मात्र काम गर्ने अझै धेरै रहेको उनी बताउँछन् ।
‘नेपालमा ८०/९० हजारको हारहारीमा यसरी कार्यरत जनशक्ति छन्, दैनिक कमाउने पेसा हो यो,’ उनीहरूलाई राज्यले सहयोग गर्नुपर्ने उनको माग छ । भन्छन्, ‘यो संक्रमण रोकिए पनि नेपालमा पदयात्रामा जाने पर्यटक आउन कम्तीमा ६/७ महिना लाग्छ । राज्यले सहयोग नगरे समस्या पर्छ ।’ यस क्षेत्रमा काम गर्ने ९० प्रतिशत अनौपचारिक श्रमिक भएकाले व्यवसायीहरूले सम्बोधन नगर्ने हुँदा राज्यले नै सम्बोधन गर्नुपर्नेमा उनको जोड छ ।
लकडाउनको घोषणासँगै विभिन्न ठाउँमा रोकिएका पर्यटकलाई उद्धार गरिएको उनले जनाए । ‘ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल टान, नेपाल पर्यटन बोर्ड र स्थानीय गाउँपालिकाको पहलमा मुस्ताङको जोमसोम, कास्कीको घान्द्रुक, सगरमाथा क्षेत्रको लुक्ला, म्याग्दीको बेनी, मनास्लु क्षेत्रको बाटोमा रोकिएकालाई उद्धार गरेर ल्याइएको हो,’ उनले थपे । ट्रेकिङका लागि चारवटा सिजन हुन्छ । सेप्टेम्बर र अक्टुबर पदयात्रा पर्यटनको मुख्य सिजन हो । यो समयमा पदयात्रामा जाने पर्यटकको संख्या बढी हुन्छ । जुन र जुलाई सुक्खा एरियामा जान रुचाउने पर्यटक आउँछन् । यो पर्यटनको लो सिजन हो । यस्तै जाडो छल्न डिसेम्बर जनवरीमा पर्यटक आउँछन् । मार्च र अप्रिल महिना फुल र हिउँ हेर्न खोज्नेहरू आउँछन् । तर, यसपालि मंसिरदेखि नै नेपाल घुम्न आउने पर्यटकको संख्यामा गिरावट आयो । यसले दैनिक ज्यालामा काम गर्ने ट्रेकिङ गाइड र पोर्टरलाई कसरी खर्चको व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ ।
ट्रेकिङ गाइड रन्जित जिसी खाने–लाउने समस्या नै आउने भन्दै चिन्तित छन् । ‘अब एक वर्ष यस्तै हुन्छ, दैनिक जीवन चलाउन समस्या पर्ने भयो,’ उनले भने । ‘मैले ट्रेकिङ क्षेत्रमा काम गर्न थालेको १० वर्ष हुन लाग्यो । भूकम्प आएर यो व्यवसायमा मन्दी आएको बेला चाइना पढ्न गएँ । एक सेमेस्टर पढेँ । चाइनिज भाषा सिकेँ । मैले चाइनिजका लागि गाइडको काम पनि गर्छु, तर कोरोना भाइरसका कारण अब समस्या हुने भयो,’ उनले भने ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले हालको अवस्थाले दैनिक ज्यालामा काम गर्ने ट्रेकिङ गाइड र पोर्टरलाई समस्या परेको बताउँछन् । ‘सिजनमा काम गरेर अफसिजनका लागि जोहो गर्ने उनीहरूको योजना हुन्थ्यो, गाइड र पोर्टर मासिक ज्यालामा भन्दा पनि दैनिक ज्यालामा काम गर्ने हुन्छन्, जान पायो भने जाने, नत्र त्यतिकै बस्ने, हो उनीहरूलाई समस्या परेको छ,’ भुजेलले भने । उनीहरूलाई दैनिक गुजारा चलाउन समस्या भएकाले आफ्नो कार्यसमितिमा यो बारेमा छलफल गरेको उनले बताए । उनी भन्छन्, ‘प्रदेश सरकार र महानगरले गर्ने भनेकाले हामीले कुरेका छौँ, उनीहरूको डाटा संकलन गर्ने काम भइरहेको छ, उनीहरूलाई सचेत पनि गराइरहेका छौँ ।’
रासन पानी, कोठाभाडा, अफसिजनको ऋण तिर्न ज्यामीहरूलाई सकस परेको छ । उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका अध्यक्ष भुजेलले बताए । यही पेसामार्फत जीविकोपार्जन गर्नेहरूलाई मर्का परेको विगत १३ वर्षदेखि यो पेसामा आबद्ध ट्रेकिङ गाइड विपिनराज सापकोटाले बताए । ‘अरू क्षेत्रमा काम गर्ने छिट्टै काममा फर्कन सक्ने भएपनि पदयात्रा पर्यटनमा काम गर्नेहरू काममा तुरुन्त फर्कन सक्दैनन्, कारण उनीहरूले काम पाउनका लागि विदेशबाट नेपाल घुम्न पर्यटक आउनुपर्छ, जसका लागि निकै समय लाग्न सक्छ,’ उनले भने । धेरैजसो पोर्टर बनेर अनुभव संगालेपछि गाइड बन्न खोज्छन् । गाइड बन्नका लागि निश्चित तालिम गर्नुपर्छ । तालिमपश्चात् लाइसेन्स लिएर बल्ल गाइड बन्न पाइन्छ ।
विगत १७ वर्षदेखि ट्रेकिङ गाइड पेसामा आबद्ध दिपेशबाबु सुवेदी पनि पर्यटन क्षेत्रमा लामो समयसम्म असर पर्ने भन्दै चिन्तित छन् । ‘यो पेसाबाट खान लाउन पुगेको थियो । नेपाल पर्यटन व्यवसाय राम्रो भयो भने गाइड पेसा नराम्रो होइन । यो पेसा सिजनेवल हुन्छ । मैले पोर्टर तीन वर्ष जति गरे । त्यसपछि निरन्तर गाइड गरेँ । अब के गर्ने भन्ने चिन्ता लागेको छ,’ उनले भने । कोरोनाको कारण सुनसान अन्नपूर्ण सर्किट, तिलिचो ताल, एभरेस्ट, लाङटाङ, मनास्लु, डोल्पा, पुन हिल, मर्दी हिमाल, अपरमुस्ताङ सबैतिर उस्तै अवस्था छ । पदयात्राका आकर्षक क्षेत्र मानिने यी सबै ट्रेकिङ रुट पुरानै अवस्थामा फर्किने कहिले हो भनेर गाइड र भरियाहरूले प्रतीक्षा गरिहरेका छन् ।