देश एवं प्रदेशहरुमा अहिले सम्मको कोभिड–१९ संक्रमणको अवस्था अध्ययन गर्दा स्थिति नियन्त्रणमा देखिएको विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार परीक्षणको क्रममा फेला परेका संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य छ भने समुदायमा पनि आँतिनु वा डराउनु पर्ने खाले कुनै संकेत देखिएका छैनन् ।
उपचारकालागि अस्पतालको बहिरंग एवं आकस्मिक कक्षमा आइरहेका बिरामीको स्वास्थ्य अवस्थाले गाउँसमुदाय स्तरमा भयावह अवस्था नरहेको देखिएको विज्ञहरुले बताएका छन् । रोग प्रतिरोधात्मक क्षमता र सन्तुलित खानपिन यसको मुख्य कारण भएको उनीहरुको विश्लेषण छ ।
कोसीको कोभिड अस्पतालमा उपचार भइरहेका ३१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश १ स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश प्रसाद मेहताले बताए । डा.मेहताका अनुसार देशभरीका ५७ संक्रमितमध्ये ९७ प्रतिशतमा कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘तीन प्रतिशतमा पनि सामान्य लक्षण हल्का ज्वरो, हाँछयु, खोकी र जीउ दुख्ने सम्म देखिएको छ,’ उनले भने, ‘रोग प्रतिरोधक क्षमताले गर्दा यो चमत्कार देखिएको हो ।’
शंका लागेका ब्यक्तिलाई १४ दिनसम्म अस्पतालमा राखेर पुन: परीक्षण गर्दा नेगेटिभ आएमा मात्र घर पठाउने गरिएको डा.मेहताले बताए । प्रदेश १ मा रहेका अस्पतालमा नियमित स्वास्थ्य जाँचकालागि आइरहेका बिरामीमध्ये शंका लागर, अतिरिक्त परीक्षण गर्दा पनि कोरोनाको संक्रमण नदेखिएको डा.मेहताले प्रष्टयाए ।
‘अस्पतालमा आएका ज्वरो, कडा रुघा र टाउको दुखेका बिरामीमा समेत संक्रमण देखिएन, ’उनले भने । अहिलेसम्म महानगर, नगर र गाउँको कुनै पनि बस्तीमा समुदायकै ठूलो संख्या बिरामी भएको, निको नभएको वा मृत्यु भएको घट्नाहरु सार्वजनिक नभएको डा.मेहताले बताए । ‘यि स्वास्थ्य सूचकहरुले संक्रमण नियन्त्रित अवस्थामा रहेको जनाउ दिन्छ,’उनले भने ।
डा.मेहताको अनुसार संक्रमित बढिरहेको गलत बुझाइले पनि जनमानसमा त्रास उत्पन्न भइरहेको छ । ‘परीक्षण गर्दा यति संक्रमित देखिए भन्नु पर्छ, नबुझि बढिरहेको भनिदिंदा समुदायमा आतंकको माहोल सृजना हुन्छ, ’उनले भने, ‘संक्रमितहरु पत्तालाग्नु भनेको रोकथामकालागि मार्ग खुल्नु हो भनेर बुझनु पर्छ, पत्ता नलाग्दा पो डराउनु पर्छ त, अहिले हामी परीक्षण र उपचारको सही मार्गमा कुदिरहेका छौं ।’
अहिलेसम्म नियमित जाँचकालागि आएका बिरामीमध्ये शंकास्पदको परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण देखिएन,’अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले भने । लकडाउन पछि कोसी अस्पतालमा दिनहुँ औसत ३ सय सेवाग्राही आइरहेको उनले बताए ।
सामान्य दिनमा यो अस्पतालमा दिनहुँ औसत एक हजार बिरामी आउँछन् । लकडाउनको सुरुवातमा प्रहरी प्रशासनले हिडडुलमा कडाइ गर्दा बिरामीको संख्या दिनहुँ औसत ६५ सम्ममा झरेको अस्पतालले जनाएको छ । प्रदेश १ मा फेला पर्ने संक्रमितको यही अस्पतालमा उपचार हुन्छ भन्ने गलत सूचनाको कारणले पनि सेवाग्राही घटेको बुढाथोकीले बताए । अहिले स्थानीयले यो अस्पतालबाट टाढा नेशनल ट्ेरडिंगको भवनको छुट्टै भवनमा निर्मित अस्पतालका कोभिड–१९ का संक्रमितको उपचार भइरहेको जानकारी पाइसके पछि सेवाग्राहीमा डर कम भएको छ ।
अचेल आइरहेका सेवाग्राहीमा गंभीर प्रकृतिका एउटै बिरामी नरहेको अस्पतालको सामाजिक कार्यकर्ता बन्धु पहाडीले बताए । ‘प्रदेशको विभिन्न ठाउँमा यति ठूलो संख्यामा संक्रमित फेला परेपछि डरलाग्दो अवस्था होला भन्ने लागेको थियो,’ उनले भने, ‘त्यस्तो बिल्कुल छैन, लकडाउनको पालन, खानपीन र स्वास्थ्यको ख्याल यसको कारण हुनसक्छ ।’
कोरोना अस्पतालको व्यवस्थापनदेखि सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्दै आएका उक्त अस्पतालका विज्ञ डा.सर्वेशकुमार झाले स्थिति सोचेभन्दा धेरै राम्रो भएको बताए । उनले संक्रमण लड्नमा नेपालीको भान्छाले पनि अप्रत्यक्ष भूमिका खेलिरहेको बताए । शरीरलाई मौसम र समय अनुरुप चाहिने आवश्यक तत्वहरु नेपालीको भान्छामा पाईन्छ । डा.झाले नेपालीको भान्छा एउटा सानो अस्पताल नै हो भने ।
‘एक त खुला सिमाना, त्यसमा पनि लकडाउन अघिसम्म निरन्तर आउजाउ हुने सीमावर्ती सहर, अहिले फेला परिरहेको भन्दा धेरै ठूलो संख्यामा संक्रमित अनुमान गरेका थियौं, ’उनले भने, ‘कल्पना गरेभन्दा धेरै मजबूत अवस्थामा छौं, बहिरंगमै नियमित आइरहेका रुघाखोकी र ज्वरोका बिरामीमा उपचार पछि निको नहुने त कोही छैनन् ।’
डा.झाले भारतको तुलनामा नेपालमा चाँडो स्थिति सहज हुने विश्वास प्रकट गरेका छन् । भारत सरकारले मेसम्ममा स्थिति नियन्त्रणमा आउने आकलन गरेको छ । ‘संक्रमितको उपचार र संभावित संक्रमितको खोजीमा पुरा ध्यान केन्द्रित गरेका छौं,’ उनले भने,‘बहिरंग र आकस्मिकमा आउने शंकास्पद बिरामीको स्क्रिनिंग भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विज्ञ डा.रोशन पोखरेललेले अहिले सम्मको परीक्षणमा देखिएका संक्रमितको यो संख्या नीकै कम भएको बताए । ‘अन्य मुलुकमा पनि संक्रमितको संख्या सय नाँघे पछि मात्र वास्तविक स्थिति थाहा भएको छ,’ उनले भने,‘यस पछि मात्र संक्रमणको विस्तार बारे, आइसियू वा अस्पताल कति चाहिने भन्ने लेखाजोखा हुन्छ ।’
डा.पोखरेलका अनुसार छिमेकी भारतको स्थिति हेर्दा यहाँ गरिएको सीमावन्दी र लकडाउनले ठूलो भूमिका खेलेको छ । ‘यति नगरेको भए यहाँ पनि भारतमा जस्तै मानवीय हताहती सुरु भइसक्थ्यो,’ डा.पोखरेलले भने, ‘अब यो थप १० दिनको लकडाउन पछि जनजीवनलाई सहज बनाउन जिल्लाजिल्लाको अवस्था हेरी निर्णय लिनुपर्छ ।’
यो अवधिमा देशभरीको संक्रमणको अवस्था र पकेट क्षेत्र प्रष्टिने उनले बताए । अन्तिम चरणको परीक्षण सम्ममा सबैखाले गरी ५ सयदेखि २ हजारसम्म संक्रमित पुग्न सक्ने उनले संभावना प्रकट गरे । यसमा २ सयदेखि ५ सय गंभीर प्रकृतिको हुनसक्ने डा.पोखरेलले अनुमान गरे । ‘तर, यो हाम्रो अडकल हो, त्यहि भएर डराउनु पर्दैन,’ उनले भने, ‘आउँदा धेरै समय सामाजिक दुरी र स्वास्थ्यको ख्याल गरी काम गर्नुपर्छ, पहिला जस्तो वाहय मनोरञ्जनमा कम ध्यान दिनुपर्यो, होटेल र रेष्टुरेन्ट जीवनको त्याग गर्नुपर्छ ।’
‘अन्य मुलुक जस्तै बेलाबेलामा हाम्रोमा पनि परीक्षण सामग्रीको अभाव भइरहेको छ, आउने क्रम पनि जारी छ,’ उनले भने, ‘तर, अहिलेसम्म जति परीक्षण भएको छ, ति भरपर्दा छन्, संभव भएसम्म ट्रेसिंग र टेस्टिंगमा चुकेका छैनौं भन्ने बुझन् जरुरी छ ।’